केसीका मागमाथि छलफल गर्न संसदमा प्रस्ताव दर्ता
काठमाडौँ: ११ दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीका मागमाथि छलफल गर्न व्यवस्थापिका संसदमा प्रस्ताव दर्ता भएको छ।
कांग्रेसका सांसद गगन थापा प्रस्ताव र कांग्रेसकै सांसद धनराज गुरुङ र माओवादी सांसद श्याम श्रेष्ठ समर्थक रहेर प्रस्ताव दर्ता भएको हो ।
डा. केसीले चिकित्सा क्षेत्रमा सुधारका विषयसँगै अख्तियार दुरुपयोग अनुसन्धन आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग लगाउनुपर्ने माग समेत अघि सारेका छन् ।
केसीको मागलाई असान्दर्भिक र राजनीतिक भन्दै कांग्रेसको मंगलबार बसेको केन्द्रीय समिति बैठकले राजनीतिक मागमा सहमत हुन नसकिने निर्णय गरेको थियो ।
कार्कीविरुद्ध महाअभियोगको माग राखेपछि केसीको अनसन चिकित्सा क्षेत्र सुधारमा भन्दा पनि राजनीति तर्फ मोडिएको भन्दै उनको आलोचना समेत हुँदै आएको छ ।