कृषि क्याम्पसमा दलका नेताहरूको स्मारक

कृषि क्याम्पसमा दलका नेताहरूको स्मारक

चितवनको रामपुरस्थित कृषि क्याम्पस अर्थात् त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान (आईएएस) बारेमा धेरै परिचित छन् । यही क्याम्पसमा ६ वर्षअघि कृषि तथा वन विश्वविद्यालय (एएफयू) स्थापना भए पनि झन्डै ६० वर्षदेखिको कृषि शिक्षाको विरासत यसले बोकेको छ । तसर्थ कृषि शिक्षाका लागि नेपालको ‘मक्का' हो यो ।

मैले पनि कृषि स्नातक रामपुरबाटै गरेँ, ३५ वर्षअघि नै । यसका सुरुका विकास र वर्तमान स्वरूपबारे पनि परिचित छु । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट सेवानिवृत्त भएपछि गत डेढ वर्षयता एएफयूमा आंशिक रूपमा प्राध्यापन गर्दै आइरहेको छु । यो मेरो सौभाग्य हो, जहाँबाट दीक्षित भएँ र जोडिन पनि पुगेँ ।

एएफयूको ‘कृषि संकाय' प्रवेश गर्ने मूल ढोका (म पढ्ने बेलामा केही मिटर पर छुट्टै थियो, जुन अहिले प्रयोगमा छैन) बाट पस्नेबित्तिकै दाहिनेपट्टि १५ मिटरजति पर ‘मिमुरा स्मृति पार्क' को साइनबोर्ड देखिन्छ । त्यो देख्दा लाग्यो, कृषि शिक्षामा योगदान गरेका कुनै ‘मिमुरा' नामक व्यक्तिविशेषको सम्झनामा बनेको पार्क रहेछ । नजिकै गएर हेरेँ । मूल ढोकाबाट सीधै अघि बढेर डिनको कार्यालय नाघेपछि दक्षिणतर्फको चउरको दायाँ पाटोमा ‘पुष्पलाल स्मृति पार्क' लेखिएको फ्लेक्स गाडेको छ । सबै पाटोलाई पार्क मान्ने हो भने करिब डेढ रोपनी जग्गा ओगट्छ तर पार्क बनिसकेको छैन ।

त्यसलाई बायाँ पारेर पश्चिमतिर लाग्दा केही मिटर पर पुरानो मुख्य भवनको अघिल्तिर दक्षिणतर्फ चारैतिर पर्खालले घेरिएको ‘सहिद मित्रमणि स्मारक पार्क' छ । करिब आधा रोपनी जग्गामा बनेको उक्त पार्कको बीचमा आचार्यको आधा कदको सालिक छ । अनेरास्ववियु (छैटौं) द्वारा निर्मित उक्त सालिक चित्रबहादुर केसीले २०६७ साल माघ १६ गते अनावरण गरेका रहेछन् । सालिक जोकोहीलाई आकर्षक लाग्छ । नेपाली पढ्न नजान्ने र नयाँ आगन्तुक जोकोहीलाई टाढैबाट देख्दा लाग्छ, यो क्याम्पस संस्थापकको सालिक हो ।

त्यसलाई बायाँ पारेर पश्चिमतिर अघि बढ्दा ठीक सामुन्ने ‘रक्तिम स्तम्भ' सहितको सहिद रामबहादुर खड्का (क. रक्तिम) स्मृति वाटिका छ । स्तम्भमा एनेकपा माओवादी जिन्दावाद लेखिएको छ । खड्का २०६१ साल वैशाख ३१ गते चितवनको वीरेन्द्रनगर–१, पाख्रिवासमा सहादत भएका थिए । अलि अगाडि बायाँ मोडेर दायाँतर्फ आधा रोपनीभन्दा अलि बढी जग्गामा ‘स्व. बलराम शर्मा पाठक स्मृति पार्क' छ ।

पार्कलाई भाटाले हल्का घेरेको छ । २०६० साल असार ३० गते जीवन गुमाएका पाठकको स्मृति पार्कको पुनस्र्थापना २०६६ साल जेठ ११ गते नेपाल विद्यार्थी संघले गरेको हो । यसमा ‘स्वर्गारोहण' शब्द प्रयोग गरिएको छ । अरूमा ‘सहादत प्राप्त' भनिएको छ, तर मिति उल्लेख छैन ।

त्यसपछि दक्षिणतिर स्टाफ क्वाटर लाग्ने र पश्चिमतिर विद्यार्थीको होस्टेल लाग्ने बाटा छन् । स्टाफ क्वाटरतिर लाग्ने बाटोकोे ठीक बायाँपट्टि पुरानो मुख्य भवनको पश्चिम मोहडा पर्छ । त्यसैको कुनामा ‘मित्रमणि पुस्तकालय' लेखिएको खुइलिइसकेको पुरानो साइनबोर्ड छ । पुस्तकालयमा म पुगेको छैन । त्यस कुनालाई बायाँ पारी अगाडि बढ्दा करिब ७०÷७५ मिटर पर दायाँपट्टि बगैंचामा ‘सहिद मित्रमणि आचार्य स्मृतिपार्क' छ ।

यसले पनि कम्तीमा आधा रोपनी जग्गा ओगटेको हुनुपर्छ । पार्क झाडीले छोपिएको छ । यो मित्रमणिको अर्को पार्क हो । यसअघि उल्लेख गरेको मित्रमणि स्मारक अनेरास्ववियु (छैटौं) ले बनाएको थियो भने योचाहिँ अनेरास्ववियु (क्रान्तिकारी) ले निर्माण गरेको हो ।

होस्टल जाने बाटोको बायाँपट्टि अडिटोरियम नाघेपछि रूख र झाडी भएको खुला ठाउँ छ । त्यहाँ मदन–आश्रित स्मृति कुञ्ज लेखिएको साइनबोर्ड छ, त्यसमा अनेरास्ववियु (प्रा.क.) उल्लेख छ । जग्गालाई भाटाले घेरेको छ र घेरिएको क्षेत्रफल डेढ रोपनीभन्दा कम छैन । मैले सर्सर्ती देखेका यति नै हुन् ।

पछिल्लोपटक म रामपुर जाँदा देखेको मिमुराचाहिँ को रहेछन् भनेर नजिकबाट हेरेँ । झाडी भएकाले नजिकै जान सकिनँ । क्यामेराले जुम गरी खिचेर हेर्दा ‘मिमुरा' को मि– क. मित्रमणि आचार्य, मु– क. मुकुन्द न्यौपाने र रा– क. रामबहादुर खड्का रहेछन् । यसरी मित्रमणिको योबाहेक पुस्तकालयसहित तीन ठाउँमा स्मारक छ भने रामबहादुरको अर्को एक ठाउँमा छ र मुकुन्द न्यौपानेको चाहिँ देखिनँ । न्यौपाने २०६१ साल जेठ २६ गते चितवनको शिवनगर (प्रेमबस्ती) मा सहादत भएका हुन् ।

कुरा हो, विद्यार्थीहरूको स्मारक त्यहाँ किन रह्यो ? जवाफ सीधा छ, ती विद्यार्थी त्यहीँ अध्ययनरत थिए । अर्को कुरा, एउटै विद्यार्थीको एकभन्दा बढी ठाउँमा स्मारक किन ? स्मारक बनाउनेहरू फरक–फरक दल वा समूहका रहेछन् । सबैलाई आआफ्नो अस्तित्व देखाउनै पर्‌यो । कुरा रह्यो, दलका नेताहरूको स्मारक विश्वविद्यालयभित्र किन ? ती नेताहरू कुनै बेला त्यहाँका विद्यार्थी, प्राध्यापक वा कर्मचारी थिए कि ?

मलाई जानकारी भएसम्म ती विश्वविद्यालय सम्बन्धित होइनन् । मुलुकको लागि रगत बगाएका थुप्रै वीर र राष्ट्रिय विभूतिहरू छन् । अहिलेको तरल र संक्रमित राजनीति हेर्दा भोलि अरू पनि सहिद थपिन सक्छन् । तिनका लागि पनि ठाउँ चाहिएला ।

 

कुनै पनि विद्यालय वा विश्वविद्यालय भनेको ‘ज्ञानको पुञ्ज' हो । जस्तोसुकै कमजोर र लथालिंग अवस्थामा किन नहोस्, त्यहाँ ‘सिक्ने र सिकाउने' नै काम हुन्छ । अब विषयवस्तुमा सीधै प्रवेश गर्दा सामान्यतया विश्वविद्यालय परिसरमा सम्बन्धित खासखास क्षेत्रमा योगदान पुर्‌याएका व्यक्तित्वहरूको सालिक/स्तम्भ राखेका हुन्छन् । त्यसले विश्वविद्यालयमा एउटा प्राज्ञिक र शालीन वातावरण सिर्जना गर्छ ।

डेनमार्कको कोपनहेगनस्थित द रोयल भेटरिनरी एन्ड एग्रिकल्चरल युनिभर्सिटी (हाल युनिभर्सिटी अफ कोपेनहेगनको ‘लाइफ साइन्स फ्याकल्टी') मा धेरै त्यस्ता व्यक्तिका सालिक छन्, जसले ज्ञान र विज्ञानको गौरवशाली इतिहास बोकेका छन् । मैले त्यही युनिभर्सिटीमा अध्ययन गरेकाले त्यसको अनुभूति ममा ताजै छ ।

अमेरिकाको बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा संस्थापक जोन हार्वर्डको आकर्षक सालिक राखिएको छ । त्यहाँ दैनिक आउने सयौं आगन्तुक हार्वर्डको सालिकसँग आफ्नो तस्बिर खिचाउन पालो कुरेर बस्छन् । उक्त सालिकनेर उभिएर तस्बिर खिच्दा हार्वर्डको योगदानको सम्मानमात्र होइन, स्वयंलाई क्षणिक भए पनि महान् व्यक्तित्वको सामीप्यता पाएको अनुभूति हुन्छ ।

विश्वविद्यालय परिसरमा राजनीतिक नेताहरूको स्मारकले विद्यार्थी र गुरुबीचको सामीप्यता होइन, विद्यार्थी र दलगत/उपदलगत नेताहरूको गठबन्धन उजागर गरेको छ । के मुलुकको शिक्षा प्रणालीले यही अभीष्ट राखेको हो ?

यो अर्थमा एएफयूको कृषि संकाय परिसरमा रहेका स्मारकहरूले कृषि शिक्षा, ज्ञान र विज्ञानको प्रतिनिधित्व गरिरहेको छैन । यसको अर्थ ती सहिद र नेताहरूको विशिष्ट योगदानलाई बेवास्ता गरेको होइन । फगत, जहाँ जसको स्मारक हुनुपथ्र्यो ती नहुँदा स्मृति नितान्त अधुरो र खल्लो लागेको हो ।

विश्वविद्यालय परिसरमा राजनीतिक नेताहरूको स्मारकले विद्यार्थी र गुरुबीचको सामीप्यता होइन, विद्यार्थी र दलगत÷उपदलगत नेताहरूको गठबन्धन उजागर गरेको छ । के मुलुकको शिक्षा प्रणालीले यही अभीष्ट राखेको हो ? आजका विद्यार्थी भोलि मुलुक हाँक्ने नेतृत्वका स्रोत पक्कै हुन् । कुनै पनि विश्वविद्यालयका लागि आफ्ना विद्यार्थी भोलि मुलुकको प्रधानमन्त्री, राष्ट्रपतिलगायत उच्च ओहोदामा पुग्दा गौरवको विषय बन्छ ।

यद्यपि, कुनै पनि विश्वविद्यालयको उद्देश्य विज्ञ/विद् उत्पादन गर्ने हो, राजनीतिक दलका नेता उत्पादन गर्ने होइन । राजनीतिशास्त्र पढाउने विभागले पनि नेता होइन, राजनीतिज्ञ उत्पादन गर्छ ।

मुलुकमा कृषि शिक्षालाई आजको अवस्थामा ल्याउन खास योगदान गर्नेहरूमध्येका केही मुख्य हस्ती यो संसारबाट बिदा भइसकेका छन् । तिनलाई कसले सम्झने ? त्यसैले अब कृषि शिक्षाको विकासका लागि लागिपरेकाहरूको सम्झना गर्ने काम विश्वविद्यालयको हो । झन्डै ६० वर्षको कृषि शिक्षाको यात्रामा कसको के–कस्तो योगदान रह्यो, खोजी हुनुपर्‌यो ।

किटेरैभन्दा, कृषि शिक्षाकै लागि तत्कालीन पञ्चायत प्रशिक्षण केन्द्रको जग्गा र भवनहरू उपलब्ध भएको हो । एउटा स्तम्भ त्यसैको हुनसक्छ । यसको अर्थ पञ्चायतको भक्ति गाउनु होइन । इतिहास हो, पछिसम्म स्मरणीय रहन्छ । नेपालको कृषि शिक्षामा भौतिक संरचना निर्माण, जनशक्ति उत्पादनदेखि लिएर पाठ्यक्रम विकाससम्म अमेरिकी सहयोग नियोग (यूएसएड) को ठूलो भूमिका छ । अर्को स्तम्भ त्यसको हुनसक्छ । यसको अर्थ कुनै एक मुलुकको भक्त वा पक्षपाती बन्नु होइन ।

सहयोग र योगदानको कदर हो, पछिसम्म स्मरणीय रहन्छ । कृषि शिक्षामा डा. कमलाभक्त राजभण्डारीको ठूलो योगदान छ र स्व. राजभण्डारी कृषि र पशु विज्ञान अध्ययन संस्थानको पहिलो डिन पनि हुन् । उनको स्मृतिमा स्मारक बन्नुपर्छ । नेत्रबहादुर बस्नेत (दोस्रो डिन) र केही महिनाअघि मात्र बित्नुभएका प्रा.डा. फणीन्द्रप्रसाद न्यौपानेको सेवा र योगदान पनि उल्लेख्य छ । यी त झ्वाट्ट सम्झिँदा आएका केही नाममात्र हुन् । अरू धेरै होलान् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.