हरियो रङको इन्द्रेणी
सम्झना
झ्यालबाहिरको दृश्य मनोरम छ । हरिया धानका गह्रा छन् । ‘नेपाल यातायात’ कुदिरहेछ बाटोमा । थोरै दक्षिणमा बौद्ध गुम्बा भूकम्पले ढल्केको आफ्नो गजुर मिलाउन प्रयासरत छ । सीधा अगाडि थोरै उत्तरतिर कपन गुम्बाले कम्मरमा हात राखेर बौद्धबजार माथिबाट मलाई नियालेजस्तो लाग्दैछ । अघि भर्खर पानी रोकिएर घामले अलिकति चिहाएको थियो बादलबाट, ललितपुरको एक टुक्रा पहेँलपुर पार्दै ।
बादल थोरै अझै छ, प्लेन उडिरहेछ यसको तलतल । बादल थोरै हिजो तिम्रो अनुहारमा पनि थियो । अलिकति नैराश्यता, अलिकति खल्लोपना तिम्रो आँखामा पनि झुलुक्क निस्केर उडे जस्तो लाग्छ हिजो । साउनको महिना यो । बादल छ आकाशमा, वर्षा छ धर्तीमा । मेरो खोज छ हरियालीको तिम्रो र मेरो मनमा ।
धेरै समयपछि बल्ल म तिमीसँग एकान्तमा थिएँ । ‘साउनमा आँखा फुटेको गोरु सधैं हरियो देख्छ भन्छन् क्यार होइन ? ’ तिमीले भन्यौ । सधैं हरियो त भदौमा आँखा फुटेको गोरुले देख्नुपर्ने हो, तर गफको विषय साउन नै थियो । आँखा जो सुकैको फुटोस्, अनि जहिलेसुकै, साउन वा भदौ म त तिम्रो मुहार हेर्दै थिएँ ।
मेरा आँखाबाट कहिल्यै हराउन सक्दैन कन्यामको डाँडोमा उडेको तिम्रो पछ्यौरीको रङ ।
बिहानको कमलजस्तो खुलौं कि नखुलौं को दोधारमा थोरै फक्रिएको तिम्रो मुस्कान थियो । पहिलो उज्यालोको आभा लिएका थिए ती हेराइले । अघिअघिका गल्ती नदोहोर्याई मैले यसपाला ‘अँ’ मात्र भने । तिमी बोलिराख यसरी नै । मेरा लागि सबै मौसममा हरियाली छ । म बस् सुनिरहुँ पहाडी खोंचबाट निस्केको झरनाको झैं त्यो मीठो ध्वनि । डुबिरहुँ म तिम्रो तरल संगीतमा ।
त्यो हरियो पहाड । त्यो हरियो खेत । हरियो पोतेको तिम्रो हात । अनि तिम्रो लालीमा मुस्कान । आजको यो क्षण उडाइलैजान्छ मलाई विगतको त्यो पलसँग । हरियो रङसँग इन्द्रेणी सम्झना जमिबसेको छ आखिर ।
तिमीलाई पनि सम्झना हुनुपर्छ । बिर्सन सकिने पनि त होइन पहिलो प्रेम । धेरै अघि साथीभाइहरूसँग घुम्न गइएको थियो इलाम । झमझम पानी थियो, साउनेझरी । पानी रोकिएपछि फेरि माईखोलाबाट उठेर आउँथ्यो बाक्लो हुस्सु । धन्न पछि दिन खुल्यो र देखियो चियाबारी । डाँडाभरि छरिएको थियो हरियो रङ आँखाले भ्याएसम्म ।
मनभित्र प्रेमिल भाव जगाउने स–साना कटेजजस्ता घरहरू थिए त्यो लोभलाग्दो परिवेशमा । त्यो दृश्य र तिम्रो साथको सम्झनाले अझै रोमाञ्चित गर्छ मलाई । थोरै पैंचो ल्याएको थिएँ त्यो रङ, मनको एक कुनोमा लुकाएर । तिमीले पनि सुटुक्कै ल्याएकी रहिछौ आफ्नो पछ्यौरीमा भरेर । सपनाका इन्द्रेणी बने ती रङहरूले । अझै सम्झना छ मलाई चियाबारीको त्यो हरियो विस्तृति । मेरा आँखाबाट कहिल्यै हराउन सक्दैन कन्यामको डाँडोमा उडेको तिम्रो पछ्यौरीको रङ ।
माईपोखरीमा छेउछाउका सल्ला र गुराँसका रूखहरूका छायाँ देखिँदै थिए । तिमी त्यहाँ आफ्नो प्रतिविम्ब खोज्दै थियौ । यो सत्य हो, हामी धेरैले आफू नचिनिने गरी पहिचान गुमाइसकेका छौ । तिमी पनि अहिलेको प्रेमाशक्त रूपभन्दा पुरानो चुल्बुले आफू खोज्दैथियौ पक्कै । म भने पोखरीको गोल्डफिस हेर्दै थिएँ ।
मलाई अतीत कोट्याउनु थिएन, न भविष्य नै जान्नु थियो । सेता बुकी फुलेको हरियो चौर हामीलाई डाक्दै थियो । तिमी त्यो हरियो दहमा आफूलाई निक्कै बेर खोजिरह्यौ । गुराँसको लाली दिएर तिमीलाई फकाइ पठाउनु प¥र्यो । ‘भेट्टायौ त आफूलाई ? लामो समय अपलक मेरो आँखामा हे¥यौ तिमीले । माईपोखरीले सुटुक्क देखाइदिएछ तिमीलाई ऐना । मेरो दिलको झ्याल– मेरा आँखा । तिम्रो ओठमा गुराँस लाली छर्दै मुस्कायो । मेरो मनको हरियालीको के कुरा !
फर्कदा जसबिरेमा होटेल साहु काजी दाजुले सोध्यो, ‘भाइबहिनी ‘कपल’ कि ’ लभबर्ड्स ’? ’ इलाममा धेरथोर अंग्रेजी जो कोही बोल्छन् । हामी ‘फ्रेन्ड्स’ मात्र, मैले पनि उसकै पारामा जवाफ दिएँ । उसले पत्याउने कुरै थिएन । ऊ हावा बेगरै गन्ध बुझ्ने मान्छे । अहिले त तीनपाने लाएर हल्का दार्शनिक भइसकेको थियो । ‘लभमा लाइफ यो चिया बगानजस्तै हरियो ।
आफ्नो सानो बगान देखायो छेउको उसले । म्यारिज पछि सब चेन्ज’ भन्यो उसले । ‘सुकेर हामी कालोपत्ती बन्छौं या त अझ धुलिएर दानेदार चिया रङ, अनि मेटाऔं घर र परिवारको तलतल ।’ उसको दर्शन काँचो पत्ती भन्दा टर्रो भो मेरा लागि ।
‘ग्रिन टी चाहिँ के नि ? ’ सोध्न मन लागेको थियो, सोधिनँ । अहिले मलाई आफूले काजी दाजुलाई नसोधेको प्रश्नको जवाफ थाहा छ । ग्रिन टी म हुँ । मेरो तिमीसँगको सम्बन्ध हो । मेरा खुसी अनि आशा पनि जिन्दगीको तातो भट्टीमा सुकिसके । शायद तिम्रो पनि । तर यसको हरियोपना, ताजगीको आकांक्षा अझै मरेको छैन । आज तिमीसँग के घोलियो, जीवित भएर आएको छ ।
बाहिर जस्ताको त्यस्तै छ तर पन्यालो हरियो चियाले तिम्रो र मेरो कपको भित्री भाग भने हल्का पहेँलो–हरियो भएको छ । नयाँ अंकुरको रङ जस्तै । चिनियाँहरू भन्छन् अमृत यही हो । विषै भए पनि मैले पिइदिएको छु । अनि झुमिरहेको छु अहिले । ‘टी इज अ ड्रिन्क व्हिच इज नट ब्रिउड, बट व्हिच इनेब्रिएट्स’ मैले उहिल्यै जानेको कुरो । तर यो चियाले दिएको किक होइन । यो पुनर्ताजगी हो प्रेमको । मेरो प्रेमको रङ हरियो ।
यो साउनमा मेरो मन नाचिरहेछ मयूरजस्तै आफ्ना हरिया पंख फिँजाएर आकाशतिर । धेरै सालपछि सुन्दैछु एउटा चिनेजस्तो आवाज । सुन्दै छु वर्षौंपछि त्यही स्वच्छन्द हाँसो अनि उही चुराको छन्छन् । लाग्छ दशकौं पछि आएको छ साउन मरुभूमिमा । म जताततै हरियो देख्दैछु ।