एटीएम बुथ

एटीएम बुथ

क्रिस्तोफ किस्लोभ्स्की । अब्बास किरोस्तामी । इङ्मर वर्गम्यान । किम कि–दुक । अलेजान्द्रो इनारितु गोन्जालेज । झाङ यिमाउ । फेडरिको फेलिनी । यिनै सात फिल्म मेकर थिए, जसलाई ऊ प्रेमपूर्वक सिनेमाका सप्तऋषि भन्थ्यो ।

पेन्टर तथा पोयट्रीका सप्तऋषिहरूबारे चाहिँ फुर्सदमा चर्चा गरूँला ।

जुन कथाको म यहाँ चर्चा गर्न जाँदैछु— मलाई लाग्छ, त्यसको अलिकति पृष्ठभूमि कोरियोस् अथवा भनौं, केही भूमिका केरकार गरियोस् ।

कालगणनाअनुसार –जहाँसम्म मलाई याद छ– त्यो २०७३ सालको फेब्रुअरी महिना थियो । कुनै पूर्वसंकेत या जानकारीबिना नै ऊ मेरो गुफामा आएको थियो । घाम छिर्ने हुँदा गुफा न्यानो थियो । हड्डीहरू खिइनसकेको तथा केही हिउँद ज्यानले अझै भरथेग गर्ने सम्भावना भएकैले मैले गुफामा हिटर या एसी जडान गरिहालेको थिइनँ ।

मेरो मन आल्हादित तथा न्यानो भएकोले हुनुपर्छ, गुफा पनि प्राकृतिक रूपले वातानुकूलित थियो, न्यानो थियो । मैले उसलाई न्यानो स्वागत गरेँ ।

उसले भन्योः
–तपाईं किन नांगै बस्नुभएको ?
अतिथिले त्यस्तो भनेपछि मात्र मलाई आफ्नो नग्नताको आभास भयो तर वस्त्र लगाइहाल्नुपर्ने आवश्यकता देखिनँ तसर्थ लगाउने कष्ट पनि गरिनँ । खासमा म केही समयदेखि –स्पिरिचुअल न्युडिटी– थिममा केही सर्ट फिक्सन लेखिरहेको थिएँ ।

तपाईं तिनलाई फकिर–फिक्सन पनि भन्न सक्नुहुन्छ, आफ्नो सुविधाअनुरूप । छोटो । एक पाने, दुई पाने या बढीमा तीन पाने साइज/हैसियतको ।

मुडसित तादात्म्य÷हार्मोनी राख्नको निम्ति अनि प्लट–मन्थनको निम्ति पनि म गुफामा नग्न बस्ने गर्थें । त्यस दिन म एउटा यस्तो भिक्षुबारे प्लट–मन्थन गर्दै थिएँ, जसको दिमागमा एउटी नग्न नगरवधूले आत्महत्या गरेकी थिई । आत्महत्याभन्दा बढी नगरवधूको नग्न शरीरले भिक्षु मर्माहत, विचलित तथा विक्षिप्त हुँदै गइरहेको थियो । यस्तो बेला ऊ गुफामा आइपुगेको थियो ।

सोफामा बस्दै अतिथिले भन्योः
–म नवागन्तुक फिल्म मेकर हुँ ।

द्याट्स गुड, आई लभ नवागन्तुक्स भनेँ । आई लभ फिल्म मेकर्स भनेँ, ‘जसरी म पेन्टर्र्स, स्कल्पटर्स, कम्पोजर्स, ड्रिमर्स मन पराउँछु, त्यसैगरी फिल्म मेकर्स मन पराउँछु । भन्नुस्, तपाईं मलाई खोज्दै किन आउनुभयो ? '
–म एउटा फिल्म बनाउन चाहन्छु । –उसले भन्यो ।
–बनाउनुस् । –मैले भनेँ ।

उसले आफ्नो ब्याग खोल्यो । ब्यागबाट एउटा पर्पल बुक निकाल्यो । पर्पल बुकको नाम थियो– घाटमान्डु । यो बैजनी किताब केही महिनाअघि मात्र काठमान्डुमा पैदा भएको थियो । उसले एउटा मार्लबोरो सल्काउँदै भन्योः
–घाटमान्डुको एउटा कथामाथि फिल्म बनाउन चाहन्छु ।
–बनाउनुस् । –भनेँ ।

उसले बताएअनुसार, ऊ घाटमान्डुभित्रको एउटा सर्ट फिक्सन –स्कुल ब्याग– माथि सर्ट–फिल्म बनाउन चाहन्थ्यो । मलाई ब्ल्याकमेल गर्नको निम्ति हो या इम्प्रेस गर्न, उसले सिनेमाका सप्तऋषिहरूबारे रुचिका साथ उत्साहपूर्वक चर्चा गर्न थाल्यो । उसको रुचि र मेरो फिल्मी स्वाद कताकता मेल खान थाल्यो । साहित्यिक रचना, कृतिमाथि बनेका फिल्महरूप्रति म प्रायः उदासीन रहने गर्छु । तर, उसको उत्साह तथा भिजन देखेर म हैरान भएको थिएँ ।

फिल्म बनाउने उसको इच्छा, चाहना र आत्मविश्वासलाई मेरो मनले नो, निगेटिभ भन्न चाहेन । उसको जीवन्त उत्साहमाथि कोल्ड कफी, लागर बियर या हट लेमन विथ् हनी खन्याउँदै हाँस्न मन लागेन । दरबदर भट्कँदै त्यो फेब्रुअरीको दिन ऊ मेरो गुफामा मसित हँस्यौली, ठट्टामजाक गर्न अवश्य पनि आएको थिएन । उसलाई सोधेँ:
–यो स्कुल ब्यागचाहिँ किन बोक्नुभएको ?
उसले स्वप्नील मुद्रामा भन्योः

–फिलिङ्स ल्याउन । जसरी तपाईं आफ्नो फिक्सनको स्पिरिचुअल न्युडिटीलाई फिल÷महसुस गर्न थिमअनुसार गुफामा नग्न बस्नुभा'छ, त्यस्तै फिलिङ्स ल्याउन मैले यो स्कुल ब्याग बोकेको हुँ ।

वेल सेड ! उसको इन्स्टान्ट आन्सरले मलाई गिरफ्तार गर्‌यो ।

कुरैकुरामा छुस्स पर्सनल गफ झिक्दै लभ–सभको चक्कर या चक्रव्यूहमा आफू नपसेको/नफसेको, सिंगल थिएँ, सिंगल छु र सिंगल हुनेछु भन्यो । मजस्तो दुईपटक विवाह गरेको तथाकथित लोग्नेलाई इटरनल सिंगलहुडको त्यस्तो केयर–फ्री कुरा सुन्दा केही खल्लो लाग्दो रहेछ ।

फिल्मलाई ऊ कुनै कलाकारबिना खिच्न चाहन्थ्यो । क्यामेरालाई नै ऊ न्यारेटर बनाउन चाहन्थ्यो । उसले बताएअनुसार प्रोटागनिस्टको ७ देखि ७० वर्षे मेटाफिजिकल जर्नीलाई क्यामेरामार्फत ऊ एक दिनको स्पिरिचुअल कोलाज एन्ड मोन्टाजमा न्यारेट गर्न चाहन्थ्यो । अधकल्चो मार्लबोरोलाई एस–ट्रेमा किचीमिची गर्दै उसले बतायोः

–भिजुअल मेटाफर प्लस सिम्बोलमार्फत म तपाईंको कथा स्कुल ब्यागलाई सिनेमाटिक वाचन गर्न चाहन्छु । त्यसैको स्वीकृति माग्न म आज यसरी मगन्ते भई तपाईंको यो गुफामा भिक्षाम् देही, भिक्षाम् देही भनी याचना गर्न आएको हुँ । स्वीकृति लिन आएको हुँ । मलाई स्वीकृति दिनुस् ।
–स्वीकृति छ । –मैले भनेँ ।

त्यसपछि केही बेर यताउतिका कुरा भए । कुरैकुरामा छुस्स पर्सनल गफ झिक्दै लभ–सभको चक्कर या चक्रव्यूहमा आफू नपसेको/नफसेको, सिंगल थिएँ, सिंगल छु र सिंगल हुनेछु भन्यो । मजस्तो दुईपटक विवाह गरेको तथाकथित लोग्नेलाई इटरनल सिंगलहुडको त्यस्तो केयर–फ्री कुरा सुन्दा केही खल्लो लाग्दो रहेछ । कहाँ बस्नुहुन्छ भनी सोध्दा उसले गजबको आन्सर दियोः

–पवित्र नदी किनारमा बस्छु । (घाटमान्डु किताब देखाउँदै) तर आजकलचाहिँ यही किताबको कुनै पेजमा बस्ने गर्‌या छु ।

आफूले बनाउन लागेको फिल्मप्रति उसको त्यस्तो खालको गहन असिमलेसन–भाव देखेर म दंगलगायत चकित परेँ । उसको सेल्फ–कम्पोज्ड–प्यासनप्रति नतमस्तक भएँ तर लगत्तै ऊप्रति एक प्रकारको हृदयविदारक दयाभाव मेरो मनमा उत्पन्न भयो । यस्तो खालको फिल्ममा लगानीचाहिँ गर्ने कसले ? पैसा हाल्ने कसले ? तर, मेरो चिन्ता र सरोकारलाई उसले छिःछिः÷दुर्दुर् गर्‌यो । बडो राजकीय शान–ओ–सौकतमा ठाँटका साथ उसले त यस्तो पो भन्योः
–सहरमा थुप्रै एटीएम बुथ छन् । पैसाको के चिन्ता ?

दिउँसो आएको ऊ साँझ अबेरसम्म मेरो गुफामा बस्यो । उसको मनमस्तिष्क कला, साहित्य, संगीत, संस्कृतिको बासस्थान अथवा भनूँ संग्रहालय रहेछ । काठमान्डुका मल्लकालीन÷लिच्छविकालीन जात्रा, पर्व, खानपान, रहनसहनबारे कौतुकमय अन्दाजमा मसित बात मार्‌यो ।

संगीतको रागदेखि जीवनको विरागमाथि सुरुचिपूर्ण चर्चा गर्‌यो ।

गुफामा उसले गीतको कोटिहोम नै चलायो । राष्ट्रिय भाषाका लोकगीतलगायत अन्तर्राष्ट्रिय भाषाका ज्याज, र्‌यागी, ब्लुजमात्र होइन अपितु उसले संस्कृतका श्लोक÷मन्त्र–ऋचा तथा शास्त्रीय रागहरू पनि सुनायो । उसको गीत सुन्दा यस्तो लाग्थ्यो, गलाबाट ब्रह्मनादको अलौकिक झरना गुफाभरि सुसेली हाल्दै, सुसाउँदै निर्झर–निर्झर झरिरहेछ ।
गुनगुनाउँदै उसले भन्योः

–जीवन जन्म र मृत्युको सम्भोगबाट जन्मिएको एक अलौकिक संयोग हो तसर्थ मनुष्यको जन्म र मृत्यु अस्तित्वको नश्वर अभिव्यक्तिमात्र हो ।

शास्त्रीय रागहरूबीच ऊ भन्दै गयो– शाश्वत त जीवन हो । अस्तित्व हो । जगत्मा शाश्वत केही छ भने जीवनको अस्तित्वमात्र छ । जन्म र मृत्यु त केवल अस्तित्वको नश्वर अवधारणामात्र हुन् । जीव–जीवको अजीव जीवाश्मद्वारा निर्मित जैविक जीवन त फगत मायावी प्रीतले कम्पोज गरेको एक फोसिल–गीतमात्र हो भन्दै ऊ गुनगुन गरी नै रह्यो ः
ऽऽऽ युगौंदेखि सहरमा घाट कुरी बस्ने गर्‌या छु ।

जन्म र मृत्युको रहरमा घाउ पुरी बस्ने गर्‌या छु ऽऽऽ
–अब पोयट्री सुन्नुस् । –उसले भन्यो ।
–सुनाउनुस् । –मैले भनेँ । –समकालीन पोयट्री सुनाउनुस् ।
–पोयट्री समकालीन÷पूर्वकालीन हुँदैन । पोयट्री त सर्वकालीन हुन्छ । – उसले भन्यो ।
–त्यसो भए सर्वकालीन पोयट्री सुनाउनुस् । –मैले भनेँ ।

त्यसपछि उसले गुफामा पोयट्रीको काव्य–यज्ञ चलायो । गुफाको मौन स्पेसमा पवित्र पोयट्रीका अक्षरहरू अनुगुञ्जित हुन थाले । उसको कण्ठबाट कविताको वर्षात हुन थाल्यो । कस्तो सुखद आश्चर्य भने अनेक कविका अनेक कविता उसले मुखाग्र सुनायो । सोधेँ पनिः

–कसरी यत्तिका कविता कण्ठ गर्नुभएको ?
–यी कविता कविहरूले कागजमा कोरेका होइनन् । बरु मेरो हृदयको शिलापत्रमा कुँदेका हुन् । –उसले भन्यो ।
वेल सेड ! गज्जबको आन्सर !!

मनु मञ्जिल, स्वप्नील स्मृति, विनोदविक्रम केसी, सरस्वती प्रतीक्षा, राजा पुनियानी, हेमन यात्री, संगीत श्रोता, चन्द्रवीर तुम्बापो, शकुन्तला जोशी, सीमा आभास, निभा शाह, नवराज पराजुली, उज्ज्वला महर्जनका एक–एकगोटा सेलेक्टेड कविता आँखा चिम्लीकन बडो लवलीन अन्दाजमा सुनायो । उसको त्यस्तो विमुग्ध काव्य वाचन सुन्दा यस्तो प्रतीत हुन्थ्यो, ती सम्पूर्ण नामोल्लेखित कवि÷कवयित्रीका काव्य–आत्मा उसको देहभित्र प्रवेश गरेको छ ।

अब इनयान्टेसन सुन्नुस् भन्दै ऊ गुफामा ओहोरदोहोर गर्न थाल्यो । गला सफा गर्‌यो र कुनै सिद्धहस्त थिएट्रिकल आर्टिस्टको हाउभाउमा टीएस इलियटको –लभसङ अफ् जे. अल्फ्रेड प्रुफरक– सुनाउन थाल्यो । लामो कविताको बीचबीचमा बडो अचम्मलाग्दो गरी उसले विमला तुम्खेवा, भूपिन र सरिता तिवारीका देवनागरी पोयट्रीलाई कुनै दिव्य मन्त्र या ऋचा पाठ गरेझैं गुनगुनायो । काव्य–अभिषेकद्वारा मेरो गुफा पवित्र भयो ।

आहुतिको –गहुँगोरो अफ्रिका– सुनाउँदै गर्दा ऊ बीचैमा टक्क अडियो । मेरो नग्न देहलाई कुनै फिरंगी जासुसले अवलोकन गरेजस्तो गरी हेरेपछि भन्योः

–तपाईंको यो न्युड बडीमा सर्रियल पेन्टर आन्द्रे ब्रेटनले गहुँगोरो रङ पोतिदिए क्या काइदाको हुने थियो ! तर, डेड आन्द्रे चिहानबाट उठ्ने सम्भावना कम छ । तसर्थ मलाई लाग्छ, आफ्नो यो न्युड बडी तपाईंले बडी पेन्टर क्रेग ट्रेसीलाई ह्यान्डओभर गर्नुस् । काइदाको हुनेछ ।

यो काइदाको कुरो थियो । म खुसी भएँ र लगत्तै उसको अन्तिम मार्लबोरो सल्काएँ र बुङ्बुङ्ती धुवाँ उडाउन थालेँ ।
अब त बिदाबारी हुने समय भइगयो । उसलाई शुभेच्छा प्रदान गर्दै अल द बेस्ट फर योर फिल्म भनेँ । थ्यांक यु भन्यो । फिल्मबारे एक्स्ट्रा विमर्शविन्यास गर्न तथा पेन्टिङ, संगीत र पोयट्रीको कुरा गर्न मन लागेको खण्डमा तपाईंलाई मेरो गुफामा अल्वेज् स्वागत छ भनेँ । धन्यवाद, वान्स अगेन जरुर आउँला भन्यो । तपाईंलाई के भनी बोलाउने, तपाईंको नामचाहिँ के हो भनी सोध्दा उसले भन्योः

–मलाई विरुपाक्ष भनी बोलाउने । मेरो नाम विरुपाक्ष हो ।

गुफाबाट एक्जिट भएपछि विरुपाक्ष गल्लीमा निस्क्यो । गल्ली हुँदै मूल सडकमा निस्क्यो ।

फेब्रुअरीको आकाशमा पूर्णिमाको जून÷मून प...र पर प...र सर्दै थिई । विरुपाक्ष पनि निस्तब्ध रातमा निःशब्द पर प...र पर सर्दै थियो । जुनेली या मुनेली रातले सहरको आत्मामा पूर्णेको चिसो उज्यालो छरेको थियो । विरुपाक्ष एकनासले ल्याप–पोस्टमुनिका एकलास फुटपाथ, सडकमा हिँडिरहेको थियो । यो त्यही पूर्णिमाको रात थियो जसलाई उसले यतिका युग धैर्यपूर्वक पर्खेको थियो ।

आज प्रतीक्षाको घडी समाप्त हुँदै थियो ।

विरुपाक्षले खल्तीबाट एटीएम कार्ड निकाल्यो र त्यसलाई एकपल्ट आँखैसामु लगि ओल्टाइपल्टाई हेर्‌यो । त्यसमा कुनै पिन या कोड नम्बर थिएन । उसलाई यतिमात्र भनिएको थियो, ‘फेब्रुअरीको पूर्णिमामा तिमीले यो कार्ड प्रयोग गर्नु ।

नगर–मुटुको चौबाटोमा तिमीले रातको ठीक १ बजे एउटा एटीएम बुथ फेला पार्नेछौ । त्यहाँ कार्ड घुसाऊ । तिमीलाई पर्याप्त पैसा प्राप्त हुनेछ ।'

वातावरण चकमन्न थियो । हिँड्दा हिँड्दा डिजाइनेटेड समयको ठीक एक बजे विरुपाक्ष बानेश्वर चोक आइपुग्यो । चौबाटोको बिचमा– जहाँ दिनको उज्यालोमा तपाईं ट्राफिक पोस्ट देख्नुहुँदो हो– एउटा एटीएम बुथ थियो । ठ्याक्कै विरुपाक्ष अट्ने साइजको काँचको पारदर्शी संरचना ।

त्यो एटीएम बुथ बानेश्वर चोकको चौबाटोमाझ कसरी उत्पत्ति भयो ? यो जान्ने इच्छा तपाईंमा प्रबल होला । यो एउटा पाठकको सार्वभौम हक÷अधिकारको कुरो पनि होला । एक लेखकको हैसियतले उक्त एटीएम बुथ–उत्पत्तिको प्रसंग यथोचित वर्णन गर्नु मेरो पनि कर्तव्य हुँदो हो । यस विषय–प्रसंगमा पाठकसमक्ष नोट अफ डिसेन्ट पेस गर्दै म के मात्र भन्न चाहन्छु भने एटीएम बुथको रहस्य तपाईं आफैं खोज्नुस् ।

हरेक विषयमा अनावश्यक चुरीफुरी गर्दै, बडो जान्नेसुन्ने सर्वज्ञाताको ढोङ रच्दै लेखक नै किन हमेसा अघि सर्ने ? हातमा कलम र टेबलमा खाली पाना छ भन्दैमा पाठकको मेन्टल स्पेसको कुनै ख्यालै नगरी इच एन्ड एभ्री प्रसंगको माइन्युट डिटेलिङमा किन गतिछाडा हुने ? सदा लेखकको निरंकुश बकबक झेल्न कम्तीमा तपाईंजस्तो सचेत पाठक अभिशप्त हुनुहुन्न भन्ने कुरा मलाई यो हरफ लेखिरहँदा लागिरहेको छ ।

जहाँसम्म विरुपाक्षलाई त्यो एटीएम कार्ड कसले दियो भन्ने कुरा छ, त्यसको सविस्तार चर्चा म तपाईंसित यो टेक्स्टबाहिर गर्ने नै छु । अहिले तपाईं शब्दहरूको गल्लीमा हुनुहुन्छ । यिनै शाब्दिक गल्लीको पुछारमा– जहाँ अक्षरहरूको मौन जुलुस टुंगिन्छ– म तपाईंलाई त्यहीँ भेट्ने छु । विरुपाक्षको हातमा एटीएम कार्ड थमाइदिने व्यक्ति विशेषबारे त्यसै बखत कुरा गर्नेछु ।

खैर, अब अलमल गर्ने कुरै थिएन । विरुपाक्ष एटीएम बुथभित्र छिर्‌यो । ढोका आफैं बन्द भयो– ढ्याक्क । एटीएम–यन्त्रमा कार्ड घुसार्‌यो । यन्त्रले कार्ड सुलुत्त निल्यो । यन्त्रको छातीमा जडान गरिएको रातो बटन एकछिन धिपधिप गर्‌यो । त्यसपछि उक्त धिपधिप झल्याकझुलुक गर्दै हरित् रंगमा परिवर्तन भयो ।
लगत्तै यन्त्रले मुखबाट पैसा ओकल्न थाल्यो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको हजारका चिल्ला चिल्ला नोटहरू एकपछि अर्को गर्दै सुत्तसुत्त÷फुत्तफुत्त गर्दै झर्न थाले । ती नोटहरू जम्मा गर्दै, मिलाउँदै विरुपाक्षले बिटा बनाउन थाल्यो । बिटाका बिटा नोटहरूलाई मिलाइवरी झोलामा राख्दै गयो । ब्याग भर्न समय लागेन । पैसा भने बर्सी नै रह्यो ।
विरुपाक्षले कमिज र प्यान्ट खोल्यो । नग्न भयो ।

लुगाहरूमा बिटाका बिटा नोटहरू राखेर कुम्लो–कुटुरो बनायो । जुत्ता खोल्यो र मोजामा नोटहरू राख्यो । पैसा ननस्टप झरी नै रह्यो । तिनलाई सम्हाल्न गाह्रो हुँदै गयो ।
भुँइभरि नोट छरिए ।

जीवन जन्म र मृत्युको सम्भोगबाट जन्मिएको एक अलौकिक संयोग हो तसर्थ मनुष्यको जन्म र मृत्यु अस्तित्वको नश्वर अभिव्यक्तिमात्र हो ।

यन्त्रबाट पैसा बर्सिने क्रम भने रोकिएन । एटीएम बुथभित्र पैसा छ्यालब्याल हुँदै गयो । सर्वप्रथम उसको गोलीगाँठा पैसाले पुरियो । त्यसपछि पिँडुला । घुँडा । पानीको सतह बढ्दै गएसरी पैसा थुप्रिँदै थुप्रिदै उसको कम्मरसम्म पुग्यो । विरुपाक्षको देह पैसामा पुरिँदै गयो । ऊ हतास भयो । ढोका खोलेर बाहिरिने प्रयास गर्‌यो तर संघर्ष व्यर्थ भयो । ढोका खोलिँदै खोलिएन ।

बच्चामा साथीहरूसित तपाईंले– यतियति पानी गंगै रानी– भन्ने खेल खेल्नुभएको थियो भने मलाई लाग्छ पानीको सतह कसरी शीघ्रा–ती–शीघ्र बढ्दै गई घाँटीको किलकिलेसम्म पुग्छ भन्ने कुरा तपाईंलाई मैले बताइरहनु नपर्ला ।
विरुपाक्षको किलकिलेलाई पनि त्यसैगरी पैसाले अँठ्यायो । हेर्दाहेर्दै विरुपाक्ष पैतालादेखि टुप्पीसम्म नोटहरूद्वारा पुरियो ।

ब्रह्म मुहूर्तको बेला नगर गस्तीमा हिँडेको एउटा सेतो बुलेट बाइक बानेश्वर चोकमा रोकियो । बाइकबाट एउटी लेडी पुलिस अफिसर ओर्ली । लेडी अफिसर सडकको बीचमा एटीएम बुथ देखी आश्चर्यचकित भई । वरिपरिबाट नियाल्दै दुईतीन फन्को मारी । यस्तैमा उसको कम्मरपेटीमा अल्झिएर झुन्डिएको वकिटकी दमको रोगीझैं घ्यार्रघ्यार्र चिच्याउन थाल्यो । लेडीले उठाउँदै ऽऽऽ रोजर रोजर ऽऽऽ भनी । वकीटकीमा उसलाई सोधियो ः ऽऽऽ रोजर । रजिस्टर योर आइडेन्टिनी एन्ड लोकेसन । ओभर ऽऽऽ

लेडीले भनीः
–ऽऽऽ रोजर । दिस इज अम्बालिका थ्री पोइन्ट सेभन । रिपोर्टिङ फ्रम बानेश्वर चोक । ओभर ऽऽऽ
–ऽऽऽ रोजर । त्यहाँको ट्राफिक पोजिसन के छ, रिपोर्ट गर्नुस् । ओभर ऽऽऽ

लेडी अफिसर अम्बालिका थ्री पोइन्ट सेभन निःशब्द भई । के जवाफ दिने ? के ऊ तन्द्रा या निद्रामा थिई ? के यो चोक स्वप्नमा देखिएको कुनै स्वप्नील जगत् थियो ? एटीएम बुथ काँबाट आइपुग्यो ? बुथभित्र पैसामा पुरिएको त्यो नग्न मानव को हो ?

अम्बालिका थ्री पोइन्ट सेभनले एकछिन आफू वरपरको जगत् हेरी । यो कुनै स्वप्नील जगत् थिएन । बीआईसीसी भवन नजिकै थियो ज्यूँदोजाग्दो । चोकबाट एउटा सडक थापाथलीतिर सोझिएको थियो । अर्को सडक तीनकुनेतिर । एउटा सडक पुरानो बानेश्वरतिर जान तम्तयार थियो भने अर्को सडक शंखमूल घाटतिर ।

बीच चोकमा एटीएम बुथ छेवै अम्बालिका थ्री पोइन्ट सेभन रनभुल्लमा परी ठिंग उभिएकी थिई । वकिटकीमा उसले बानेश्वर चोकको अवस्था रिपोर्ट गरीः

–ऽऽऽ रोजर । याँ ट्राफिक पोस्ट नै छैन । ओभर ऽऽऽ
–ऽऽऽ रोजर । के छ त ? ओभर ऽऽऽ

–ऽऽऽ रोजर । एटीएम बुथ छ जुन हजारका नोटहरूले अटेमसटेस गरी भरिएको छ । एटीएम बुथभित्र एउटा न्युड डेड बडी छ । ओभर एन्ड आउट ऽऽऽ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.