संसद्भित्रै अर्थमन्त्री र सभामुखको सवालजवाफ
काठमाडौँः सभामुख ओनसरी घर्तीमगर र अर्थमन्त्री विष्णु पौडेलकाबीच संसद्को बैठकमै सवालजवाफ भएको छ।
आर्थिक विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा सभामुखको भूमिकाप्रति अर्थमन्त्री पौडेलले प्रश्न उठाउँदै टिप्पणी गर्न थालेपछि सभामुखले अर्थमन्त्रीलाई सभामुखका कामभन्दा पनि आफ्ना कुरा राख्न आग्रह गरिन् ।
अर्थमन्त्री पौडेलले बोल्दा बोल्दै सभामुखले भनिन्,‘मेरो भूमिकामा होइन प्रश्नको जवाफ दिनुहोस्।’ सभामुखले यत्ति बोल्नासाथ अर्थमन्त्री पौडेलले भने, ‘तपाईंकै निर्देशन अनुसार म प्रश्नको जवाफ दिइराखेको छु ।’
आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले सभामुख, माओवादी र मधेसी मोर्चामाथि व्यंग्य समेत गरेका छन् ।
माओवादी नेता कृष्णबहादुर महराले माओवादीले सरकारको समर्थन फिर्ता लिएकाले आर्थिक विधेयकमा समर्थन गर्न नसक्ने बताएपछि अर्थमन्त्री पौडेलले भने पहिलो स्वीकार्य भएको विधेयक अहिले अस्वीकृत हुदा आफू आश्चर्यमा परेको बताए । महराले अर्थमन्त्री पौडेलले पेस गरेको बजेट एकाधिकार र पूँजीवादको खचिडी भएको समेत टिप्पणी गरेका छन् ।
अर्थमन्त्री पौडेलले मधेसीमोर्चाप्रति समेत व्यंग्य गरे । उनले संसदमा खाली कुर्सी नभएको भन्दै आफूलाई खुशी बनाएको व्यांग्यात्मक शैलीमा उल्लेख गरे ।
पौडेलले आज संसदमा देखिएका दृश्यले नयाँ संविधानलाई लिएर आज नेपाली समाज विभाजित छ भन्नु गलत भएको समेत बताए । मोर्चाले संविधान जारी भएपछि अस्वीकार गर्दै आएको संसदमा आज सहभागी भएकोप्रति पौडेलले व्यंग्य कसे ।
पौडेलले सभामुखले आर्थिक विधेयक असार २९ गते किन संसदमा पेश हुन सकेन भन्दै प्रश्न समेत गरेका छन् । यही क्रममा समामुखसँग अर्थमन्त्री पौडेलको जवाल जवाफ भएको थियो ।