बीपीको ‘डाइङ डेक्लेरेसन

बीपीको ‘डाइङ डेक्लेरेसन

प्रजातान्त्रिक नेपालका पथप्रदर्शक बीपी कोइरालाले आफ्नो राजनीतिक उद्देश्य र लक्ष्यको वैचारिक र रणनीतिक रोडम्यापबारे धेरै बोल्नु÷लेख्नुभएको छ । २०३९ साल साउन ६ गते उहाँको निधन हुनुभन्दा १ महिना २८ दिनअघि रेकर्ड गरिएको बीपीको सन्देशमा उहाँको राजनीतिक मार्गको सार खिचिएको छ । वरिष्ठ अधिवक्ता गणेशराज शर्माले संकलन गरी प्रकाशित गर्नु भएका बीपीका अमूल्य पुस्तकहरूमध्येको ‘राजा, राष्ट्रियता र राजनीति' को भूमिकामा गणेशराजजीले एउटा मार्मिक प्रसंगको उक्त सन्देश रेकर्ड गरेको उल्लेख गर्नु भएको छ ।

गणेशराजजीको शब्दमा यस संकलनको समापन उहाँको अन्तिम सन्देशद्वारा भएको छ, जो अत्यन्त असाधारण र भावुक परिस्थितिमा भएको थियो । एक दिनअघिको उहाँको शारीरिक लक्षणहरूलाई हेर्दा उद्विग्नताका साथ अर्को दिन अब उहाँको संक्षिप्त नै भए पनि मुलुकको लागि एउटा मार्गदर्शन हुने गरी कुनै मन्तव्य टेप गर्ने अठोटका साथ म उहाँको निवास पुगें । तलैदेखि विभिन्न व्यक्तिहरूले भने, ‘बीपीले तपाईंलाई खोज्दै हुनुहुन्थ्यो । म हतारिँदै बीपीको कोठाभित्र पसें तर उहाँलाई बोल्न नसक्ने अवस्थामा पाएँ ।

सबै उदास, टोलाएका र केही गर्न नसक्ने विवशतामा देखिए । म पनि त्यस्तै विवशताका साथ बाहिर आउँदा शैलजा आचार्य भेटिनुभयो । मैले बीपीबाट मार्गदर्शन हुने प्रकारको अन्तिम सन्देश लिन चाहेको थिएँ, अब कहिल्यै नसक्ने भएँ भन्ने निराशा व्यक्त गर्दा उहाँले उत्साहित गर्दै ‘होइन, हिँड्नुस्, सान्दाजुले बोल्नुहुन्छ' भन्दै मेरो अघि लाग्नुभयो ।

सुतिरहेको मानिसलाई, ‘सान्दाजु, गणेशराजजी आउनु भएको छ, तपाईंले बोल्नुपर्‌यो' भन्दै दुई–तीन पटक घच्घच्याएपछि, उहाँले आँखा खोल्नुभयो र अत्यन्त कमजोर स्वरमा भन्नुभयो, ‘के बोल्नु ? ' अनि मैले एउटा सन्दर्भ प्रस्तुत गर्दै भनें, ‘यस स्थितिमा, तपाईंको सम्पूर्ण राजनीतिक भूमिकाको अनुभवको आधारमा सम्पूर्ण देशवासीलाई पछिसम्म मार्गदर्शन हुने प्रकारको जति संक्षिप्तमा भएपनि, एउटा सन्देश दिनुपर्‌यो ।'

उल्लिखित पृष्ठभूमिमा झन्डै मृत्युशैयाबाट बीपीले अन्तिम सन्देश दिनुभएकाले यसलाई डाइङ डेक्लेरेसन (मृत्यु घोषणापत्र) भन्न सकिन्छ । संसारभरिकै कानुनी व्यवस्थामा डाइङ डेक्लेरेसनलाई अकाट्य प्रमाणको रूपमा अदालत वा न्यायिक निकायहरूले समेत ग्रहण गर्छन्, किनकि मृत्युको मुखमा पुगेको मानिससँग व्यक्तिगत लोभ, लालचा, महत्त्वकांक्षा वा कसैप्रति वदला वा घृणाभाव समेत बाँकी रहेको हुँदैन र उसले आफूले देखेको जानेको सत्य अभिव्यक्त गर्दछ ।

 

यस अर्थमा बीपीका अन्य कुनै अभिव्यक्ति वा सन्देश भन्दा यो सन्देशको बेग्लै महत्त्व छ । आज आफू इलाजको लागि बाहिर जान लागेको र कस्तो अवस्थामा आफू फर्कने थाहा नभएकाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि विगत पाँच वर्षदेखि आफूले भन्दै आएको २,३ कुरा भन्न चाहान्छु, भनेर मूलतः निम्न कुरा उहाँले राख्नुभएको छ, जुन बीपीले बोल्नुभएको समयमा भन्दा आजको सन्दर्भमा अझ बढी सान्दर्भिक मात्र नभएर कटु सत्यको रूपमा नेपालीका सामु उपस्थित भएका छन् ।

१. ‘हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र, बढो अप्ठ्यारो परिस्थितिमा छ र त्यसलाई जोगाउनुपरेको छ । त्यसको निम्ति मेरो एउटा प्रयत्न रहेको छ । त्यस्ता संस्थाहरू, त्यस्ता शक्तिहरू जसले जोगाउन सक्छन्, तीसँग हामीले वैमनस्यको सम्बन्ध राख्नु हुँदैन जस्तो राजतन्त्रको बारेमा । मलाई लाग्दछ त्यो त्यस्तो संस्था छ हाम्रो नेपालका लागि, नेपालको राष्ट्रियताका लागि, अहिले जो विपत्ति परेको छ बाहिरियाबाट त्यसलाई बचाउनको लागि बडो ठूलो योगदान त्यसले दिन सक्छ । त्यसो हुनाले त्यसको खिलाफ हामीले बडो सजग भएर मात्र कारबाही गर्नुपर्छ ।

नत्र भनेदेखि जुन तत्त्वले हाम्रो राष्ट्रलाई सिध्याउन लागेको छ, त्यही तत्त्व हाम्रो पछाडि लागेर हामीलाई समर्थन गरेर त्यो गराउन सक्दछ । त्यसो हुनाले तपाईंहरू सबैले भन्ठान्नुस् पानीमा शिशु वा भनिठान्नुस् एउटा आँधीमा दियो बलिरहेछ, त्यसलाई बचाउनुपर्ने कर्तव्य परिरहेछ—राष्ट्रको दियोलाई बचाउनका लागि । त्यसमा जति तत्त्वहरू छन्, बचाउने, बचाउन लाग्ने र बचाउन चाहने ती सबैसँग हाम्रो राम्रो सम्बन्ध हुनुपर्छ । मैले राजाका सम्बन्धमा भन्दा त्यही दृष्टिबाट भनेको हुँ ।'
‘राजतन्त्रका सम्बन्धमा अहिले हामीहरूको राजतन्त्रसँग अरू मुलुकमा जस्तो फ्रान्स र इङल्यान्डमा राजतन्त्रसँग लडाईंहरू भए ।

के हामीमा बीपीको डाइङ डेक्लेरेसनको संवेदना बुझ्ने धैर्यता र साहस छ ? बीपीले इमान्दारीपूर्वक आफ्नो काम गरेर जानुभयो, हामीले के नेपाल थामी खान सकौंला ?

हाम्रो ठाउँमा, नेपालमा पनि त्यस्ता लडाईंहरू हुन्छन् अधिकारको निम्ति । जब मानिसहरू एउटा परम्परागत समाजबाट नयाँ नयाँ समाजमा जानुपर्छ तब त्यो बेला निश्चय नै जनता चाहन्छ अधिकार आफ्ना हातमा लिऊँ भनेर । हामीहरूको त्यो अवस्था चाहिँ कायमै रहन्छ तर त्यसको साथसाथै हामीले पनि विचार गर्नुपरेको छ । मैले भन्दथें कि गन्दा पानी छ भनेर टबको पानी फ्याँक्दा त्यहाँ नुहाउन थालेको बालकलाई त फ्याँकिदैन ?

त्यसो हुनाले राजतन्त्रसँग हाम्रो झगडा छ भनेर त्यो राजतन्त्रलाई फ्याँक्ने उद्यम हामीले गर्नु हुँदैन । त्यो गन्दा कुरो छ भनेदेखि फ्याँकिदिनुपर्छ र अर्को पानी राख्नुपर्छ तर त्यो शिशु जो नुहाइराखेको छ त्यसलाई हामीले बचाउनुपर्छ । त्यसो हुनाले एउटा कुरा त राजतन्त्रका सम्बन्धमा हामीहरू बडो सतर्क हुनुपर्छ कि कहाँ राजतन्त्रसँग हाम्रो झगडा छ ? कहाँ राजतन्त्रलाई जोगाउनुपर्ने हाम्रो कर्तव्य छ ? त्यो बुझ्नुपरेको छ ।'

२.‘दोस्रो कुरो के छ भने अचेलको युगमा जो जनताको आकांक्षा र खासगरी जसले राजनीति गर्न भनी तयार छ तिनको आकांक्षालाई मिचेर यो देशलाई कसैले जोगाउन खोज्छ भने त्यो मुर्खता हुनेछ । त्यही कुरो २००७ सालमा भयो । त्यो पनि मैले भन्दै आएको छु । त्यो कुरोमा चाहिँ हामीले सम्झौता गर्नु हुँदैन । पञ्चायतवादीहरू भन्छन् कि राजतन्त्रलाई बलियो पारे सब ठीक हुन्छ, तर हामीहरू भन्छौं राजतन्त्रलाई बलियो पार्ने पनि तरिका छ । राजा ठूलो हो भनेर राजतन्त्र बलियो हुँदैन । त्यसलाई बलियो पार्नलाई पनि प्रजातन्त्रको संस्थागत विकास हुनुपरेको छ ।'

३.‘तेस्रो कुरो चाहिँ अहिलेको परिप्रेक्ष्यमा प्रजातन्त्र केवल प्रजातन्त्र, प्रजातन्त्र भनेर मात्र हुँदैन । त्यसो हुनाले हामीहरूले आर्थिक विकासको पनि कुरा गर्‌या छौं । अब आर्थिक विकासका बारेमा पनि मैले स्पष्ट भनेको छु । आर्थिक विकास भनेको नै हामी नेपालको विकास भन्दछौं भने त्यो गाउँको विकास हो । सहर, काठमाडौं र विराटनगरको मात्र विकास नेपालको विकास होइन ।

गाउँको विकास गर्ने भनेको मतलब के हो भनेदेखि ठूल–ठूला उद्योगधन्दाको विकास मात्र गर्ने होइन । गाउँलाई चाहिने आवश्यकताको कुरो गाउँमा उपलब्ध हुन सकोस् । त्यसैलाई म समाजवाद भन्ने गर्दछु । अहिले आर्थिक समानताको धेरै महत्त्व छैन । विकासको प्राथमिकता र विकासको मोडेलको उचित छनौट पनि समाजवादको ठूलो लक्षण हो । त्यो चाहिँ गलत छनौट भइदियो भने जस्तोसुकै समाजवादको कुरा गरेपनि त्यसको कुनै अर्थ हुँदैन ।'

४. माथि उल्लिखित तीनवटा मूलभूत विषय प्राप्तिका लागि बीपीले आफ्ना समर्थक र कार्यकर्ताहरूमा संयमता र धैर्यताको खाँचो रहेको औंल्याउनुभएको छ । सोही सन्देशमा बीपी अगाडि भन्नुहुन्छ, ‘मैले आफ्ना साथीहरूलाई के भन्न थालेको छु भने यो हतार गरेर हामीलाई छिटो पुग्नु छ भनेर यात्रालाई छोट्याउन प्रयत्न गर्न थाल्यौं भने हामी झन् खाडलमा गाडिन्छौं ।

त्यसो हुनाले यो संस्थागत प्रजातन्त्रको विकास गर्नुपर्ने, हाम्रो विकासको निम्ति नयाँ जुन मोडेलमा विकास गर्नुपर्ने, त्यो सब गर्नलाई त्यति सजिलो र चाँडो हुन्छ भन्ने लाग्दैन मलाई । तर त्यति चाँडै भएन, हामीले खान पाएनौं, अब हामीले सहन सक्दैनौं भनेर हामीले त्यो छोट्याउने कोशिस गर्‌यौं भने विदेशीहरूले, जो मैले यहाँ देशलाई बचाउनुपर्छ भन्ने छ उनीहरू आई ठूल–ठूलो सद्भाव देखाउलान् केही गर्लान् त्यसमा हामी अल्मलिन थाल्यौं, त्यसो गर्नु हुँदैन ।'

यस विषयमा आजको घटनाहरू हुन्छन् भन्ने देखे जसरी बढी जोड दिँदै बीपी भन्नुहुन्छ, ‘त्यसो हुनाले मैले साथीहरूलाई भनें कि कुनै पनि हालतमा हामीहरूले असंयम गर्नु हुँदैन र कुनैपनि हालतमा तातै खाऊँ जलेर मरौं जस्तो गर्नु हुँदैन ।'

५. अहिले नेपालमा व्यवहारिक राजनीति भनेको जसरी पनि सत्ता र शक्तिमा पुग्नु वा चुनाव जित्नुलाई मानिएको छ । बीपीले सोही सन्देशमा व्यावहारिक राजनीतिका बारे सटिक व्याख्या गर्नुभएको छ, जुन आजका सफल राजनीतिकर्मी कहलाउनेका लागि अचम्म लाग्ने अव्यवहारिक कथन लाग्न सक्छ । बीपी भन्नुहुन्छ, ‘मेरो दृष्टिमा राजनीतिक लचकता, त्यो चाहिँ के छ भने आफ्नो उद्देश्यलाई छोडेर व्यवहारको नाममा जो गर्न खोज्छन् त्यो चाहिँ हामीले गर्नु हुँदैन ।

हामीले दुइटा कुरामा ध्यान दिनुपर्छ । हामीहरूको समग्रमा उद्देश्य के हो ? प्रजातन्त्र ल्याउने भन्या छौं भनेदेखि त्यसमा चाहिँ, कार्यप्रणालीका उपायमा हामीहरू समावेश गर्न सक्छौं । त्यसमा हाम्रो सम्झौता हुनसक्छ तर सिद्धान्तको लागि चाहिँ हाम्रो सम्झौता हुन सक्दैन । बाटोको कुरामा चाहिँ हामी सम्झौता गर्न सक्छौं । त्यसैले मलाई लाग्छ व्यावहारिक राजनीति भनेको मतलब आफ्नो आदर्शलाई छोडेर आफ्नो दुनो सोझ्याउने काम गर्नेलाई म व्यवहारिक भन्दिन ।

व्यवहारिक म केलाई भन्दछु भने आफ्नो आदर्शलाई कायम राखेर तत्कालमा समस्यालाई के गर्दा ठीक हुन्छ त्यसलाई समावेश गर्न सक्नुपर्छ जस्तो मलाई लाग्छ । अहिलेसम्म नेपाली कांग्रेसमा यत्रो मान्छेको आजसम्म पनि विश्वास छ त्यही कारणले छ कि यसले आदर्शलाई छोड्दैन र व्यवहारको राजनीति पनि गर्छ भन्ने कुराले छ । त्यसलाई हामीले राम्ररी बुझ्नुपर्छ । हामी सिद्धान्तमा सम्झौता गर्दैनांै तर सिद्धान्त प्राप्तिको मार्गका बारेमा सम्झौता हुन सक्छ ।'

६. नेपालको भूराजनीतिक जटिलता र त्यसले निम्त्याउने अप्ठ्याराका बारेमा समेत बीपीले उक्त सन्देशमा बोल्नुभएको छ । शीतयुद्धकालीन तत्कालीन अवस्थातर्फ इंगित गर्दै बीपीले नेपालमाथि कोबाट खतरा छ भन्ने र नेपालको विदेश सम्बन्ध कस्तो हुनुपर्ने भन्नेबारेमा पनि स्पष्ट पार्नुभएको छ, ‘जब म भन्छु बाहिरियाबाट हाम्रो देशमा खतरा छ तब ती मेरा वाक्यहरूमा कहिले हिन्दुस्थानको कुरा आउँछ, कहिले रुसको आउँछ ।

कसैले यो अनभिज्ञ भएर भनोस् यी शक्तिहरू बडो इमान्दार भएर हाम्रो निम्ति गर्छन, त्यो चाहिँ हाम्रो निम्ति पत्याउने कुरा छैन ।' नेपालले आज प्रमुख रूपमा भोगिरहेको भारतसँगको सम्बन्धको चिसोपन र भारत र चीनसँगको सम्बन्धमा ल्याउनुपर्ने सहजता र सामन्जस्यता बारेमा बीपीले त्यसैबेला सोही सन्देशमा यसरी भन्नुभएको छ, ‘हिन्दुस्थानको बारेमा मैले भन्दाखेरि मान्छेहरू के भन्छन् भने देखिन् यो हिन्दुस्थान विरोधी छ ।

मेरो के भनाइ छ भने, हिन्दुस्थानसँग हाम्रो सबभन्दा नजिकको सम्बन्ध रहनुपर्छ । हिन्दुस्थानसँग हाम्रो धेरै कुरामा मतभेद छ, तर मतभेदले चाहिँ मनोवैज्ञानिक आधार लियो भने जुनसुकै कुरामा पनि मतभेद देखिन्छ । त्यसो हुनाले, त्यसलाई मनोवैज्ञानिक आधारबाट राजनीतिक बुँदाबाट हेर्‌यौैं भने त्यो कुरा मिल्छ भन्ने लाग्छ । त्यसो हुँदा मैले त्यो बुँदामा चाहिँ भारतसँग संघर्षको बुँदा अलग पारेर राजनीतिक रूपमा राख्न खोजेको हुँ । म चाहिँ भारतविरोधी भएको होइन । मलाइ लाग्छ, हामीहरू हाम्रो भूगोलले गर्दा या अरू कारणले गर्दा, हिन्दुस्थानसँग धेरै कुरामा निर्भर हुनुपर्‌या छ ।

त्यसो हुनाले अरू मुलुकको तुलनामा हिन्दुस्थानसँग हाम्रो नजिकको सम्बन्ध रहन्छ । त्यस्तै चीनसँग हाम्रो नजिकको सम्बन्ध रहन्छ । अमेरिका र रुससँग पनि हाम्रो सम्बन्ध रहन्छ तर तिनीहरू टाढाका हुन् । यी दुइवटा (भारत र चीन) राष्ट्रसँग हाम्रो नजिकको सम्बन्ध हुन्छ ।'

७. आफूले जन्माएको, आफ्नो सम्पूर्ण जीवन दिएर हुर्काएको र अत्यन्तै कष्टकर दिनहरूमा नेतृत्व दिँदै ल्याएको राजनीतिक दल नेपाली कांग्रेस बीपी कोइरालाका लागि परिवार भन्दा प्रिय थियो । यसको भविष्य केमा सुरक्षित छ, यसले कुन बाटो हिँड्नुपर्छ, यसको कर्तव्य के हो भन्नेबारेमा बीपीले अन्तिम सन्देशमा उल्लेखित कुराहरूमा अडिनुपर्ने बताउनुभएको छ ।

द्विविधारहित ढंगले दिशानिर्देश गर्दै उहाँ भन्नुहुन्छ, ‘पार्टीको सम्बन्धमा केवल यहि कुरो, मैले भनेको कुरोलाई पार्टीले मान्यो भने हाम्रो पार्टीको पनि भविष्य छ र नेपालको पनि भविष्य छ । यसलाई मानेनन्, मैले जुन मेलमिलापको कुरा बताएँ, त्यसलाई मानेनन् भने र अर्को बाटो लिए भने या कुनै विदेशीको मद्दत नभइकन हुँदैन भन्ने बाटो लिए, या राजासँग झगडा गर्ने बाटो लिए, राजासँग झगडा छ, मैले छैन भन्या छैन, तर मेलमिलापको जुन सैद्धान्तिक व्याख्या मैले गर्‌या छु त्यसलाई छोड्यो भने हाम्रो पार्टीको भविष्य छैन र देशको पनि भविष्य छैन ।'

विगत १२÷१३ वर्षका घटनाक्रम हेर्दा बीपीको यो चेतावनी सत्य सावित हुँदै गएको आभास मिल्छ । देश दिनप्रतिदिन अन्यौल, विभाजन र विखण्डनको दिशातर्फ दौडिरहेको छ । एक दशक अघिसम्म नेपालको निर्णायक शक्ति रहेको नेपाली कांग्रेस आज कम्युनिस्टलाई अघिसारी पछिल्लो सिटमा बस्न बाध्य छ भने सदा ३५, ३६ प्रतिशतको हाराहारीमा पपुलर मत ल्याएको पार्टी २०६४ को संविधानसभा निर्वाचनमा २२ प्रतिशत मतमा झर्नाले बीपीको वाणीको गला लागेको प्रष्ट देखिन्छ ।

यसै प्रसंगमा बीपी अगाडि भन्नुहुन्छ, ‘पार्टीका साथीहरूलाई मेरो यही भन्नु छ, मेलमिलापको नीति, विकासको अवधारणा र प्रजातन्त्रको संस्थागत विकास, यी तत्कालै फल्ने फुल्ने कुरा होइनन् । हामीहरूलाई हतार पार्ने पनि कोशिस गर्नेछन्–यो त भएन, चाडैँ भएन भनेर । त्यसमा चाहिँ हामीले विचलित हुनु हुँदैन । मलाई साथीहरूलाई त्यही कुरो भन्नुपर्‌या छ ।

जुन एउटा बाटो मैले बताएको छु, त्यो बाटोमा हिँड्यौं भने हामीहरूलाई लामो होला तर यसमा केही आपत्ति छैन तर आफ्नो जवाफेदेही हामीले पूरा गर्नुपरेको छ ।' यत्ति उच्चकोटीको राष्ट्रको भविष्यप्रतिको संवेदनशील कुरो बुझ्ने साहस हामीमा नहुँदा आज देश अन्यौलग्रस्त छ भने क्रान्तिकारी नेताहरू किंकर्तव्यविमुढ ।

८. बीपीले सोही सन्देशमा पार्टीभन्दा माथि उठेर समग्र राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रिय एकताको कुरा समेत गर्नुभएको छ । नेपाललाई त्यसको खाँचो भइसकेको उहाँको निष्कर्ष छ । स्वास्थको कारणले समय अभाव भएर धेरै कुरा उहाँले गर्न नसक्नुभएको आभास त्यहाँ भल्कन्छ ।

उहाँले भन्नुभएको छ, ‘म जनतालाई व्यापक तवरले सम्बोधन गर्न चाहन्थें, आफ्नो पार्टी र समर्थकहरूलाई मात्र होइन । त्यसैले पार्टीका मानिसहरूले पनि मेरो विचार मात्र भनेर स्वीकार नगरुन् । तिनीहरू आफैंले विचार गरुन् कि परिस्थिति कस्तो छ भनेर । त्यो पनि अब उनीहरूले बुझिसकेका छन् जस्तो लाग्छ । अहिले त जरुरी के परेको छ भने नेपालमा नागरिक एकता चाहियो ।

यो पार्टीभन्दा पनि महत्त्वपूर्ण के रहेछ भने वैचारिक एकता । जस्तो भनौं, अब यदि वैचारिक एकता भएन भने कसैले के भन्न कसैले के भन्ने हुन्छ । तसर्थ विचारको समानता हुनुपर्छ । त्यो ल्याउन जरुरी पनि पर्‌यो । त्यो एउटा आधारभूत एकता हुनुपर्छ । पार्टीको त कार्यक्रम फरक हुन्छ हुन्छ । राजतन्त्रको आवश्यकता छ कि छैन ? विदेशीहरूको प्रभाव बढेको छ कि छैन ? तिनीहरूसँग सामना गर्ने के उपाय छ ? यी सब मुख्य कुरा हुन्, पार्टीको कुरै होइन ।

यदि गलत छ भने मानिसले भनून्, गलत भनेर । यदि ठीक छ भने ठीक भनून् ।' बीपीका यी विचार पढ्दा उहाँजस्तो राजनेताको खाँचो नेपाललाई आज अझ बढी परेको स्पष्ट छ । सारांशमा भन्दा नेपालमा राजनेताको खडेरी नै परेको छ ।
माथिको सन्देश दिइरहँदा बीपीको अवस्था अत्यन्तै नाजुक थियो । गणेशराजजीले भूमिकामा लेख्नुभएको छ, ‘सिरानबाट टाउको उठाउन पनि नसक्ने स्थितिमा बोल्न सुरु गर्नु भएपछि विस्तारै–विस्तारै उहाँ उठेर बस्नुमात्र भएन, आफ्नो स्वाभाविक शैलीमा बोल्न थाल्नुभयो ।

एउटा अदम्य आस्था र त्यसप्रतिको प्रतिबद्धताले गर्दा नै त्यस शारीरिक असक्ततामाथि उहाँले केही समयको लागि भएपनि विजय हासिल गर्नुभएको त्यस भावुक दृश्यको अनुमानका साथ उहाँको यस अन्तिम सन्देशलाई हेरिएमा, त्यसको प्रभाव अर्कै हुनेछ ।' प्रश्न, के हामीमा बीपीको डाइङ डेक्लेरेसनको संवेदना बुझ्ने धैर्यता र साहस छ ? बीपीले इमान्दारीपूर्वक आफ्नो काम गरेर जानुभयो, हामीले के नेपाल थामी खान सकौंला ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.