आफ्नै दलको आलोचनामा ओली
काठमाडौं: केपी ओली नेतृत्वको मन्त्रिपरिषद् रूपी जहाज डुब्नै लाग्दा राप्रपा र फोरम लोकतान्त्रिकले त्यसलाई अन्तिम समयमा परित्याग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय समितिको बैठक र फोरम लोकतान्त्रिक संसदीय दल तथा पार्टी कार्यसम्पादन समितिको बैठकले शनिबार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्रीहरूलाई फिर्ता बोलाउने र अविश्वास प्रस्तावको पक्षमा मत दिने निर्णय गरेका हुन् ।
यी प्रतिकुल परिस्थिति झेलिरहेका प्रधानमन्त्री ओली अविश्वास प्रस्तावमाथिको छलफलमा दोस्रो दिन प्रस्तावका प्रस्तावक र समर्थकबाट मात्र नभई आफ्नै पार्टीका वरिष्ठ नेताहरूकै कोपभाजको सिकार बनेका छन् । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अविश्वासको प्रस्तावमाथि संसद्मा जारी छलफलमा सहभागी हुँदै शनिबार भने, ‘तपाईंहरूले भनेझैं अहिले यहाँ नेता होइन पार्टी पनि छैन । म भन्छु खेलकुदमा एमाले पनि होइन, भएको भए चित्त बुझाउँथे । त्यहाँ गुट छ । त्यसैले देश र पार्टी संस्थागत रूपमा चल्न सकेको छैन । गुटले सञ्चालन गरेको छ ।' उनको संकेत ओली विरुद्ध स्पष्ट थियो ।
प्रत्येक मानिसमा संकल्प चाहिएको बताउँदै उनले व्यक्ति आउने र फोटो झुन्ड्याउने गर्दा देशले केही नपाएको धारणा व्यक्त गरे । उनले भने, ‘आग्रहबाट प्रेरित भएर विश्लेषण र आरोप लगाउने प्रवृत्तिको अन्त्य हुनु पर्यो ।'
वरिष्ठ नेता नेपालले एमाले नेतृत्वको सरकार भए पनि नियुक्तिलगायतका विषयमा गुटबन्दीका आधारमा सरकार चलेको आरोप लगाए । ‘यो देश डुब्न लाग्यो, देश बचाउने माँझी चाहिएको छ', उनले भने, ‘अहिले जनताले त्यस्तो मानिस पाइरहेका छैनन्, जसले यो देश बचाओस् ।'
एमालेकै नेतृत्वमा विगतमा पनि सरकारहरू बनेको र स्वयं आफैंले नेतृत्व गरी २१ महिना सरकार चलाउँदा पनि थुप्रै राम्रा काम गरेको कुरा बिर्संदै वर्तमान सरकारले अहिले जत्तिको राम्रो एमालेको सरकार विगतमा कहिल्यै थिएन भन्नु जायज र न्यायसंगत नहुने नेपालले बताए । उनले भने, ‘माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार संसद्मा बोल्ने क्रममा मेरा नाम लिँदा खुसी लाग्यो, मानिसलाई अरू केही चाहिँदैन, उसले गरेको भूमिकाको प्रशंसा गरे पनि पुग्छ ।'
दाहालले ओलीविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत गर्दा नेपालले द्वन्द्वका समयमा निर्वाह गरेको भूमिकाको तीनपटक प्रशंसा गरेका थिए ।
मनमोहन अधिकारी नेतृत्वको सरकारका पालामा पनि आफू परराष्ट्रमन्त्री भएको र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण काम गरेको दाबी गर्दै नेता नेपालले त्यसको कतै चर्चा नहुनु ठीक नभएको बताए । उनले माओवादीले हतारमा अविश्वासको प्रस्ताव ल्याएको बताए । सरकारमा नौ महिनासम्म सहभागी भएर यो सरकारले केही पनि गरेन भनेर अविश्वास प्रस्तावमा लेखिनु अलि बढी नै भएको पनि बताए । उनले एमाले र माओवादीको गठबन्धन टुट्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका थिए ।
नेता नेपालले नेपालको स्वाभिमान उठाउने र अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको छवि विस्तार गर्ने काममा सबै जुट्नुपर्ने बताए । उनले भने, ‘संविधानको रक्षा र कार्यान्वयनका लागि राजनीतिक निर्णयका आधारमा अघि बढ्नुको विकल्प छैन ।' पहिलो र दास्रो पार्टी एकसाथ कसरी बस्न सक्छ भन्ने कुरा आफूले पनि सुनेको उनले बताए ।
राष्ट्रिय स्वाभिमानका सबालमा कुनै सामु शिर झुकाउन नसकिने तर आपसी विश्वास टुटेपछि केही गर्न नसकिने भएकाले आफूहरूबीचका तिकडम र जालझेल बन्द गर्नुपर्ने उनको भनाइ थियो । नेपालले भने, ‘कुनै कुरामा बोल्दा अरूलाई घोच्ने कार्य नगरौं । शुक्रबार एमाले नेता सुवास नेम्बाङको मीठो कुराले पनि धेरैलाई घोच्यो होला ।' संवैधानिक संकट देखाउँदा हामी नै ठूलो संकटमा फस्न सक्छौं भन्नेतर्फ सजग हुन पनि उनले नेताहरूलाई आग्रह गरे ।
छलफलकै क्रममा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले भने, ‘संसद्मा आएको अविश्वास प्रस्ताव पारित हुन्छ र अर्को सरकार गठन हुने कुरामा म विश्वस्त छु । मैले माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग जीवनभर मित्रताको कसम खाएको छु । त्यो कायम गरेर देखाउनेछु ।'
गौतमले अविश्वास प्रस्तावमाथिको छलफलमा आफू अत्यन्त दुःखका साथ उपस्थित भएको बताए । ‘यो प्रस्ताव रोक्नका लागि मैले ठूलै कसरत गरे पनि आइछाडेकाले त्यसविरुद्ध आफ्ना धारणा राख्न म यहाँ उपस्थित भएको हुँ,' उनले भने, ‘प्रस्ताव मेरो अध्यक्षविरुद्ध छ । यसको पहिलो हस्ताक्षरकर्ता मेरो घनिष्ठ मित्र दाहाल हो । उहाँसँग जहिलेदेखि मित्रता कायम गरेँ त्यहीँदेखि मैले धोका दिने कार्य गरेको छैन ।'
दाहालका हरेक अप्ठ्यारोमा आफूले एमाले नेताको हैसियत बिर्संदै सल्लाह र सुझाव दिँदै आएको पनि उनले बताए । ‘तर यसपटक उहाँले मसँग सल्लाह गर्नु भएन', उनले भने । आइतबार अविश्वास प्रस्ताव पारित हुने कुरामा आफू र आफ्नो पार्टीलाई आशंका नभएको बताउँदै उनले भने, ‘नयाँ सरकार बन्ने कुरा सुनिश्चित भइसक्यो । त्यसले भोलिका समस्या समाधान गर्न सकोस् ।'
कांग्रेसका सांसद रमेश लेखकले शुक्रबारको छलफलमा एमालेका तर्फबाट बोल्ने पूर्वसभामुख सुवास नेम्बाङले संक्रमणकालीन अवस्थामा नयाँ संविधानले अर्को प्रधानमन्त्रीको परिकल्पना नगरेको र नयाँ संविधानअनुसार अर्को प्रधानमन्त्री बन्नै नसक्ने कुरा बोलेको भन्दै आलोचना गरे । लेखकले संसदीय प्रणालीमा संसद्ले कार्यकारी प्रमुख बनाउने, हटाउने र अर्काे बनाउने अधिकार हुने दाबी गरे ।
संविधान निर्माणका समयमा नायकको भूमिका निर्वाह गरेका तत्कालीन संविधानसभाका अध्यक्षबाट अर्को प्रधानमन्त्री बन्ने प्रावधान छैन भन्ने अभिव्यक्ति आउँदा आफू आश्चर्यमा परेको पनि उनले बताए । उनले भने, ‘संसदीय प्रणाली भएको मुलुकमा प्रधानमन्त्री बनाउन सक्दैन भनेर मुलुकलाई कतातिर लैजान खोजिएको हो ? ' लेखकले एउटा प्रधानमन्त्री फेर्न र शपथ दिलाउन नसक्ने कस्तो संविधान हामीले मुलुकलाई दिएका रहेछौं त भनी व्यंग्यसमेत गरे ।
लेखकले भने, ‘संविधान निर्माता नेम्बाङ संविधानको नायक हुनुपर्नेमा अहिले आएर सिनेमाको नायकका साथ अर्को भूमिका निभाउने नायक अघिका दुई शब्दसमेत रहेको पात्र बन्न पुगेकोमा म दुःखी छु ।' उनले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, शान्तिप्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा प्रधानमन्त्रीले काम गर्न नसकेकाले नै अविश्वासको प्रस्ताव दर्ता गराइएको दाबी गरे । लेखकले प्रधानमन्त्री ओलीको दम्भ र घमण्डले गर्दा नै सहयात्रीका रूपमा रहेको माओवादी केन्द्र सरकारबाट फिर्ता भएको दाबी पनि गरे ।
तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लले आफूहरूले संविधानको समग्र स्वरूपको विरोध गरेको नभई संविधानमा रहेका केही विभेदकारी धारालाई मात्र अस्वीकार गरेको बताए । उनले प्रधानमन्त्री पदमुक्त हुने तर कुर्सी चाहिँ छोड्न नपर्ने कस्तो संविधान निर्माण भएको हो भन्ने प्रश्न पनि गरे । यो सरकारले आफूहरूका मागप्रति चासो नदेखाएकाले नै यो सरकारको बहिर्गमनका लागि आफूहरू बैठकमा उपस्थित भएको उनले बताए ।
सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले तीन सय ३८ जनाको समर्थन प्राप्त सरकारमा ८२ जनाले समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्रीले पदमा बसिरहनु ठीक नभएको बताए । उनले मधेस आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धताका साथ ल्याइएको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका पक्षमा आफू रहेको जानकारी दिए ।
माओवादी केन्द्रका नेता राम कार्कीले संविधानसभाका पूर्वअध्यक्ष नेम्बाङले सार्वभौमसत्ता सम्पन्न संसद्को अवमूल्यन गरेको आरोप लगाए । उनले भने, ‘हामीले भनेको बाटो नहिँड्दा खतरनाक हुन्छ भन्नुको अर्थ के हो ? तपाईंलाई सार्वभौमसत्ता सम्पन्न संसद्लाई तर्साउने अधिकार कसले दियो ।' नाकाबन्दी सहज हुनमा ओली नभएर विद्यमान परिस्थिति जिम्मेवार रहेको उनले बताए ।
कांग्रेसका नेता प्रदीप गिरीले हामीले चाहे पनि नचाहे पनि नेपालको राजनीतिमा भारतीय प्रभाव रहेको बताए । उनले सत्तामा आउँदा म आफैं आए र सत्ताबाट बाहिरिँदा भारतले खेल्यो भन्ने प्रवृत्तिबाट मुक्त हुन राजनीतिक दल र नेताहरूलाई आग्रह गरे । उनले भने, ‘महान् संविधानसभाबाट संविधानमा हस्ताक्षर गर्ने कार्यमा यो तुच्छ प्रणीले हस्ताक्षर नगर्नुको उद्देश्य मधेस, जनजाति, महिलालगायतको पक्षमा नहुनु नै हो ।'
कांग्रेस सांसद रामहरि खतिवडाले ओली राष्ट्रवादी नभएको प्रमाण प्रधानमन्त्री हुन्जेल लिपुलेकका विषयमा भएको हस्तक्षेपमा एक शब्द पनि नचुहाउनु रहेको बताए । एमालेका सांसद डा. राजन भट्टराईले भारतले १९५० देखि गरेको राजनीतिक हस्तक्षेपका कारण ओली सरकार पनि निशानामा परेको बताए ।
कांग्रेस सांसद अमरेशकुमार सिंहले ‘डाक्टरले दिएको रिपोर्टअनुसार प्रधानमन्त्री ओलीको मानसिक अवस्था ठीक नभएको' बताए । एमालेका सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गर्दै सांसद सिंहको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरे । सभामुख ओनसरी घर्तीले तत्काल सिंहको उक्त भनाइ रेकर्डबाट हटाउन निर्देशन दिइन् ।
ओलीले राजीनामा नदिए मतदान
प्रधानमन्त्री केपी ओलीविरुद्ध आएको अविश्वास प्रस्तावमाथि शुक्रबारदेखि जारी छलफल आइतबार अपराह्न सकिने भएको छ । आइतबार अपराह्न छलफल सकिएपछि आधा घन्टाका लागि संसद् बैठक स्थगित हुन्छ । त्यसपछि बस्ने बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि अविश्वास प्रस्तावमार्फत लागेको आरोपको खण्डन गर्दै आफ्ना भनाइ राख्नेछन् ।
ओलीले आफ्ना भनाइ राखिसकेपछि राजीनामा घोषणा नगरे अविश्वास प्रस्तावमाथि मतदान हुनेछ । सभामुखले मतदानबाट आएको परिणामका बारेमा आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिखित रूपमा जानकारी गराउने छिन् ।