पुनरुद्धार कोषलाई स्थायी बनाउने तयारी

पुनरुद्धार कोषलाई स्थायी बनाउने तयारी

काठमाडौं: अर्थ मन्त्रालयले कार्यान्वयनमा नआएको पुनरुद्धार कोषलाई स्थायी कोष बनाउने तयारी गरेको छ । सरकारले भूकम्प तथा भारतीय नाकाबन्दीपछि अर्थतन्त्र उकास्नका लागि पुनरुद्धार कोषलाई स्थायी कोष बनाउने बनाउने घोषणा गरेको थियो । उद्योगी व्यवसायीलाई राहत दिन गठन गरिएको कोष समयमा कार्यान्वयन नभएपछि दीर्घकालीन काम गर्नेगरी कोष बनाउने तयारी सरकारको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आफ्नो कार्यकालको एउटा उपलब्धिका रूपमा पुनरुद्धार कोष घोषणालाई लिएका छन् । अर्थमन्त्री पौडेलले भविष्यमा पनि विपत्तिजन्य समस्या आउन सक्ने भएकाले पुनरुद्धार कोषलाई स्थायी कोष बनाउन लागिएको जानकारी दिए । ‘सरकारले पुनरुद्धार कोषका लागि पाँच अर्ब निकासा गरिसकेको छ । कोष अब कार्यान्वयनको चरणमा जानेछ,' उनले भने ।

सरकार, बैंक तथा वित्तीय संस्था तथा दातृ निकायबाट रकम राखेर एक खर्ब रुपैयाँको पुनरुद्धार कोष बनाउने घोषणा अर्थ मन्त्रालयले गरेको थियो । तर कोष घोषणा भएको ६ महिनासम्म पनि कार्यान्वयनमा नआउँदा लाभ पाउने भनेका व्यवसायी भने निराश छन् । ‘सरकारले राहत दिन एक खर्बको कोष घोषणा गर्‌यो तर कार्यान्वयन गर्न सकेन । कोष पनि सरकारकै अरू कार्यक्रमजस्तै घोषणा हुने र कार्यान्वयन नहुने कार्यक्रमजस्तो भयो', नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रका व्यवसायीलाई राखेर अर्थतन्त्र उकास्न एक खर्बको कोष घोषणा गर्दा सरकारका अरू कार्यक्रमजस्तो नहोस् भन्ने सुझाव दिएको सम्झँदै शर्माले भने, ‘मन्त्रीज्यूले जसरी पनि कार्यान्वयन हुन्छ भन्नुभएको थियो । तर नयाँ सरकार बन्ने अवस्था आए पनि कोष कार्यान्वयनमा आएन ।'

 

कोषको सञ्चालन राष्ट्रबैंकमार्फत गर्ने कुरा यसको कार्यविधिमा लेखिएको थियो । राष्ट्रबैंकका डेपुटी गभर्नर संयोजक रहेको समितिमार्फत कोष सञ्चालन गर्ने भनिए पनि सुरुमा डेपुटी गभर्नर नहुँदा कोष कार्यान्वयनमा आएन । त्यसपछि सरकारले कोषमा लगानी गर्नुपर्ने पैसा लगानी नगरेका कारण कोष कार्यान्वयनमा आएन । अहिले सरकारले पैसा निकासा गरेको छ भने बैंकहरूले पनि ३० अर्ब रुपैयाँ कोषमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘समयमा कोष सञ्चालन नभएका कारण यसबाट व्यवसायीले फाइदा उठाउने सम्भावना धेरै कम छ । सरकारले स्थायी संयन्त्र बनाएर उत्पादनशील मानिएका उद्योग तथा सेवा क्षेत्रलाई प्रवद्र्धन गर्दा राम्रो हुन्छ', राष्ट्रबैंकका एक अधिकारीले भने ।

उद्योगी व्यवसायीलाई राहत दिन गठन गरिएको कोष समयमा कार्यान्वयन नभएपछि दीर्घकालीन काम गर्ने गरी कोष बनाउने तयारी सरकारको छ ।

उद्योग परिसंघका शर्माले भूकम्प र नाकाबन्दीपछि अर्थतन्त्र उकास्न गठन गर्ने भनिएको कोषको रकमलाई दीर्घकालीन रूपमा उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्न प्रयोग गरेमा राम्रो हुने बताए । उनले भने, ‘यसले औद्योगिक क्षेत्रलाई सहयोग गरेको सन्देश पनि जानेछ ।' उनले कोषको कार्यविधि परिवर्तन गर्न सरकारलाई सुझाव पनि दिए ।

कोषले बनाएको कार्यविधिले भूकम्प तथा नाकाबन्दीबाट समस्यामा परेका मदिरा तथा सुर्तीजन्य उद्योगबाहेक अन्य उद्योगी तथा व्यवसायीलाई साढे ५ प्रतिशत ब्याजदरमा ऋण दिने तथा केही ब्याज मिनाहा गर्ने प्रस्ताव पनि थियो । ‘समयमा कोष कार्यान्वयन भएको भए व्यवसायीलाई राहत हुन सक्ने थियो । अब कोष कार्यान्वयनमा आए पनि सरकार निकट भएका व्यवसायीले मात्र फाइदा लिन सक्छन्,' एक व्यवसायीले भने ।

राष्ट्रबैंकका एक अधिकारीले भने एक खर्बको कोष घोषणा भए पनि सरकारले पाँच अर्बमात्र निकासा गरेकाले पूर्ण रूपमा कोष कार्यान्वयनका लागि रकम अभाव हुने बताए । ‘३५ अर्बको स्रोत जुटे पनि बाँकी रकमको स्रोत अहिले पनि जुटेको छैन । कसरी कार्यान्वयन गर्ने भन्नेमा केही कठिनाइ भने छ', ती अधिकारीले भने, ‘यद्यपि सरकारले दीर्घकालीन तरिकाले चलाउने भने पनि अर्को मोडालिटी बनाउनुपर्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.