सप्तरीका सयौँ घर डुबानमा
राजविराजः लगातारको झरीले सदरमुकाम राजविराजका सयौँ घर डुबानमा परेका छन् । बिहान सदरमुकामपूर्व–उत्तरतर्फको खाँडो खोलामा आएको बाढी पसेर राजविराज १० डुवानमा परेको हो ।
यसैगरी राजविराज २, ५, ८, ९ स्थित भलुवाही खोलामा पानीको सतह बढेर एक सय घरमा पानी पसेको छ ।
सकरपुरा ५ र ६ मा पर्ने खाँडो खोलामा आएको बाढीले वडा नम्बर १, २, ३, ४ र ५ का दर्जनाँ घरमा पानी पसेर डुबान भएको छ । घटनास्थलमा खटिएको प्रहरी चौकी तिलाठीस्थित नेपाल प्रहरी तथा स्थानीय सशस्त्र प्रहरीको टोलीले घरका मानिसहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
अविरल वर्षापछि विभिन्न खोलामा आएको बाढीले सप्तरीको सकरपुरा, तिलाठीका घर डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा आश्रय लिन जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ । घर डुबानमा परेपछि स्थानीयबासी सुरक्षित ठाउँको खोजीमा विद्यालय तथा अग्लो स्थानमा गएर ओत लागेका छन् ।
पातो गाविसका एक सय घर, कुनौलीका ५० घर डुबेका छन् भने जिता नदीको बाढीले महदेवा गाविसको एक सय घर, बथनाहाको ५० घर र भगतपुरको २५ घर डुबेको सप्तरी प्रहरीले जनाएको छ। महुली खोलामा आएको बाढीले भारदह र पोर्ताहा गाविसका ५० घरमा पनी पसेको स्थानीयवासीले जानकारी दिएका छन् । घरघरमा पानी पसेपछि सबैले आ–आफना सामान जोगाउन हारगुहार गरेका छन् ।
तेरहौतास्थित दुधेला खोलामा आएको बाढीले बाँध भत्काएर तेरहौताको वडा नम्बर ३, ८ र ९ को खेतमा पानी पस्दा हजारौँ बिघा खेतीयोग्य जग्गा डुबानमा परेको तेरहौता ९ का बिजय कुमार भगतले जानकारी दिए ।
तेरहौता ९ का २५ घर दलित बस्ती समेत डुबानमा परेको छ । गत बर्ष मात्र भु–संरक्षण कार्यालय सप्तरीले बाँध निर्माण गरेको थियो ।
भारदहबाट हनुमाननगर हुँदै सदरमुकाम आउने राजविराज–भारदह सडकखण्डअन्तर्गतको तोपामा पक्की सडकसमेत डुबेको छ । तोपामा सडकबाटै पानी बग्न थालेपछि सवारीसाधन आवागमन प्रभावित बनेको छ भने तोपा गाउँमा दुई फिटसम्म पानीको सतहले जलमग्न भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
जिल्लाका सयौँ घर डुबानमा परेपछि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको अध्यक्षतामा राजविराजमा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । बाढी प्रभावित क्षेत्रका जनताको उद्दामा सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी गौतमले बताएका छन् ।