ओलीमाथि प्रचण्डको कडा प्रहार : राजतन्त्रवादीसँग लगनगाँठो कसेको आरोप
काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविश्वास प्रस्ताव पेस गर्नेमा प्रधानमन्त्री केपी ओलीमाथि कडा प्रहार गरेका छन्।
प्रचण्डले सहमति एवं समझदारीलाई तोडेर एमालेले धोखा दिएको आक्रोश मात्रै पोखेनन् , उनले घुमाउरो रुपमा ओली परिवर्तनविरोधी भएको आरोप लगाए।उनले ओली गणतन्त्र विरोधी भएको र राजतन्त्र मन पराउनेहरुसँग लगनगाँठो जोडेको आरोप पनि लगाए।
'संघीयता मन परेको छैन, मैलै वाध्य भएर स्वीकारेको हो भनेर ओलीजीले पटकपटक क्याबिनेट र अन्य बैठकमा भनिसक्नु भएको छ। उहाँको भाव र मनोविज्ञान बुझ्दा कताकता उहाँलाई गणतन्त्र पनि मन नपरेको जस्तो लाग्छ। अनि राजतन्त्र चाहनेसँग उहाँको लगनगाँठो राम्रैसँग कसिएको छ। अनि परिवर्तनको अर्को एजेन्डा समावेशी सहभागिता पनि उहालाई बेकारजस्तो लागेको छ।'
प्रचण्डले ओलीलाई राजतन्त्रवादी भएको आरोप लगाइरहँदा नजिकै रहेका कमल थापा गजबले मुस्कुराएका थिए। तर ओली भने निकै गम्भीर मुद्रामा देखिएका थिए।
प्रचण्डले ओलीको दम्भ र अहंकारले सँगै हिड्न नसकेको खुलासा गरेका छन् । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै भने, ‘प्रधानमन्त्रीले संयुक्त सरकार हो र केही प्रतिबद्धतासहितको सरकारको हो भन्ने भन्दा एकल हो भन्ने ठान्नुभयो उहाँमा अहंकार र दम्भ देखियो र सहकार्यलाई निरन्तरता दिन सकिएन ।’
यत्ति भन्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यक्तिगत मनमुटाव नभएको प्रष्ट पारे ।प्रचण्डले भने, ‘मेरो प्रधानमन्त्रीसँग व्यक्तिगत मनमुटाव छैन । लामा छलफलमा व्यक्तिगत कुराकानी भएका छैनन् । देशकै विषयमा लामा छलफल भएका छन्,’ उनले भने, ‘ओलीको सोचमा परिवर्तन आएकाले यस्तो परिस्थिति आएको छ ।’
प्रचण्डले ओलीसँग यस बीचमा अन्तर गम्भीर रहेछन् भन्ने महसुस गरेको समेत उल्लेख गरे ।प्रचण्डले ओलीले माओवादीलाई उपयोग गर्ने झर्याङ बनाउने र आफ्नो स्वार्थ सिद्ध गर्ने काम गरेको समेत आरोप लगाए ।
प्रचण्डले भने, ‘प्रधानमन्त्रीले सामुहिक सहयोगको अनुभूति छोड्दै र बिर्सदै गएको महसुस साना ठूला सबैकुराबाट भएको छ । म तिक्तता बढाउन चाहन्न ।’