सरकारको कृषि कार्यक्रम छरपष्ट छ

सरकारको कृषि कार्यक्रम छरपष्ट छ

कृषिमा केही गर्नुपर्छ भनेर भारतबाट इन्डस्ट्रियल र प्रोडक्सन इन्जिनियर विषयमा स्नातक गरेका पर्सा वीरगञ्जका आनन्द बगारिया यतिवेला सफल कृषि उद्यमी बनेका छन् । सन् २००० देखि कृषि औद्योगिक व्यवसायमा लागेका वगारियाका अहिले आधन दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन् ।

निम्बस होल्डिङ अन्तर्गतको प्रो वायोटेक इन्डस्ट्रिज, प्रोजियोचेम इन्डस्ट्रिज, निम्बस इन्टरनेसनल कम्पनी, फैव्रिक प्लास्टिक उद्योग र निम्बस कृषि केन्द्रका प्रबन्ध निर्देशक रहेका बगारिया पशुपन्छीका लागि पैलेट दाना उद्योग स्थापना गरेर निक्कै चर्चामा आएका उद्यमी हुन् । पहिलो एकमात्र गुणस्तर एनएसमार्क प्राप्त उनको दाना उद्योगले आईएसओ मार्क पनि प्राप्त गरिसकेको छ ।

यसका साथै भेटेनरी, सूचीकृत विषादी र बिउबिजनको मुख्य डिस्ट्रिव्युटर समेत रहेका बगारियाका अधिकांश उद्योग पर्सा, बारा र मकवानपुरमा सञ्चालनमा छ । नेपाल उद्योग परिसंघका पूर्वउपाध्यक्ष समेत रहेका उनी अहिले नेपाल–भारत उद्योग वाणिज्य संघका केन्द्रीय कोषाध्यक्ष छन् । प्रस्तुत छ, उनै बगारियासँग नेपालको कृषि र कृषिमा आधारित उद्योग क्षेत्रको अवस्था बारे अन्नपूर्ण पोस्ट्का राजेश बर्माले गरेको कुराकानी:

तपाईंले नेपालको कृषिलाई कसरी हेर्नु भएको छ ?

- हामी आफैंलाई कृषि मुलुकको बासिन्दा भन्छौं । तर यथार्थ विल्कुल फरक छ । कृषि मुलुक भनिने नेपालमा बर्सेनि अर्बौं मूल्य बराबरको चामल, तरकारी, मासु, दुग्धजन्य पदार्थ, मसलालगायतका कृषिजन्य वस्तु आयात हुने अवस्था एकातिर छ भने अर्कोतर्फ कृषिजन्य वस्तुमा आधारित कृषि उद्योगका लागि आवश्यक पर्ने कृषिजन्य कच्चा पदार्थ स्वदेशमा पाइँदैन ।

उद्योगलाई चाहिने कच्चा पदार्थ भारतलगायत तेस्रो मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ । अर्कोतर्फ कृषि उद्योगमा लगानीमैत्री वातावरण र नीति पनि छैन् । कच्चा पदार्थको अभावमा कृषि उद्योगहरु स्थापना हुन सकेको छैन । भारतसहित तेस्रो मुलुकबाट आयात नगर्ने हो भने कृषिजन्य वस्तुमा आधारित उद्योग बन्द हुने अवस्था छ । राज्यको नीति पनि किसानमैत्री देखिएन् ।

राज्यको कृषि कार्यक्रम छरपष्ट छ । कार्यक्रम र लगानी एकातिर छ भने बालीको रोपाइँ अर्कोतिर छ । सिँचाइ सुुविधा एकातिर छ भने सेवा सुविधा र अनुदान अर्कोतर्फ छ । यस्तै कृषिका लागि जग्गा अभाव र बजार अभाव पनि अर्को ठूलो समस्या छ । एक आपसमा कसैको पनि सम्वन्ध छैन । राज्यको नीतिमा कृषिजन्य उद्योग पनि प्राथमिकतामा पर्न सकेको छैन जसले गर्दा समग्र कृषि क्षेत्र निराशाजनक रूपमा अघि बढिरहेको छ । पछिल्लो समयमा केही आशलाग्दो देखिए पनि समग्र व्यावसायिक मुखी कृषि क्षेत्र बन्न सकेको छैन ।

समग्र कृषि क्षेत्रको विकास कसरी सम्भव हुन्छ ?

-नेपालजस्तो सानो मुलुक र जैविक विविधता र भगौलिक कठिनाइका कारण सयौं बाली छनोट गरेर व्यावसायिक खेतीपाती गर्न सम्भव छैज । कार्यक्रम, लगानी, सेवा सुविधा, अनुदान, सिँचाइ जस्ता आवश्यक सेवा सुविधा पनि छरेर अबको समयमा व्यावसायिक रूपमा राम्रो उत्पादन लिन सकिन्न ।

जुन बालीमा लगानी र मिहिनेत धेरै छ, तर उत्पादन निक्कै कम छ त्यस्ता बालीका लागि लगानी लगाएर समय खेर फाल्नुभन्दा कम समय र कम लगानीमा जुन बालीले प्रचुर परिमाणमा उत्पादन दिन्छ र कृषि जन्य उद्योगलाई कच्चा पदार्थ पनि उपलब्ध गराउन सकिन्छ, त्यस्ता बाली छनोट गरेर व्यावसायिक रूपमा उत्पादन गर्नुपर्छ ।

उदाहरणका लागि धान, मकै, गहुँलगायतका बालीमा हामी बर्सेनि ठूलो लगानी र स्रोत प्रयोग गरिरहेका छौं । तर पर्याप्त परिमाणमा उत्पादन पनि लिन सकेका छैनौं र आयात दरलाई पनि प्रतिस्थापन गर्न सकेका छैनौं । अर्कोतर्फ कृषिजन्य उद्योगलाई कच्चा पदार्थ पनि उपलब्ध गराउन सकेका छैनौं ।

 

यसबाट कृषि क्षेत्रको विकास सम्भव होलात ?

-यतिले मात्रै पुग्दैन । कृषि उत्पादन वृद्धि गर्न र कृषिजन्य उद्योगलाई प्रोत्साहन गर्न सरकारले अबको कम्तीमा पाँच वर्षका लागि पाँच बाली छनोट गर्नुपर्छ । धान, मकै, गहुँलगायत कुन बालीमा गर्ने हो त्यो छनोट गर्नुपर्छ । यस्ता बालीको खेतीपातीका लागि भगौलिक र जैविक विविधता सुहाउँदो क्षेत्र (जोन) निर्धारण गर्नुपर्छ । एउटा बालीका लागि एउटा क्षेत्र निर्धारण गर्नुपर्छ ।

नेपालजस्तो सानो मुलुक र जैविक विविधता र भगौलिक कठिनाइका कारण सयौं बाली छनोट गरेर व्यावसायिक खेतीपाती गर्न सम्भव छैन । कार्यक्रम, लगानी, सेवा सुविधा, अनुदान, सिँचाइ जस्ता आवश्यक सेवा सुविधा पनि छरेर अबको समयमा व्यावसायिक रूपमा राम्रो उत्पादन लिन सकिन्न ।

बाली र क्षेत्र निर्धारण भएपछि राज्यले प्रवाह गर्ने कार्यक्रम, मल, बिउ, यन्त्रीकरण, भण्डारण गृह, बजारसम्मको पहुँच, सडकको सुविधा, सिँचाइ, सेवा सुविधा र लगानी एकत्रित रूपमा (एकद्वार प्रणालीमार्फत) उपलब्ध गराउनुपर्छ । यस्तो अवस्था भयो भने किसानले पनि समूह, सहकारी, कम्पनीमार्फत वा जग्गा भाडामा लिएर पनि स साना जग्गालाई एकत्रित गरेर व्यावसायिक र आधुनिक खेती प्रणालीमार्फत उल्लेख्य उत्पादन लिन सक्षम हुनेछन् । जग्गा एकत्रित भयो भने आधुनिक कृषि उपकरणको प्रयोग गर्न पनि सजिलो हुन्छ र लागत खर्च पनि कम हुन्छ ।

अर्को कुरा सरकारले वितरण गरिरहेको मल, बिउ र अनुदानलगायतका सुविधा पनि छरेर हुन्न अबको समयमा । जुन बालीबाट राम्रो उत्पादन हुन्छ, त्यस्ता उत्पादनमा मात्रै अनुदान उपलब्ध गराउनु पर्छ । अर्थात प्रतिफलमुखी अनुदान आवश्यक छ । यसो भयो भने पक्कै राज्यले खोजेजस्तो कृषि क्षेत्रबाट प्रतिफल आउन सक्छ । यसका साथै समर्थन मूल्य पनि कडाइका साथ कार्यान्वयनमा ल्याउनुपर्छ ।

किसानले बाली लगाउनुभन्दा पहिले उक्त बालीको मूल्य सरकारले तोकिदिनु पर्छ । मूल्यमा बिक्री भयो भने ठीक छ । बिक्री भएन भने राज्यले खरिद गरिदिनुपर्ने नीतिलाई पनि कडाइका साथ लागू गर्नुपर्छ । त्यसपछि ठूलाठूला बजारको अवधारणालाई पनि अघि बढाउन आवश्यक छ । त्यस्ता बजारसँग सीधै किसानलाई जोडिदिनु पर्छ । यसले गर्दा किसानले लागतअनुसार कृषि जन्य वस्तु बिक्री गरेर आम्दानी गर्न पाउँछन् । राम्रो आम्दानी लिन पाएपछि किसान पनि हौसिन्छन् ।

यसो हुन सकेको खण्डमा कृषि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ पनि स्वेदशमै उपलब्ध हुनेछ । यस्तै क्षेत्रमा कृषि उद्योग स्थापना गर्न पनि सजिलो हुन्छ । उदाहरणका लागि हामी उखु खेतीलाई लिन सक्छौं । चिनी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ अर्थात उखु लगाइएका क्षेत्रमै अहिले उद्योग सञ्चालनमा छन् । यसले गर्दा उद्योगको लागत खर्च केही भए पनि कम भएको छ ।

लामो समयदेखि तपाईं कुखुरा र गाईभैंसीलाई खुवाउने पैलेट दानाको उद्योग पनि सञ्चालन गर्दै आउनुभएको छ । अन्य उद्योगको तुलनामा कृषिजन्य उद्योगको अवस्था कस्तो छ ?

- कृषिजन्य उद्योगको अवस्था नेपालमा त्यति राम्रो मान्न सकिन्न् । मुख्यगरी कृषिजन्य उद्योगलाई अघि बढाउन राज्यसँग प्रवद्र्धनात्मक नीतिको अभाव देखेको छु । कृषिजन्य उद्योगमैत्री नीति र वातावरण नहुँदासम्म उद्योग स्थापना हुँदैंन् । त्यसैगरी यो उद्योगका लागि लगानीको पनि ठूलो समस्या छ ।

लगानी सुरक्षित नहुँदासम्म उद्योग खुल्दैंन् । भएका लगानीहरु अहिले सिमेन्ट उद्योग र हाइड्रोपावरमा प्रयोग भएका छन् । नेपालको नौलो उद्योगमा लगानी लगाउन सकिएको छैंन् । यसपटकको बजेटले पनि कृषिजन्य उद्योगलाई प्राथमिकताका साथ सम्बोधन गर्न सकेन् ।

राज्यको प्राथमिकतामा यस्ता उद्योग नपर्दा लगानीकर्ता पनि विश्वस्त भएर लगानी गर्न अगाडी आउन नसकेको अवस्था छ । नीतिगत रुपमै कृषिमा आधारित उद्योगलाई प्रवद्र्धन नगर्ने भनेर राज्य कन्फयुज भएको जस्तो लाग्छ । नीतिगत रुपमै यस्ता उद्योगलाई टिकाउनका लागि राज्यले कृषिजन्य बस्तुको उत्पादनलाई पनि प्राथमिकता दिनुपर्छ । अर्को ठूलो समस्या कच्चा पदार्थको पनि छ ।

कृषिजन्य उद्योगलाई प्रवद्र्धन गर्न सरकारले के गरिदिनु पर्छ ?

- कृषिजन्य उद्योगलाई प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक नीति पहिलो आवश्यकता हो । जहाँ कच्चा पदार्थको बढी उत्पादन हुन्छ, त्यही कृषिमा आधारित उद्योग स्थापना गर्न आवश्यक सहयोग राज्यबाट हुनुपर्छ । अहिले कृषिमा आधारित उद्योगको प्रमुख चुनौती भनेको कच्चा पदार्थ नपाउनु हो । उदाहरणको लागि कुखुरा पालनलाई हेरौं । नेपाल कुखुरा पालनमा आत्मनिर्भर छ । तर त्यही कुखुरालाई पाल्न आवश्यक पर्ने दानाका लागि कच्चा पदार्थ नेपालमा पाइदैंन् ।

कच्चा पदार्थको रुपमा प्रयोग हुने भटमास करिब सतप्रतिशत भारतसहित ब्राजिल, अफ्रिका, अमेरिका, युक्रेनलगायतका मुलुकबाट आयात गर्नुपर्छ । यस्तै मकै पनि धेरथोरै आयात हुन्छ । नेपालमा मकै पर्याप्तमात्रामा उत्पादन भएपनि पाँच मेट्रिक टन खरिद गर्न खोज्दा एकै स्थानमा उक्त परिमाणमा खरिद गर्नसक्ने अवस्था छैंन् । पाँच मेट्रिक टनका लागि थुप्रै जिल्ला चहार्नुपर्ने अवस्था छ । हो, यस्तो अवस्था रहेसम्म कृषिमा आधारित उद्योग फस्टाउन सक्दैंन् ।

एउटा उद्योगलाई सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थको उपलब्धता एकै स्थानबाट हुनुपर्ने व्यवस्था हुनुपर्छ । कृषिजन्य उद्योगलाई सुलभ मूल्यमा बिद्युत पनि राज्यले उपलब्ध गरादिनुपर्छ । खरिदकर्ता र बिक्रिकर्ताको एकै स्थानमा पहुँच पुर्‌याउनका लागि ठूलठूला मण्डि(बजार) को अवधारणा पनि राज्यले अघि बढाउन जरुरी छ । यसो भयो भने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ एकै स्थानबाट पर्याप्त परिमाणमा उद्योगले उठाउन पाउँछन् ।


तपाईंको औद्योगिक समूहले आगामी दिनमा कस्ता कस्ता योजना अघि सार्दैछ ?

- हामी निकट समयमा नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिसहितको आधुनिक भण्डार गृह स्थापना गर्न लागेको छौं । पहिलो चरणमा अहिले देशभरमा गरेर तीन स्थानमा स्थापना गर्न लागेका छौं । खाद्यान्न बालीका लागि मुलुककै लागि पहिलो पटक निजी क्षेत्रबाट भण्डारण गृहका लागि यो ठूलो परियोजना हुनेछ ।

भटमास, गहुँ र मकैको भण्डारण गर्ने उद्देश्यले वीरगन्जमा एउटा, पूर्वको विराटनगरमा एउटा र पश्चिमको भैरहवामा एउटा गरी तीनवटा भण्डारण गृह स्थापना गर्न लागेका छौं । एउटा भण्डारण गृहको क्षमता २० हजार मेट्रिक टनको हुनेछ । भण्डारण गृह स्थापना भएपछि बजारलाई सहयोग पुग्छ । ठूलो परिमाणमा एकै स्थानमा भण्डारण गरेर राख्दा धेरै दिनसम्म सुरक्षित रूपमा कृषि उपजलाई राख्न सकिन्छ र पछिका दिनसम्म प्रयोगमा ल्याउन सकिन्छ ।

यसले गर्दा गुणस्तर पनि कायम रहनेछ । यसका साथै किसानको माइक्रोफाइनेन्समा पनि सघाउ पुग्नेछ । तीनवटा भण्डारण गृह निर्माण गर्न करिब डेढ सय करोड रुपैयाँ लगानी गर्न लागेको छु । पछि तरकारीका लागि पनि यस्तै भण्डारण गृह निर्माण गर्ने हाम्रो योजना छ ।

यसैगरी हामी प्रशोधित भटमास, सूर्यमुखी र तोरीको तेल पनि निकट समयमै विभिन्न ब्रान्डमा ल्याउने तयारी गरेका छौं । अहिलेसम्म हामी भारतलगायत अन्य मुलुकबाट आयात गरेको भटमासबाट कच्चा तेल निकालेर स्वदेशी उद्योगीलाई कच्चा तेल बिक्री गर्दैआएका थियौं । यस्तै तेलसँग निस्कने पिना (ढुटो) दानामा प्रयोग गर्दै आएका थियौं । तर अब फरवार्ड इन्टिग्रेटेड नीति अन्तर्गत निकट समयमै भटमासबाट कच्चा तेल र पिनासंगै, प्रशोधित खाने तेल र मस्यौरा पनि उत्पादन गर्न लागेका छौं ।

भटमासको कुनै पनि बस्तु नफाल्ने नीतिअनुसार विविधि उत्पादनतर्फ जान लागेका छौं । यसका लागि सय मेट्रिक टन उत्पादन क्षमता भएको तेल प्रशोधन प्लान्ट जडान गर्न लागेका छौं । यसमा करिब ८० करोड रुपैयाँ लगानी गर्दैछौं । अहिले हामीसँग दैनिक तीन सय मेट्रिक टन भटमासको दाना पेल्ने प्लान्ट जडान भएर सञ्चालनमा छ । यसैगरी आगामी वर्ष नै पूर्वको इटहरीमा अत्याधुनिक कुखुराको मासुसम्बन्धी अत्याधुनिक प्रशोधन केन्द्र पनि स्थापना गर्न लागेका छौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.