बोक्सीको आरोपमा महिलालाई दिसा खुवाइयो
वीरगन्जः पर्साको हरिहरपुरमा एक महिलालाई बोक्सीको आरोपमा मानव मल (दिसा) खुवाइएको छ।
हरिहरपुर गाविस वडा नम्बर २ का नेवानी राम र उनकी श्रीमती चम्पा देवीले बोक्सीको आरोप लगाउँदै गत शनिबार बिहान जबरजस्ती मानव मल खुवाएको पीडित हिरामती देवी साह (नाम परिवर्तन) ले बताएकी छन्।
शनिबार बिहान धान रोप्न छिमेकी महिलालाई बोलाउन निस्किएकी आफनी श्रीमती हिरामतीलाई बाटोमा राम र उनकी श्रीमती चम्पा देवीले जबरजस्ती समातेर दिसा खुवाएको पीडित महिलाका श्रीमान् मदनलाल साह कानु (नाम परिवर्तन) ले बताए।
‘श्रीमान् बिहानै खेतमा गइसक्नु भएको थियो, म खेत रोप्नका लागि छिमेकी महिलालाई बोलाउन बिहान नौ बजे तिर घरबाट निस्किएकी थिएँ', बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा भेटिएकी पीडित महिला हिरामति देवीले रुदै भनिन्,‘अचानक पछाडिबाट आएका नेवानी र उनकी श्रीमतीले जबरजस्ती समातेर शिशिमा रहेको दिसा मुखमा कोचिदिए।'
खेतमा काम सकेर शनिबार साँझ घर फर्किएका पीडित महिलाका श्रीमान् मदनलालले घटनाका बारेमा सोधपुछ गर्न गएका बेला रामले कुटपिट गरेका थिए। कुटपिटबाट मदनलालको देब्रे हात भाँचिएको छ।
दिसा खुवाएपछि राम र उनकी श्रीमती चम्पा देवीले गाँउमा घुमेर गाँउलेलाई आफुले महिलालाई दिसा खुवाइ दिएको भन्दै हल्ला फिजाउँदै हिडेको पीडित महिलाका श्रीमान् मदनलाल बताए।
आरोपित रामकी छोरी एक वर्ष पहिले माइती आएका बेला उनको जेठा छोराको मृत्यु भएको थियो। अहिले केही समयदेखि माइतीमै रहेकी रामकी छोरीको नवजात शिशु पनि बिरामी छन्।
हिरामतिले बोक्सीको तन्त्रमन्त्र लगाएर आफ्नो जेठो नाती मारेको र अहिले कान्छो नातीलाई पनि उनले नै तन्त्रमन्त्र गरेका कारण बिरामी पारेको भन्दै दिसा खुवाएको पीडित महिलाका श्रीमान् मदनलालले अन्नपुर्ण पोष्टलाई बताए।
पीडित महिला हिरामतीले घटना शनिबार भएको भएपनि बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन्।
उनको उजुरीको आधारमा प्रहरीले आरोपित राम र उनकी श्रीमती चम्पा देवी दुवैलाई नियन्त्रणमा लिएको छ।
आरोपितलाई इलाका प्रहरी कार्यालय पोखरीयाले हिरासतमा राखेको छ। पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने पीडित महिला दिएको उजुरीका आधारमा आरोपित राम र उनकी श्रीमती दुवैलाई सोधपुछका लागि बिहीबार नियन्त्रणमा लिएको बताए।
घटनाका बारेमा सत्यतथ्य ब्झनका लागि इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चक्र बहादुर शाहलाइ निर्देशन दिइएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।
आरोपित रामले भने आफूले ती महिलालाई बोक्सीको आरोप नलगाएको बताए। ‘मैले न बोक्सीको आरोप लगाएको छु, न त दिशा नै खुवाएको छु', उनले भने ,‘कुलोको पानीको विषयमा पहिले देखिको झगडा थियो , त्यही निहुँमा महिलाले ममाथि आरोप लगाएकी हुन्।'