विवाद मिलाएर महाधिवेशन गर्न माग गर्दै नेविसंघका नेताहरु अनसन बस्ने
काठमाडौँ : नेपाल विद्यार्थी सङ्घका नेताले विद्यमान विवाद मिलाएर ११ औैँ महाधिवेशन गराउन माग गरेका छन् ।
नेविसङ्घका नेताहरुले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो माग गरेका हुन्। नेविसङ्घका पूर्वकोषाध्यक्ष कुन्दनराज काफ्लेले भागबण्डाका आधारमा महाधिवेशन गर्दा सङ्गठन कमजोर हुने भन्दै विवाद रहेका जिल्लालाई टुङ्ग्याएर महाधिवेशन गर्न आग्रह गरे।
आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत रहेका काफ्ले विधिसम्मत महाधिवेशन गर्न नेविसङ्घ केन्द्रीय समिति र पार्टीले आफ्नो मागको सुनुवाई नभए आगामी आइतबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बस्ने बताए। उनले विवाद समस्या समाधान समिति बनेपनि अहिलेसम्म बैठक बस्न नसक्नु दुःखद् भएको धारणा राखे।
नेविसंघका नेता तथा विवाद समस्या समितिका सदस्य जीत शेरचनले जिल्लामा देखिएको विवाद छिटो समाधान गर्नुपर्ने बताए। आगामी महाधिवेशनमा महामन्त्रीको प्रत्यासीसमेत रहेका शेरचनले ११ जिल्लामा दुईवटा अध्यक्ष भएको वर्तमान समयमा नेविसङ्घको महाधिवेशन हुन नसक्ने स्पष्ट पारे ।
नेविसङ्घका पूर्व केन्द्रीय सदस्य बलदेव तिमल्सेनाले भने“विधि र प्रक्रियामा टेक्नुभन्दा खल्तीबाट झिकेर नेविसङ्घको महाधिवेशन प्रतिनिधि बनाइएको छ यो राम्रो कुरा होइन। ।” नेविसङ्घ पूर्व केन्द्रीय सदस्य नेता कृष्णकुमारी बस्नेत, युवराज पाण्डे, गणेश सापकोटालगायतले पनि विवाद टुंग्याएर महाधिवेशन गर्नुपर्नेमा जोड दिए।