पुष्पलालको ३८ औं स्मृति दिवस मनाइँदै
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
वैचारिक नेता पुष्पलालको नेतृत्वमा २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेपालको इतिहासलाई ऐतिहासिक–भौतिकवादी दृष्टिकोणले अध्ययन–अन्वेषण गर्न उनको योगदान रहेको छ ।
विसं १९८१ मा रामेछापको भङ्गेरीमा उनको जन्म भएको थियो । दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा श्रद्धाञ्जलि, पुस्तक विमोचन र प्रवचन कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेता सहभागी हुनुहुनेछ ।
नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवम् राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेता पुष्पलालका योगदान अविस्मरणीय रहेको एमालेले जनाएको छ ।
विसं २००५ मा विश्व प्रसिद्ध कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवादमार्फत नेपालमा माक्र्सवादी विचारधाराको विधिवत् आरम्भ गर्नुभएका पुष्पलालले आफ्ना सहयोद्धासँग मिलेर विसं २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । रासस