नेपाल–भारत सांस्कृतिक अन्तरसम्बन्ध
नेपाल र भारत आआफ्नै राष्ट्र, राष्ट्रियता एवं सार्वभौमिकताले सम्पन्न अलगअलग दुई स्वतन्त्र देश हुन् । नेपाल र भारतको धार्मिक–सांस्कृतिक अन्तरसम्बन्ध अति विशिष्ट खालको छ । अतीत कालदेखि नै प्राचीन भारतवर्षमा विकसित धर्म, दर्शन, भाषा, साहित्य, सभ्यता, संस्कृति, कला, वास्तुकला आदि मूर्त–अमूर्त सांस्कृतिक सम्पदाले नेपाल र भारतको धार्मिक–सांस्कृतिक अन्तरसम्बन्धलाई सुमधुर र विशिष्ट बनाएको छ । एसिया महाद्वीपमा हिमालयदेखि समुद्रपर्यन्तको भूभाग भारतवर्ष हो । विष्णु पुराणमा भारतवर्षको सीमारेखा यसरी उल्लेख गरिएको छ –
उत्तरं यत् समुद्रस्यहिमाद्रिश्चैव दक्षिणम् ।
वर्षं तद् भारतं नाम भारती यत्र सन्ततिः ।।
(समुद्रदेखि उत्तर र हिमालय पर्वतबाट पनि दखिनको जो वर्ष (भूभाग) छ, त्यो भारतवर्ष हो, यहाँ भारती (सरस्वती) रहन्छिन्) ।
सिन्धु नदीदेखि ब्रह्मपुत्रसम्म विस्तृत हिमालयका पाँचखण्डमध्ये कामरूप (असाम) र कर्तपुर
(कुमाउ) का बीचको हिमवत्खण्ड नेपाल हो ।
यसैगरी अमरकोशमा विन्ध्याचल र हिमालयको बीचको भूभागलाई आर्यावर्तको संज्ञा दिइएको छ–
आर्यावर्तः पुण्यभूमिर्मध्यं विन्ध्यहिमालयो ।
(विन्ध्याचल र हिमालयको बीचको पुण्यभूमि आर्यावर्त हो) ।
त्यसकारण हिन्दु धर्म र आर्य संस्कृतिअनुसार कर्म गर्दा अहिले पनि नेपाली हिन्दु समाजमा भारतवर्षे भरतखण्डे आर्यावर्तान्तर्गत हिमवत्खण्डे नैपालैकदेशे इह पुण्यभूमौ भनेर संकल्प गर्ने परम्परा विद्यमान छ । आर्यावर्तमा पनि गंगा र यमुनाको बीचको अत्यन्त उर्वरभूमि अन्तरवेदी हो । हिमवत्खण्ड नेपालमा श्वेतधारा–सेतीगण्डकी र कृष्णधारा–कालीगण्डकीका बीचको पवित्र भूभाग अन्तरवेदी हो ।
सूर्योदय भएपछि विश्वको सृष्टिको क्रम शुभारम्भ हुन्छ र सूर्यास्त भएपछि प्रलयको क्रम सुरु हुन्छ । त्यसकारण सगरमाथाको टुप्पोमा घाम झुल्केपछि संसारको सृष्टि शुभारम्भ हुन्छ । संसारको सृष्टिको शुभारम्भ नेपालबाट हुन्छ ।
भारतवर्षको भूबनावट अधो त्रिकोणात्मक छ । तन्त्रशास्त्रमा अधो त्रिकोणलाई योनीको प्रतीक मानिन्छ । योनी सृष्टि एवं प्रजननको द्योतक हो । भारतवर्षको यस अधो त्रिकोणात्मक भूगोललाई तीनवटा प्रमुख शक्तिपीठहरूले अधो त्रिकोणको रूप दिएको छ, जस्तै– ईशानकोणमा असामको कामाख्यापीठ, दक्षिणमा पूर्णगिरिपीठ र वायव्यकोणमा काश्मीरको श्रीपीठ । यस त्रिकोणको बैन्धवचक्रमा केन्द्रबिन्दुका रूपमा बिन्ध्याचलको बिन्ध्यवासिनीपीठ रहेको छ । त्यसकारण अखिल भारतवर्षको केन्द्रबिन्दु बिन्ध्यवासिनीपीठ हुन् ।
नेपालको राजधानी काठमाडौं हो तापनि पूर्वपश्चिम फैलिएको नेपालको भौगोलिक केन्द्रबिन्दु भने गण्डकी अञ्चल, तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि उत्तरतर्फ स्थित स्याम्घाको पीपलटारलाई मानिएको छ । त्यसकारण भारतमा अखिल भारतवर्षका केन्द्रबिन्दुको रूपमा गंगाको तट बिन्ध्याचलपर्वतमा बिन्ध्यवासिनीपीठ रहेको छ भने नेपालमा माछापुच्छ्रे हिमालको उपत्यका र शुक्लधारा–सेतीगण्डकीले अभिसिञ्चित अन्तरवेदी पोखरामा नेपालको एक मात्र बिन्ध्यवासिनीको मन्दिर रहेको छ । भारतको विन्ध्यवासिनी र नेपालको विन्ध्यवासिनीको भौगोलिक अक्षांश पनि लगभग सँगसँगैजस्तो छ ।
नर–नारायण दुई तपस्वी हुन् । आफ्ना तपस्याका प्रभावले ती नर–नारायण देवता तुल्य भए । भारतमा बदरिका श्रम (बद्री)मा नर–नारायण नामक दुईवटा पहाड छन् । नेपालमा माछापुच्छ्रे हिमालको दुईवटा चुचुरोलाई नर–नारायणको प्रतीक मानिएको छ ।
संस्कृतका महाकवि कालीदासको कुमारसम्भव महाकाव्यका अनुसार कलियुगमा देवताहरू भारतवर्षको उत्तरमा हिमालय पर्वत स्वरूपले रहेका छन् – अस्त्युत्तरस्यां दिशि देवतात्माहिमालयो नाम नगाधिराजः ।
(भारतवर्षको उत्तर दिशामा देवतास्वरूप हिमालय नामक पर्वतराज अवस्थित छन्) ।
संसारको सबैभन्दा पवित्र हिमाल कैलाश पर्वत र पुण्यदायिनी मानसरोवर चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित छ । संसारको दोस्रो पवित्र हिमाल गौरीशंकर र पुण्यदायिनी सरोवर छोरोल्पा नेपालमा अवस्थित छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा अवस्थित छ । वैदिक विधिको उपासनामा सर्वोच्च स्थान र मान्यता प्राप्त भएको ब्रह्मगायत्री वास्तवमा सविता अर्थात् भर्गोदेव सूर्योपासना हो । अतः सूर्योदय भएपछि विश्वको सृष्टिको क्रम शुभारम्भ हुन्छ र सूर्यास्त भएपछि प्रलयको क्रम सुरु हुन्छ । त्यसकारण सगरमाथाको टुप्पोमा घाम झुल्केपछि संसारको सृष्टि शुभारम्भ हुन्छ । संसारको सृष्टिको शुभारम्भ नेपालबाट हुन्छ । यसका अतिरिक्त नेपालमा धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गणेश, कुम्भकर्ण, महालंगुर, कञ्चनजंघा आदि पवित्र हिमाल छन् ।
संसारको सुप्रसिद्ध योनीपीठ आसामको कामरूप कामाख्यापीठ हो । संसारको दोस्रो प्रसिद्ध योनीपीठ नेपालको गुह्यश्वरीपीठ हो । गुह्यश्वरीपीठको उपस्थितिले गर्दा सिंगो नेपाललाई नै एउटा शाक्तपीठका रूपमा मानिएको छ । भारतवर्षका चार प्रमुख शाक्तपीठमा नेपालपीठ पनि एउटा हो । अधो त्रिकोणमा यी चारवटा पीठको पूजा गर्दा केन्द्रमा वाराणसीपीठको पूजा हुन्छ । मोहोडापट्टिको कोणमा कामाख्यापीठ, दाहिने कोणमा नेपालपीठ र बायाँपट्टिको कोणमा पौण्ड्रवद्र्धनपीठ (बंगाल) को पूजा गर्ने विधान छ ।
नेपालका हिन्दुहरू स्नान गर्दा भारतका पवित्र नदीहरूको स्मरण गर्छन्, जस्तै—
गंगे च यमुने चैव गोदावरी सरस्वती ।
नर्वदे सिन्धु कावेरी जलेऽस्मिन् सन्निधि कुरु ।
नेपालका हिमनदीहरूले भारतको उर्वर भूमिलाई सिञ्जन गर्छ भने भारतका उर्वर भूमिले नेपालमा खाद्य आपूर्ति गर्छ । पवित्र मानसरोवरबाट बगेकी कर्णाली नदी भारतमा रामजन्मभूमि अयोध्या हुँदै सरयू नामले बग्छिन् र गंगामा मिसिन्छिन् । सप्तगण्डकी र गंगाको संगम हरिक्षेत्र नामबाट प्रसिद्ध छ । रुद्राक्षरण्य सप्तकोसीको संगमस्थल कोकातीर्थमा अवस्थित कोकामुखस्वामी र श्वेतवराहस्वामीको पूजा तथा मन्दिर व्यवस्थापनका लागि गुप्त सम्राट् बुधगुप्त (ई.४७६) को समयमा भारतको पुण्ड्रवद्र्धनभुक्ति (पूर्णियां) मा भूमि गुठी राखिएको थियो ।
भारतमा अघि सरस्वती नदी बग्दथिन्, जो अहिले लुप्त छिन् । नेपालमा भने अहिलेसम्म सरस्वती स्वरूपिणी बागमती नदी बगिरहेकी छन् र बागमती सभ्यता तथा संस्कृतिको विकास गर्दै गंगामा समाहित हुन्छिन् । नेपाल र भारत दुवैमा गोदावरीतीर्थ छन् । ती दुवै तीर्थमा सिंहस्थ मेला लाग्छ । दक्षिण भारतमा कृष्णा र कावेरीको उपत्यकामा अमरावती कलाशैलीको विकास भएको छ ।
नेपालका हिमनदीहरूले भारतको उर्वर भूमिलाई सिञ्जन गर्छ भने भारतको उर्वर भूमिले नेपालमा खाद्य आपूर्ति गर्छ । पवित्र मानसरोवरबाट बगेकी कर्णाली नदी भारतमा रामजन्मभूमि अयोध्या हुँदै सरयू नामले बग्छिन् र गंगामा मिसिन्छिन् ।
नेपालमा कालीगण्डकीको किनारामा अनेकन् वैष्णवतीर्थहरू विकसित छन् । भारतलाई चीनको रेशममार्गसँग जोड्ने सबभन्दा होचो र छोटो दूरीको बाटो नेपालको यही कालीगण्डकीको गल्छी (करिडोर) हो । नर्वदाको गर्भको वाणलिंग नर्वदेश्वरलाई भगवान् शिवको पवित्र श्रीविग्रह मानिन्छ । नेपालमा पवित्र शालिग्रामी कालीगण्डकीको गर्भमा शिवस्वरूप शिवनाभ र विष्णुस्वरूप चक्रनाभ शालिग्राम पाइन्छन् ।
विश्वका रक्षक विश्वनाथ काशीमा विराजित छन् । नेपालमा भक्तपुरको भैरवनाथ मन्दिरमा काशी विश्वनाथको शिर स्थापना गरिएको छ । नेपालका राष्ट्रदेव पशुपतिनाथ हिमवन्त प्रदेशमा विराजित केदारनाथका शिर हुन् । नेपालको पशुपतिनाथ र दक्षिण भारतको शृंगेरीमठका बीच साम्प्रदायिक अन्तरसम्बन्ध छ । शिव उपासनाका गौड, काश्मीरी र केरल गरी तीनवटा पद्धति छन् । गौडपद्धति बौद्ध, काश्मीरी पद्धति जैन र केरलपद्धति वैदिक हुन् । त्यसकारण भारतको शृंगेरीमठमा केरल अर्थात् वैदिकपद्धतिअनुसार पूजा हुन्छ र तदनुरूप नेपालको पशुपतिनाथमा केरल अर्थात् वैदिकपद्धतिअनुसार दाक्षिणात्य भट्ट ब्राह्मणबाट पूजा गर्ने विधान विद्यमान छ । शृंगेरीमठको शाक्तपीठचाहिँ प्रसिद्ध पूर्णगिरि पीठ हो ।
भारतको उज्जैनस्थित महाकालेश्वर महादेव भारतवर्षको ज्योतिषीय कालगणनाको केन्द्रबिन्दु हो । नेपालका ज्योतिषीहरू उज्जैनको महाकालेश्वर महादेवबाट देशान्तर शोधन गरेर नेपालको पञ्चांग निर्माण गर्छन् । भारतको बद्रीनाथ र नेपालको मुक्तिनाथको श्रीविग्रह एक समानको छ । दक्षिण भारतको तिरूपति बालाजी र नेपालको बालाजुको अवधारणाका बीच समानता पाइन्छ, किनभने यी दुवै भगवान् विष्णुका श्रीविग्रह हुन् । अझ नेपालको बालाजुमा ता हरिहरको समन्वय पाइन्छ ।
नौनाथ–चौरासी सिद्धहरूका चर्याले नेपाल र भारतको धार्मिक–सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । भारत, आसामको कामरूपदेशबाट ल्याइएका मत्स्येन्द्रनाथ नेपालमा राष्ट्रदेवका रूपमा विराजित छन् । काश्मीरबाट आएका चन्दननाथ जुम्लामा विराजित छन् । यी नाथहरूले कृषिप्रणालीमा नयाँ प्रविधिको विकास गरेर नेपाललाई शस्यशालिनी बनाएका थिए । भारतीय विद्वान्हरू र तिनका तिब्बती शिष्यहरूले भारतीय गूढविद्याको आधारमा तिब्बती लामा बौद्धधर्मको विकास गरेका थिए । यस कार्यमा नेपालले एउटा सम्प्रेषणभूमिको भूमिका खेलेको थियो ।
नेपाली हिन्दुहरू आफ्ना पितृहरूको मुक्तिका लागि भारतको गया, काशी तथा बदरिका श्रम (बद्री) को ब्रह्मकपाली श्राद्ध र पुण्य आर्जनका लागि भारतका पवित्र चारधामको तीर्थयात्रा अनिवार्य ठान्छन् । भारतका हिन्दूहरू नेपालका पशुपतिनाथ र मुक्तिनाथको दर्शन एवं मुक्तिक्षेत्रका शालिग्रामी दामोदरकुण्डको स्थानलाई आफ्नो जीवनको सफलता मान्दछन् । बौद्धहरू नेपालको लुम्बिनी, भारतको बुद्धगया, सारनाथ र कुशीनगरलाई आफ्नो चारधाम मान्दछन् । यसले पनि नेपाल र भारतको धार्मिक–सांस्कृतिक अन्तरसम्बन्धलाई सुमधुर बनाएको छ ।
दक्षिण भारतको रामेश्वरम्मा पाइने शंख नेपालको हिमाली क्षेत्रका गुम्बाहरूमा बजाइन्छ । यसैगरी भारतका मठमन्दिरहरूमा पूजित देवीदेवताका ललाटपटमा नेपालको हिमाली क्षेत्रका सुगन्धित कस्तुरीको तिलक लगाएर आरतीको अवसरमा नेपालको सेतो चमर डोलाइन्छ । नेपाल पार्वतीले रचना गरेको शिवको देश र सीता एवं बुद्धको जन्मभूमि हो ।
भारतका योगीहरू नेपालको हिमाली कन्दरामा आएर तपस्या गर्थे र आफूले पाएको ज्ञानलाई भारतमा गएर प्रचारप्रसार गर्थे । नेपालकी चेली वैदेही सीतालाई अयोध्याका मर्यादा पुरुषोत्तम श्रीरामले विवाह गरेका थिए । भगवती सीताले आफ्नो आदर्श चरित्रबाट भगवान् श्रीरामलाई मर्यादा पुरुषोत्तम बनाएका थिए । मर्यादा पुरुषोत्तम सीतारामको मर्यादा र आदर्श यसप्रकार छ—
अपि स्वर्णमयी लड्ढा न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।
नेपालको लुम्बिनीमा जन्मेका भगवान् शाक्यमुनि बुद्धले भारतको बुद्धगयामा बोधिज्ञान प्राप्त गरी विश्वमा शान्तिको सन्देश फैलाएका थिए । वर्तमानमा काठमाडौं र काशी (वनारस), जनकपुर र अयोध्या तथा लुम्बिनी र बुद्धगयाका बीच भगिनी नगरको सम्बन्ध स्थापित गरिएको छ । नेपाल र भारतको धार्मिक–सांस्कृतिक अन्तरसम्बन्धका मुख्य मर्म एवं संवेदनशीलताहरू यिनै हुन् । अतः नेपाल र भारतका यिनै धार्मिक–सांस्कृतिक अन्तरसम्बन्धका मर्म एवं संवेदनशीलताहरूलाई अक्षुण्ण राखेर यी दुई देशबीचको अन्तरसम्बन्धलाई सधैं प्रगाढ राखिराख्नु आज हामीहरूको परम कर्तव्य र प्रमुख दायित्व हो ।