राजीनामा नमाग्ने, अविश्वासको प्रस्ताव नै अघि बढाउन कांग्रेस, माओवादी र मोर्चाबीच सहमति
काठमाडौँः नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको संयुक्त बैठकले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव अगाडि बढाउने निर्णय गरेको छ ।
संसदमा पेश भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने प्रष्ट पार्दै तीन दलले आजको संसद बैठकमा अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेका हुन् ।
बैठकपछि अन्नपूर्णसँग कुरा गर्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले भने, ‘ओली सरकार गिराउन हामी जस्तोसुकै सहयोग गर्न तयार छौँ ।’
झाले मोर्चाले प्रधानमन्त्ती केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन बिनासर्त अविश्वासको प्रस्तावको पक्षमा समर्थन गर्ने बताए । झाले भने, ‘ओली सरकार गिराउन हामी बिनासर्त तयार छौँ ।’
तीन दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, बिमलेन्द्र निधीलगायत नेता सहभागी थिए भने माओवादीको तर्फबाट केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठलगायत नेता सहभागी थिए भने मधेसी मोर्चाको तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेताहरु हृदयस त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, अनिल झालगायत नेता सहभागी थिए ।