बिरामी नआउने अस्पतालको वार्षिक खर्च ६ करोड
विराटनगर: सन् १९९५ मा स्थापना भएको पूर्वाञ्चल विश्व विद्यालय (पीयू) सञ्चालनका लागि वार्षिक ३ करोड रुपैयाँ खर्च हुन्छ । प्रशासनिक कामदेखि कर्मचारीको तलबसमेत सरकारले दिने यही बजेटबाट पुर्याइन्छ । तर पीयूलेनै सञ्चालन गरेको एउटा अस्पताल चलाउन भने विश्व विद्यालयको बजेटभन्दा दोब्बर बढी पैसा खर्च हुन्छ । उसले चलाएको अस्पतालमा धेरै सुविधा छन् । चिकित्सक पनि भेटिन्छन् तर उपचार गर्न जाने बिरामी भने भेटिँदैनन् । बिरामी नआए पनि अस्पताल भने सञ्चालन भई रहेको छ ।
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल कलेज सञ्चालन गर्न निर्माण भएकै संरचनामा अस्पताल चलाउन पीयूले बर्सेनि ६ करोड रुपैयाँ खर्च गर्नुपर्छ । यो अस्पतालमा न बिरामी आउँछन् नत चहल पहल नै छ । तैै पनि विगत दस वर्षदेखि विश्व विद्यालयले चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई समेत तलबलगायत शीर्षकमा करोडौं रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ । आठ सय बिघा क्षेत्रफलमा रहेको पीयूको केन्द्रीय भौतिक संरचना रहेकै क्षेत्रमा अन्य विषयको भने पठनपाठन हुन्छ ।
विश्व विद्यालयका भीसी डा. घनश्यामलाल दासले भने, ‘अस्पतालका लागि चाहिने सबै संरचना छ, चिकित्सक छन् र स्वास्थ्यकर्मी पनि छन् । तर बिरामी आउँदैनन् । सबैलाई तलब खुवाउनु परेको छ । खर्च भइरहेकै छ ।' दासका अनुसार अस्पताल सञ्चालन गर्न मात्र वार्षिक ६ करोड रुपैयाँ खर्च हुन्छ । उनले विश्व विद्यालयले मेडिकलतर्फको एमबीबीएस कक्षा सञ्चालन गर्न नपाए पनि अस्तपाल भने बन्द गर्न नसकेर चलाउनुपर्ने बाध्यता रहेको सुनाए ।
विश्व विद्यालयले हालै मात्र विशेषज्ञसहित नौजना चिकित्सकलाई जागिर दिएको छ । तीमध्ये तीनजनाले राजीनामा दिएका छन् । अहिले विशेषज्ञसहित आठजना चिकित्सक, डेन्टल चिकित्सक र एमबीबीएससमेत अस्पतालमा खटिएका छन् । व्यवस्थापकीय र अन्य कामका लागि पनि कर्मचारी परिचालन गरिएको छ ।
विश्व विद्यालयले दस वर्षअघि एमबीबीएस कक्षा सञ्चालन गर्न प्रवेश परीक्षासमेत लिएको थियो । तर कक्षा चलाउने थप प्रक्रिया अघि नबढेपछि हालसम्म पनि कक्षा सञ्चालन हुन सकेको छैन । एक करोड रुपैयाँभन्दा बढीको सामग्री खरिद भएको तर त्यसको ‘स्टोर इन्ट्री' नदेखिएपछि अख्तियारले हस्तक्षेप गरेको थियो । मुद्दा विशेष अदालतमा चलिरहेकोले थप प्रक्रिया अघि बढ्न नसकेको भीसी दासले जानकारी दिए ।
गोठगाउँवासीले पनि मेडिकल कलेज सञ्चालन गरी स्वास्थ्य सेवा बिस्तार गर्न माग गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भम्रणका बेला पनि स्थानीयवासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । भीसी दासले भने,‘गोठगाउँमा सम्भव नभए कोसी अञ्चल अस्पताललाई टिचिङ हस्पिटलको रूपमा विकास गर्नसमेत सुझाव दिनु भएको थियो, हाम्रो र कोसीको क्षेत्राधिकारबारे तथा सम्भाव्यता अध्ययनको काम सुरु गरेका छौं ।'
पीयू शान्त हुँदा बजेट आयो
भीसी नियुक्ति, कर्मचारीको सरुवा, प्राध्यापकको चुनवा आदि विषयमा विवाद भएर सँधैजसो तालाबन्दी भई रहने पीयू एघार महिनादेखि शान्त छ । नयाँ भीसीको रूपमा दासले पदभार ग्रहण गरेपछि विश्व विद्यालयमा तालाबन्दी भएको छैन । यो अवधिमा विगतमा रोकिएको बजेटसमेत विश्व विद्यालयले प्राप्त गरेको छ ।
विश्व विद्यालय अनुदान आयोगबाट प्राप्त हुने बजेट यो वर्ष पीयूले पुनः प्राप्त गर्न सफल भएको छ । विश्वभरका विश्व विद्यालयसँग रोकिएको सम्बन्ध बिस्तारको काम अघि बढाएपछि आयोगले चार करोड रुपैयाँ पुनः उपलब्ध गराएको हो । भीसी दासले भने, ‘सकारात्मक र बिग्रिएको छवि सुधार गर्न थालिएको प्रयास बिस्तारै सफल बन्दै गएको छ ।'