सुनसरी र सप्तरी डुबानमा, सयौं परिवारको बिचल्ली

सुनसरी र सप्तरी डुबानमा, सयौं परिवारको बिचल्ली

इटहरी/राजविराज: लगातार पानी परिरहेका कारण स्थानीय खोलामा बाढी आउँदा सुनसरी र सप्तरीका दर्जनौं बस्ती डुबानमा परेका छन् । बाढीका कारण सुनसरी र सप्तरीमा सयौं परिवारको बिचल्ली भएको छ ।

सुनसरीका सिमरिया, तनमुना, छिटाहा, साहेबगन्ज, हरिनगरा, कप्तानगन्ज, देवानगन्ज, राजगन्ज सिनुवारी र लौकहीलगायत गाविसका दुई सय घर डुबानमा परेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए । उनका अनुसार हरिपुर र श्रीपुर गाविसका केही बस्तीसमेत डुबानमा परेका छन् ।

बूढीखोलाको बाढीले राजगन्ज सिनुवारी— ९ का ५० घर डुबानमा परेको स्थानीय पीडित दीपेन्द्र चौधरीले बताएका छन् । खोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दाको कन्तबिजोग भएको छ । सुनसरीकै छिटाहा, तनमुना र सिमरिया गाविसका एक सय घर डुबानमा परेको छिटाहाका भुवनेश्वर यादवले जानकारी दिए । यादवले पाँच दिनदेखि बस्ती डुबानमा परे पनि स्थानीय प्रशासनले पीडितको उद्धार नगरेको गुनासो गरे ।

साहेबगन्ज गाविसका केही वडा डुबानमा परेको स्थानीय इन्द्रकुमार मेहताले बताए । उक्त गाविसका हरेकजसो घरमा पानी जमेपछि बस्नै समस्या भएको सिमरियाका गणेश मण्डलले बताए । बस्तीमा बाढी पसेपछि छिटाहा र चिमडी गाविसका ५० परिवारले घर छाडेको स्थानीय अजुर्न मेहताले बताए ।

सुनसरीमा बूढीखोला, मरियाखोला, धनउष्णा खोला, गाड्न खोला र सुनसरी खोलाको बाढी बस्तीमा पसेपछि दक्षिण क्षेत्रका आधा दर्जनभन्दा बढी गाविसका बस्तीलाई क्षति पुर्‌याएको एसपी पोखरेलले बताए ।

 

सुनसरीको मरिया खोलामा आएको बाढीले बगाउँदा १० वर्षीय सालिम अन्सारीको मृत्यु भएको छ । रामनगरभुटाहा–३ स्थित मामाघरमा बस्दै आएका सुनसरी नरसिंह १ का दाउद आलमका छोरा सालिमको शुक्रबार दिउँसो खोलामा डुबेर मृत्यु भएको एसपी पोखरेलले बताए ।

यस्तै लगातार झरी परेका कारण सप्तरी सदरमुकाम राजविराज डुबानमा परेको छ । खाँडो खोलामा आएको बाढी पसेर राजविराज डुबानमा परेको हो । भलुवाही खोलामा पानीको सतह बढेर राजविराजका एक सय घरमा पानी पसेको छ ।

खाँडो खोलामा आएको बाढीले सकरपुराका वडा नम्बर १, २, ३, ४ र ५ का दर्जनौं घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीले सकरपुरा, तिलाठीका घर डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको छ । उक्त गाविसका अधिकांश बासिन्दा विद्यालय तथा अग्लो स्थानमा गएर ओत लागेका छन् ।

पातो गाविसका एक सय घर र कुनौलीका ५० घर डुबेका छन् भने जिता नदीको बाढीले महदेवा गाविसका एक सय घर, बथनाहाका ५० घर र भगतपुरका २५ घर डुबेको प्रहरीले जनाएको छ । महुली खोलामा आएको बाढीले भारदह र पोर्ताहा गाविसका ५० घरमा पनि पसेको छ ।

तेरहौतास्थित दुधेला खोलामा आएको बाढीले बाँध भत्काएर तेरहौताको वडा नम्बर ३, ८ र ९ को खेतमा पानी पस्दा हजारौं बिघा खेतीयोग्य जग्गा डुबानमा परेको स्थानीय विजयकुमार भगतले बताए । तेरहौता ९ का २५ घर डुबानमा परेका छन् ।

भारदहबाट हनुमाननगर हुँदै सदरमुकाम आउने राजविराज–भारदह सडकखण्डअन्तर्गत तोपामा पक्की सडकसमेत डुबेको छ । तोपामा सडकबाटै पानी बग्न थालेपछि सवारीसाधन आवागमन प्रभावित बनेको छ । तोपा गाउँ जलमग्न भएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले बताए ।

सदरमुकाम राजविराजलाई भारतीय सीमा बजार कुनौलीसँग जोड्ने राजविराज–कुनौली सडकखण्डअन्तर्गत खाँडो खोलाले तिलाठीमा सडक कटान गरेको छ । प्रहरीले कोशीको पश्चिमी तटबन्ध नजिकका बासिन्दालाई पनि सचेत र सुरक्षित रहन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बाढी प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा सुरक्षाकर्मी परिचालन गरिने बताए ।

सप्तकोसीमा बहाव उच्च

पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि त्यस आसपासका बासिन्दा त्रसित बनेका छन् ।

पाँच दिनदेखि पहाडी जिल्लामा निरन्तर पानी परेपछि कोसीमा पानीको बहाव उच्च भएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए । सप्तकोसीमा शनिबार साँझ पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ५० हजार एक सय २५ पुगेको छ । दिउँसो पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ४२ हजार क्युसेक थियो । सप्तकोसीमा पानीको वहाव शुक्रबार राति प्रतिसेकेन्ड दुई लाख २२ हजार एक सय २५ क्युसेक थियो ।

सप्तकोसीमा पानीको वहाव बढेपछि सुनसरी, उदयपुर र सप्तरीका सर्वसाधारण आतंकित बनेका छन् । पानीको बहाव बढे पनि कोसी ब्यारेजका ५६ ढोकामध्ये ३३ वटामात्र ढोका खोलिएका छन् । भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा पानीको बहाव उच्च हुँदासमेत सबै ढोका नखोलिएका कारण आसपासका सर्वसाधारण त्रसित भएको कोसीपीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताए ।

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरीको वराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर र हरिपुर गाविसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोली तयारी अवस्थामा राखिएको एसपी पोखरेलले बताए । पानीको बहाव उच्च हुँदा समेत कोसी ब्यारेजका सबै ढोका नखोलिएपछि बाढीले सुनसरी, उदयपुर र सप्तरीका खेतीयोग्य जमिनसमेत कटान गर्न थालेको महेन्द्रनगरका दयाराम रेग्मीले बताए ।

२०६५ भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार क्युसेक थियो । कोसी कटानका कारण सुनसरीको हरिपुर, हरिपुर, प्श्चिम कुशाहा र लौकही गाविसका पाँच हजारभन्दा बढी घरपरिवार विस्थापित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.