कुप्रथा र ‘लोकतन्त्र

कुप्रथा र ‘लोकतन्त्र

कहिल्यै नखोसिने, कहिल्यै नमासिने ‘लोकतन्त्र' नै थिए ०६३ सत्ता हस्तान्तरणपछि मुलुकका प्रमुख राजनीतिक नेताहरूले एक्लै या सामूहिक रूपमा सार्वजनिक थलोबाट दिइने नाराहरू । ती नारा पछिसम्म पनि दोहोर्‌याए ।

अहिलेसम्म पनि सत्ता हस्तान्तरणपछि शासन र राजनीतिमा प्रभुत्व जमाएका तर विखण्डित हुँदै गएको राजनीतिका नेताहरूले आफूलाई लोकतन्त्रका जमिन्दारका रूपमा पेस गर्दै आएता पनि सायदै कुनै नेताले आफूलाई जनताप्रति जवाफदेहीपूर्ण तरिकाले प्रस्तुत गरेको छ यो अवधिमा ।

यसै अवधिमा दुइटा संविधानसभा निर्वाचित भए, तर परिपक्क र कार्यान्वयनयोग्य संविधान बन्न सकेन । त्यसैले मुलुक, सत्ता र राजनीति सञ्चालनको आधार के त ? अहिले सत्ता हस्तान्तरण र संविधान जारी भएयता पहिलो अविश्वास मत खेप्दैछ सरकारले । छलफल र मतदानपूर्वको राजनीतिक अवस्था हेर्दा सरकारले सदनमा बहुमत गुमाउने सम्भावना देखिन्छ ।

तर वैकल्पिक या उत्तराधिकारी सरकारको गठनबारे संविधान मौन छ । त्यो सम्भवतः संविधान निर्माताहरूको नियत नभएर असावधानी र अज्ञानका कारण भएको हो । त्यसले नेपालका २/२ संविधानसभाको क्षमताबारे विश्वमा राम्रो सन्देश पठाउने छैन ।

संघीय समाजवादी पार्टी अध्यक्ष तथा पहिला परराष्ट्र मन्त्रीसमेत रहिसकेका उपेन्द्र यादवले अहिले एउटा महत्त्वपूर्ण वक्तव्य दिएका छन्, ओलीले अविश्वास प्रस्ताव हारेमा सम्भावित सरकार गठनका सम्बन्धमा । के राजाले छोड्नुपर्छ भनिएको थियो संविधानमा ? के खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुन्छन् भनेर लेखिएको थियो ?

पक्कै पनि यादवको अभिव्यक्तिलाई बेवास्ता गर्न मिल्दैन । तर राजनीतिक विकासका क्रममा अपनाइएका निर्णय र तिनले सिर्जना गरेका गलत पूर्व दृष्टान्तले भावी इतिहासलाई निर्देशित र प्रेरित गरिरहने अपेक्षा पनि गर्न सकिन्न । संविधान अपूर्ण, अपरिपक्क र त्रुटिपूर्ण रहने अनि कुनै पनि किसिमले सत्ता हत्याउन खोज्ने राजनीतिक नेताहरूले ‘राजनीतिक समझदारी' का आधारमा गर्ने निर्णयले संवैधानिक हैसियत पाउनुपर्छ भन्ने मान्यता नै अराजक, असंवैधानिक र अराजनीतिक हो ।

पहिलेका त्रुटिहरूलाई नै अनुशरण गर्दै जाने हो भने मुलुकको संविधान अन्ततः त्यस्तै गलत पूर्व दृष्टान्तहरूको कात्रोमा बेरिनेछ । के दुइटा संविधानसभाको निर्वाचन, अरबौंको खर्च र राष्ट्रको जीवनबाट खर्च गरिएको आठ वर्षको सार सन्देश यही हो त ? कुप्रथा या कुपरम्पराकै अनुशरणमा सरकार गठन भएमा त्यसले अर्को कुपरम्परा जन्माउनेछ । पक्कै पनि त्यस्तो सरकार र विवाद जुम्ल्याहा रूपमा जन्मे भने त्यसको छिनोफानो सर्वोच्च अदालतले गर्नेछ ।

तर सर्वोच्चसम्म जानुपर्ने सम्भावित अवस्था किन सिर्जना हुँदैछ राजनीतिक दलहरूका लागि ? एउटा सरकार या प्रधानमन्त्रीले राजीनामा दिन सक्ने या सदनमा बहुमत गुमाउन सक्ने अवस्थासमेत कल्पना गर्न नसक्ने राजनीतिक नेतृत्व र सदनको दूरदर्शिता या त्यसको सर्वथा अभावले मुलुकमा राजनीतिक विवाद उत्पन्न हुने अवश्यंभावी छ । त्यसका कारक संविधानसभा र त्यसका मुख्य नेताहरू,संवैधानिक समिति अनि राजनीतिक सहमति जुटाउन निर्मित समितिको नेतृत्वले माफी नमाग्ने जनतासमक्ष ?

परिस्थिति उत्पन्न भएपछि त्यसको समाधान फेला पार्नेछ पक्कै पनि नेताहरू इमान्दार र सत्तालोलुप भएनन् भने, तर कुप्रथा र संवैधानिक विचलनमा टेकेर सरकार निर्माण हुनैपर्छ भन्ने तर्कको ठाउँ हुनु हुँदैन संविधानवाद अभ्यास गर्ने हो भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.