एक सय ६१ चालकको लाइसेन्स निलम्बनमा

एक सय ६१ चालकको लाइसेन्स निलम्बनमा

काठमाडौं: मादक पदार्थ सेवन (मापसे) गरी सवारी हाँकेर ट्राफिक प्रहरीको कारबाहीमा परेका बालाजुका रामहरि (नाम परिवर्तन) शुक्रबार जरिबाना तिर्न महानगरीय ट्राफिक प्रहरी महाशाखामा पुगे । ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सोधे, ‘तपाईं त योसहित ६ पटक कारबाहीमा परिसक्नुभएछ, अझै कति पिउनुहुन्छ ? '

लाजले भुतुक्क हुँदै रामहरिले भने, ‘ट्राफिकले लाइसेन्स समातेपछि जरिबाना तिर्न आउँदा र कक्षा लिँदा अब त पिउँदिन भन्ने लाग्छ तर आफूलाई थाम्नै सक्दिन ।' ६ पटक कारबाहीमा परेकाले लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाउने जानकारी दिएर ट्राफिकले रामहरिलाई विभागमा सम्पर्क राख्न सुझाएर पठाए ।

रामहरि एउटा प्रतिनिधि पात्र हुन् । महाशाखाका अनुसार ६ पटकसम्म मापसे कारबाहीमा पर्नेको सवारीचालक संख्या एक सय ६१ वटा छ । उपत्यकामा ट्राफिक प्रहरीको चेकिङमा बागमती, नारायणी, कोसी, धवलागिरी, गण्डकी, राप्ती, जनकपुर र लुम्बिनी गरी आठवटा अञ्चलबाट लाइसेन्स लिएर सवारी हाँकेका चालक छन् ।

यी अञ्चलमध्ये सबैभन्दा बढी बागमतीबाट लाइसेन्स लिएर सवारी हाँकेका चालक कारबाहीमा परेका छन् । बागमतीबाट लाइसेन्स लिएका एक सय ४९ जना चालक मापसे कारबाहीमा ६ पटक परिसकेको महाशाखाले जनाएको छ । त्यसैगरी गण्डकीका तीन, धवलागिरीका दुई, कोसीका दुई, जनकपुरका दुई, नारायणी, राप्ती र लुम्बिनीबाट लाइसेन्स लिएका एकएकजना मापसे कारबाहीमा परेका छन् ।

महाशाखाले यी सबै लाइसेन्स निलम्बनका लागि विभागमा पठाएको छ । सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार ६ महिनासम्म चालकको लाइसेन्स निलम्बन गर्न पाउने व्यवस्था छ ।

‘ट्राफिकले मापसे गरेका चालकलाई कक्षा लिँदा खाने मुखलाई जुँगाले छेक्दैन भन्नेसम्मको जबाफ पाइयो, कक्षा लिएर जाने क्रममा कहिल्यै मापसे गरेर सवारी हाँक्दिन भन्नेहरू पटकपटक पक्राउ पर्दा फेरि पनि पिउँदिन भन्न भने छाड्दैनन्', महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्यालले भने, ‘एउटै चालक पटकपटक पक्राउ परेपछि ट्राफिक नियम ट्राफिकका लागि मात्रै मानिदिएको हो कि जस्तो पो लाग्न थाल्यो ।'

महाशाखाले सरकारका सचिवदेखि सभासद्सम्मलाई मापसे कारबाही गरिसकेको छ । महाशाखाका एक अधिकृतले भने, ‘प्रायः सबै पेसामा आबद्ध व्यक्तिहरू मापसे कारबाहीमा परेका छन् । सेना, प्रहरी, चिकित्सक, निजामती कर्मचारी, पत्रकारसमेत पर्छन् ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.