एउटा छुट्टै राज्य निर्माण गर्ने सपना

एउटा छुट्टै राज्य निर्माण गर्ने सपना

हाम्रा दुई विद्यार्थी चेली त्रिशला गुरुङ र सुलक्षणा तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमेर भारत र नेसनल केडेट कोर (एनसीसी) का झन्डा फहराए । हर्षोल्लास दार्जिलिङ, चकित गोर्खा समुदाय र गर्वित भारतको लागि त्रिशला र सुलक्षणा गौरवको केन्द्र बन्न पुगे ।

यही दार्जिलिङमा कसैले रक्सी, जाँड खान्छन्, कोही धतुरा, भाङ, ड्रग्स सेवन गर्छन्, कोही फोहोर तिर्लिङ झोलले छोपेको राजनीतिक दलमा लिप्त हुन्छन् र कोही बिहानदेखि बेलुकीसम्म अर्थहीन गफ दोहोर्‌याउँदै चौक, बजार र चौरास्ताको फन्को मारिरहन्छन् ।

सन् १९६० र १९७० को दसकमा दार्जिलिङको वातावरण अर्कै थियो । संगीत, पढाइ–लेखाइ, खेलकुद, साहित्य, पर्यावरण संस्था आदिमा दार्जिलिङ भारतमै अग्रिम दर्जामा आएको थियो । कसले प्रशंसा गर्दैनथ्यो, सानो रेल, विश्व प्रसिद्ध चियाखेती, औले ज्वरोलाई जरैबाट फ्याँक्ने कुइनेनको खेती, स्कुल, कालेज, हिलकार्ट सडक र देशकै पुरानो म्युनिसिपालिटीको ? के थिएन दार्जिलिङमा ? विश्वका विभिन्न राष्ट्रबाट आएका गन्यमान्यहरू दार्जिलिङलाई रातभरि उज्यालो राख्थे ।

नेपाली भाषाको संवैधानिक मान्यताको लागि आन्दोलन हुन्थ्यो दार्जिलिङ । प्रधानमन्त्री मोरारजी देशाईलाई दार्जिलिङ भ्रमणका क्रममा कालो झन्डा देखाइन्थ्यो । प्रधानमन्त्री इन्दिरा गान्धी, राजीव गान्धीहरू दार्जिलिङका मायादेवी क्षेत्री, थियोडर मनेन सबै कांग्रेसका वरिष्ठ सदस्यहरूलाई याद गर्थे । उनीहरू दार्जिलिङलाई विशेष स्थान दिन्थे र मौका पाउनासाथ दार्जिलिङ आउँथे ।

 

यस्तै, खेलकुद क्षेत्रमा के गरेन दार्जिलिङले ? एउटा सानो जिल्लाले ६–८ जना आलम्पिक खेलाडी जन्मायो । तेन्जिङ शेर्पा र नवाङ गोम्बुसँगसँगै कैयन पर्वतारोहीहरू जन्मायो । हिमालयन माउन्टनियरिङ इन्स्टिच्युटका अध्यक्षसमेत प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू रहे ।

अति नै रमाइलो वातावरणमा हुक्र्यौं हामी । सफा दार्जिलिङ उज्यालो ठाउँ र पर्वतकी रानी नै थियो । विश्व नै ओर्लेर आउँथ्यो दार्जिलिङ । फादर स्ट्यानफोर्ड, लेक्लेयर, भ्यान, बन्र्स, फ्यारेल, मदर ड्यामियन र बोर्डिङ स्कुलका मिससाहेब एकातिर र अर्कोतिर हाम्रै महेन्द्र, खालिङ, हेमचन्द्र, सीके, पारस, पीपी, सुखनम, लक्खी, सेरा, फिलोमिना, सूर्यकला, उमा उस्तै उम्ता शिक्षकहरू थिए ।

वर्षैभरि व्यस्त रहन्थ्यौँ । सरस्वती, भानु, संक्रान्ति, दसैँ, त्यौहार, बडादिन, हासेल हुसेल, फगुवा रमाइलाका पोकाहरू थिए । हर्ली, मल्ला, गोल्डकप फुटबल हुन्थ्यो । विक्रम, रने, मिनी, कुले, कपिल, ग्याल्दुङ, ग्यात्सोला, अभय, महेन्द्र, उदय, बेनु, जीवन प्रेमसिंह, डाइनामो, पुलिस, जी आरहरूले खेलै देखाएर बर्खा र दसैँ काटिदिन्थे । पहिलोपटक ब्याडमिन्टन खेलेका प्रकाश पाडुकोन, सैयद मोदीहरू सन्त रोर्वट्स स्कुलमा देखिएका थिए । मोनोतोष रोय, गनु गिरी, याङकाई नेपाली र शरद प्रधानहरूलाई बडी बिल्लिङ प्रतियोगितामा दार्जिलिङमा देखेका थियौँ ।

संसारै देखाउने दार्जिलिङ थियो त्यो । घरघरमा प्रभाव पथ्र्यो । साहित्य, कला र संगीत के थिएन यहाँ ? अम्बर, अरुणा, गोपाल, दिलमाया, शरण, दावा, नयन, गगन, कुमार, कर्म, मनबहादुर, अर्जुन, गणेश, नीना, मोहन पुकारहरूले मिलेर विश्वकै संगीतको धरोहरस्थल बनाइदिए । साहित्यमा त्यति नै माथि पुग्यो दार्जिलिङ ।

होल्यान्डमा बनेको फिलिप्सको ट्रान्जिसटरवरिपरि भुटेको मकै र सिमल तरुल खुवाउँदै हाम्रा पिताजी हकी खेलबारे धाराप्रवाह विश्लेषण दिन्थे । यहीँ, यसरी नै चिन्यौँ पाकिस्तानका समिउल्ला र इस्लाउद्दिन, भारतका अशोक कुमार, माइकल किन्डो, अजितपाल, मुहम्मद सैयद, जफर इकवाल, प्रेम माया, बीएस क्षेत्री र असलम शेर खान । होल्यान्डको पल लिट्जेन र जर्मनीको बोभगार्जले गोल गर्नासाथ, आकाशवाणीबाट रनिङ कमेन्ट्री दिने जसदेव सिंह र मेलमिभल डि मेलोहरू ‘और एक सानदार गोल' भन्थे, हामी लर...भन्दै बुरुक्क उफ्रिथ्यौँ । ज्ञान बढ्थ्यो, सपना देख्थ्यौँ वार्सिलोना, एम्स्टरडम, क्वालालम्पुर, मस्को र दिल्ली कस्तो छ भनी ।

पछि गएर सबै–सबै सपना विपना नै भए । दिल्लीमा सन् १९८२ मा भएको एसियायी खेलमा भारतका प्रकाश पाडुकोण, चीनका हान जियान र इन्डोनेसियाका रुडि हार्टोनोसँग हात मिलाउन पायो दार्जिलिङले । भारत सरकारले खेलकुदमा चासो राख्ने दिल्ली र जवहारलाल नेहरू विश्वविद्यालयका विशेष खेलाडी विद्यार्थीहरूलाई लियाजन अफिसरको रूपमा एसियन गेम्समा सामेल गर्‌यो ।

खेलगाउँमा प्रथमपटक भेटिएका थिए, प्रधानमन्त्री राजीव गान्धी, सितार सम्राट् पण्डित रविशंकर अनि फिल्म अभिनेता अमिताभ वचनहरू । फिलिपिन्सको सबैभन्दा द्रूत दौडने लिडिया डी भेगा, हाम्रै बक्सर बीएस थापा र कौर सिंघ र तैरनका रानीहरू, एड्ना अधिकार, बुला चौधरी र जसलाल प्रधानहरू सबैसँग लगभग १५ दिन मिलेरै बितायौँ । नेपालको राजा वीरेन्द्रपुत्र दीपेन्द्रलाई पहिलोपटक एसियायी खेलगाउँमा भेटेका थियौँ हामीले ।

राजीव गान्धीले अन्तिम दिन एसियायी खेलगाउँमै मसँग अँगालो हालेर भनेका थिए, ‘यो खेलको सुसमाचार तिमीले दार्जिलिङवासीलाई पनि भनिदेऊ है !' तस्बिरहरू अझै पनि आलै छन् ।

सन् १९८० को मध्यतिर भत्किने, विनाश गरिने, लुटिने जो शृंखला दार्जिलिङमा सुरु भयो, त्यो ३० वर्षपछि आज पनि जारी छ । साहित्यिक, शैक्षिक, सामाजिक, खेलकुद, संगीत, स्वास्थ्य सबैसँग जोडिएका संस्थाहरू एकएक गर्दै भत्काइए । भानु जयन्ती नगरोस्, भनेर मूर्ति नै चोरियो । खेलकुद नगरोस् भनेर दाजिलिङ डिस्ट्रिक्ट स्पोर्ट्स एसोसिएसन नै खत्तम बनाइदिए । बाहिरबाट विद्यार्थीहरू नआओस् भनेर स्कुल, कलेजका रूपरङ नै परिवर्तन गरिदिए ।

मान्छे एकत्रित भएर विरोध नगरोस् भनेर गन्दै चुन्दै जानेमाने बोल्न सक्ने सबैको हत्या नै गरिदिए । घर नै जलाइदिए । युवायुवती अघि नबढून् भनेर घिनलाग्दो राजनीतिमा डुबाइदिए अनि बाँकी रहेकालाई बाहिर जान बाध्य गराइदिए ।

त्यति मात्रै कहाँ हो र, अझै नेतामाथि निर्भर रहोस् भनेर सबैलाई एडहोक–अस्थायी बनाइदिए र फेरि कतिलाई ड्रग्स र नशामा डुबाइदिए । बंगाल सरकार स्थानीय राजनीतिक दलसँग भत्काउने र ध्वंस गर्ने कार्यमा काँधमा काँध मिलाएर अघि बढ्यो ।

त्रिशला र सुलक्षणाले पर्खाल भत्काएर एउटा नयाँ बाटो निकालेका छन्, अर्को मूल फुटाएका छन् र एउटा नयाँ भविष्यको सपना देखाएका छन् । हाम्रा घर–घरमा छन् त्रिशला र सुलक्षणाहरू । अब मात्र बाँकी छ त्रिशला र सुलक्षणाहरूलाई बाहिर निकालेर पर्खाल भत्काउने सेनामा कसरी सामेल गर्ने ?

सरकार, नीति, विकास, सिस्टम र भविष्य नै नभएको दार्जिलिङमा फेरि त्रिशला र सुलक्षण जन्मिए । यो नै परिवर्तनको आशाको नयाँ किरण हो । अर्थात् सरकार पनि छैन, राजनीतिक दलले पनि घुँडा टेक्यो, जात–जात माग्ने भएर हात पसार्न थाले, बंगालले भानु जयन्तीसमेतमा भुतभुती खेल्न थाल्यो र नेताहरू फोहोरमैलाको दंगमा पसे । सम्पूर्ण क्षेत्र, समाज र जाति नै दिशाहीन भएर हिँड्न लाग्दा पनि त्रिशला र सुलक्षणाले सगरमाथा ताके । यो नै सोच परिवर्तनको एउटा सग्लो झलक हो ।

त्रिशला र सुलक्षणा हाम्रा महान् नेताले हामीलाई अघि बढाउँछ भनेर पर्खेका भए र बंगला सरकारले हामीलाई समुद्रको भुमरीबाट पार लगाउँछ भनी आशा राखेका भए यी दुई चेलीले सगरमाथा त के, भाले ढुंगासमेत चढ्न सक्ने थिएनन् । यिनीहरू कस्सिए, संसार चिन्ने, दार्जिलिङ बदल्ने कार्यमा आफूलाई होम्ने र जाति, क्षेत्र, राष्ट्रको लागि केही गर्ने अब्बल प्रयास लिएर ।

हाम्रा विद्यार्थी र युवायुवती अति नै होनाहार छन्, तर मौका पाउँदैनन् । घरभित्र घरकै पिर, बाहिर वनको पीडा । चारैतिर गोर्खाल्यान्ड भएको दार्जिलिङमा जनताचाहिँ भोकको मर्काल्यान्डमा डुबेका छन् । अतीत र भविष्य दुइटै नभएका नेताहरूचाहिँ मौजमज्जा ल्यान्डमा बाँचेका छन् । यो केवल दार्जिलिङमा मात्रै हुन सक्छ । तर त्रिशला र सुलक्षणाले त्यो पर्खाल नै भत्काइदिए ।

हाम्रा विद्यार्थी चेलीहरू पारम्परिक कामधन्धा र नोकरी गर्दै आएका आएका थिए । दार्जिलिङमा लोग्नेमान्छेहरू नै धेरैजसो काम गर्थे । तर आज त्रिशला र सुलक्षणा सगरमाथाको चुचुरोमा पनि लोग्नेमान्छेसँगै पुगे । यी चेलीले त्यो सानो सोचको पर्खाल नै भत्काइदिए । उता बंगालको शासनमा एउटा महिला चुचुरोमा पुगिन्, यता विश्वको टाकुरामा दुई चेलीले विजय हासिल गरे । तर हाम्रा नेताहरूले सानो सोचको पर्खाल भत्काउने कामसमेत गर्न सकेनन् ।

नेताहरूले सानो सोचको पर्खाल नभत्काउँदा नै पार्टी, जाति र गोर्खाल्यान्डको यस्तो हालत भएको हो । त्रिशला र सुलक्षणाले दस डाँडा काटे । अघि देखेको पर्खाल र अड्चनहरू एकाएक भत्काइदिए । नेताहरू पर्खाल देख्नासाथ हरेश खान्छन् । फेरि पर्खालको उतापट्टि के छ, थाहै छैन नेताहरूलाई । र त बंगाल र भारत सरकार मुसा झैँ खेलाउँछन् यी नेताहरूलाई र ३० वर्षसम्म खेलाए पनि अनि अझै कति खेलाउलान् ।

नेताहरू पर्खाल भत्काउनै मान्दैनन् किनकि उनीहरूसँग पर्खाल भत्काउने न आँट छ न शरीर छ, न क्षमता छ, न सोच नै छ । पर्खालमा दुलो पारे भने पनि झ्यालखानामा पस्छन् भन्ने डर छ । मेरो रातो बत्ती, मौजमज्जा र इज्जत एकै खेपमा स्वाहा पार्लान् भन्ने डर, त्रास छ । बंगाल र भारतलाई हाम्रा नेताको कलेजो र पित्तको रङ तथा बनावटसम्म थाहा छ र नै, यिनीहरू पर्खाल भत्काउन सक्तैनन् ।

हामीलाई पर्खालै भत्काउनु छ । हाम्रो यो प्रयासमा त्रिशला र सुलक्षणाको सम्मिलन अति नै घतलाग्दो हो । हामी देशको केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छो कुलपति भएर र राष्ट्रको नै राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका सदस्यहरू दुइटा पर्खाल एक–एक गर्दै भत्काइदियौँ । हिजोसम्म खुकुरी र बन्दुक मात्रै चलाउन सक्छ भन्ने यो जाति अब बौद्धिक र प्रशासनिक क्षेत्र पनि हाँक्न सक्ने भएछ भन्ने कुराले टुसो हालेको छ बंगाल र भारतका शासकहरूमा ।

हिजोसम्म यो जातिले सीमामा लडेर बलिदान दिने परिचय मात्रै बनाएको थियो भने आज देशको राष्ट्रिय सुरक्षा नीति निर्धारणमा भूमिका खेल्ने भएको छ । अब हाम्रा युवायुवती अनेकौँको संख्यामा विश्वविद्यालयको कुलपति, सुरक्षा परिषद्को सदस्य र आईएएस र आईपीएस छान्ने इन्टरभ्यु बोर्डको सदस्य हुन सक्छन् ।

हाम्रा साथीहरू ती पर्खाल भत्काउँदैछन्, पत्रकारिता, चिकित्सा क्षेत्र, खेलकुद, साहित्य, संगीत र व्यापार, वाणिज्य, उद्योग क्षेत्रबाट । हाम्रा अगाडि रहेका पर्खालहरू एक–एक गरी भत्काएपछि मात्रै हामी छुट्टै राज्यको सुन्दर दृश्य देख्न सक्छौँ । त्रिशला र सुलक्षणाले पर्खाल भत्काएर एउटा नयाँ बाटो निकालेका छन्, अर्को मूल फुटाएका छन् र एउटा नयाँ भविष्यको सपना देखाएका छन् । हाम्रा घर–घरमा छन् त्रिशला र सुलक्षणाहरू ।

अब मात्र बाँकी छ त्रिशला र सुलक्षणाहरूलाई बाहिर निकालेर पर्खाल भत्काउने सेनामा कसरी सामेल गर्ने ? एउटा ठूलो सामाजिक, राजनीतिक र नैतिक चुनौती हो हामी सबैलाई । बंगाली, बिहारी, तामिल, मराठी, गुजरातीहरू यी पर्खालहरू भत्काएर धेरै अघि बढिसके । उनीहरू अहिलेको स्थितिमा पुगिसके । नयाँ यात्राका निम्ति त्रिशला र सुलक्षणा हाम्रो निम्ति प्रतीक हुन् । यस्तै प्रतीकहरूलाई सबै क्षेत्रमा जन्माएर एउटा छुट्टै हाम्रै राज्य निर्माण गर्ने सपना पूरा गर्नु छ । यी दुई चेलीहरूलाई भारतवासीकै अशेष शुभकामना एवं न्यानो अभिवादन !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.