बीपीका ३ राजनीतिक घुम्ती

बीपीका ३ राजनीतिक घुम्ती

विश्वेश्वरप्रसाद कोइराला (विप्र कोइराला)को पारिवारिक र राजनीतिक जीवनबारे लेख्नुपर्दा कठिनाइ कहाँ हुन्छ भने उनीसम्बन्धी स्रोत सामग्री धैरैजसो उनी नै हुन्छन्, त्यसलाई स्वतन्त्र स्रोतबाट परीक्षण र विश्लेषण गर्ने विकल्प हामीसँग थोरैमात्र रहन्छ ।

विप्र कोइरालाको राजनीतिक यात्राका तीनवटा घुम्ती छन् जुन तत्कालीन उत्पन्न परिस्थिति र घटनाको विकासअनुरूप आएको पाइन्छ । उनको जन्म, शिक्षादीक्षा र राजनीतिक संस्कार हिन्दुस्तानको तत्कालीन वातावरणमा प्राप्त भएको थियो । नेपालसँग उनको २००३ सालसम्म परिवारजनलाई भेटघाट गर्न र छुट्टी मनाउन आउनेबाहेक अरू प्रकारको भावनात्मक सम्बन्ध थियो भन्ने देखिँदैन । (बीपी अदम्य साहसका खानीः मात्रिकाबाबु, पृष्ठ १०२) ।

हिन्दुस्तानको तत्कालीन राजनीतिक–सामाजिक जीवनमा गान्धीको अहिंसा र सत्याग्रहको मार्गले व्यापक प्रभाव पारेको थियो । विप्र भन्छन्, ‘भारतको राष्ट्रिय आन्दोलन, त्यत्रो ठूलो यथार्थ जसमा मेरो सम्पूर्ण परिवार पनि संलग्न थियो, म त्यस राष्ट्रिय आन्दोलनको दौरान नै हुर्कें (आत्मवृत्तान्त, पृष्ठ २१) ।' त्यस पृष्ठभूमिबाट आएका उनी नेपालीभाषी हुनुबाहेक व्यक्तिगत रूपले नेपालीभन्दा बढी आफूलाई भारतीय भएको अनुभव गर्नु अनौठो थिएन ।

उनका दाजु मातृकाप्रसाद एक ठाउँमा लेख्छन्ः ‘विश्वेश्वर कोइराला र मेरो फरक के हो भने उनी ज्यादाजसो भारतीय भूमिमा रहे र उनको सोचाइ पनि कहिलेकाहीँ त्यही पृष्ठभूमिमा आधारित रह्यो । त्यसले गर्दा हाम्रो नेपाली वातावरणसँग अमिल्दो देखियो ।' (बीपी स्मृतिग्रन्थ २०१४, पृष्ठ ३१३) ।

२००७ सालभन्दा अघिसम्म विप्र कोइरालाको नेपालसम्बन्धी ज्ञान त्यतिसारो देखिँदैन । उनलाई के लागेको थियो भने ब्रिटिस शासनको अधीनमा रहेका ५/६ सय भारतीय राज्यहरूसरह नेपाल पनि यौटा स्वायत्त भारतीय राज्य थियो । सन् १९४६ को अक्टोबरमा विप्रले भारतमा बसोबास गर्ने नेपाली समुदायको आफ्नै राजनीतिक संगठन हुनुपर्ने कुरा दर्शाउँदै आह्वानपत्रमा यसो भनेका थिएः ‘आजको समयको माग नेपालमा जवाफदेही सरकारको स्थापना र भारतको स्वतन्त्रता प्राप्तिको बृहत् उद्देश्य लिएको नेपाललाई समेत समेटेर यौटा अखिल भारतीय संगठन बनोस् भन्ने छ... नेपाल भारतकै अभिन्न भाग हो, हामीले भारतवर्षको आफ्नो (भारतीय नागरिक हुनुको) जिम्मेदारी पनि भुल्नु हुँदैन' (राजनीतिक अभिलेख, पृष्ठ ३४०) ।

उनले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना सम्मेलनमा आफ्नो अध्यक्षीय भाषणमा सोही विचार दोहोर्‌याउँदै भनेका थिएः ‘वास्तवमा नेपाल र भारत दुई देश होइनन् । नेपाल जातीय, धार्मिक र आर्थिक दृष्टिबाट हरेक प्रकारले भारतवर्षकै एक प्रमुख अंग रहेको देखिन्छ... (राजनीतिक अभिलेख, परिशिष्ट–२, पृष्ठ ३४२) ।'

पार्टीको स्थापना सम्मेलनमा विप्रका मार्गदर्शक आचार्य जेबी कृपलानी, जयप्रकाश नारायणहरूले समेत नेपाल स्वतन्त्र राष्ट्र भनिए पनि यो देश सदा सर्वदा भारतकै अविञ्छेद्य अंग रहेको धारणा राखेका थिए (नेपालको राजनीतिक दर्पण, भाग १ पृष्ठ ११, देवकोटा) । यहाँ नेपाली राष्ट्रिय कांग्रेसभन्दा १० वर्षअघि स्थापना भएको प्रजापरिषद्को पृष्ठभूमि सम्झिनु पनि प्रासंगिक हुन्छ ।

तत्कालीन राजा त्रिभुवन र भारतीय नेता जवाहरलाल नेहरुसँग बीपी कोइराला ।

प्रजापरिषद्का संस्थापकहरूले नेपाललाई एक सार्वभौमसत्ता सम्पन्न स्वाधीन राष्ट्रको रूपमा लिएका थिए र त्यसै पृष्ठभूमिमा राणाको फौजी शासनलाई समाप्त गरी नागरिक अधिकार कायम गर्ने उद्देश्य राखेका थिए ।

नेपाली राष्ट्रिय कांग्रेसको गठन भारतको खुला वातावरणमा नेपाल भारतकै अभिन्न भूभाग हो भन्ने मान्यतामा भएको थियो । यसको उद्देश्यमा भारतलाई ब्रिटिसको दासताबाट मुक्त गराउने भन्नेसमेत राखिएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाकालसम्म नेपालको स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतप्रति विप्र कोइराला अनभिज्ञ नै थिए भन्ने देखिन्छ । त्यो समयमा पनि नेपाल एक पूर्ण स्वाधीन राष्ट्र थियो भन्ने थुप्रै प्रमाण थिए, जसकोको जानकारी उनलाई थिएन । सुवर्णशमशेर र उनको नेपाल प्रजातन्त्र कांग्रेसको समूहसँग एकीकरण भएपछि नै विप्रले नेपालको स्वतन्त्र राष्ट्रको हैसियतलाई बिस्तारै बुझ्न थालेको पाइन्छ । तर, राजा महेन्द्र गद्दीनसीन नहुँदासम्म भने नेपालको स्वाधीन अस्तित्वको बोध भए पनि नेपाल भारतसँग विशेष सम्बन्धमा गाँसिएको छ भन्ने उनको बुझाइ रहेको कुरा तलका केही प्रसंगले पुष्टि हुन्छ ।

२००६ साल फागुनमा तत्कालीन प्रम मोहनशमशेर दिल्लीको औपचारिक भ्रमणबाट फर्केको दुई दिनपछि श्री कोइरालाले भारतीय पत्रिकामार्फत भनेका थिए– ‘नेपाल पनि भारतजस्तै शान्तिप्रिय देश भएकाले नेपालको वैदेशिक र सुरक्षा नीति भारतसँग एकीकृत गरिनुपर्छ ।' त्यही विशेष सम्बन्धको बेहोरालाई २०११ सालमा पनि सार्वजनिक वक्तव्यमार्फत दोहर्‌याएका थिए (उद्धरण, द स्टेटम्यान, मार्च १९५० बाटः लियो ई रोज, मुरलीधर धरमदशानी, गृष्मबहादुर देवकोटा) ।

२००७ सालको परिवर्तनपछि नेपालको राजकाजमा भारतीय सल्लाहकारहरूको भूमिका, भारतीय सैनिक मिसनको स्थापना (२००८ साल) नेपालको उत्तरी सिमानामा १७ वटा भारतीय सैनिक चेकपोस्टको स्थापनाजस्ता घटनाले नै विप्रलाई नेपालको भारतसँग विशेष सम्बन्ध रहेको बुझाइमा पुर्‌याएको अवस्था देखिन्छ ।

राजा महेन्द्रले गद्दी आरोहण गरेपछि नेपालको शासकीय नीतिसँगै भारतसितको सम्बन्धमा समेत नयाँ मोड आयो । प्रजापरिषद्का संस्थापक अध्यक्ष टंकप्रसाद आचार्य प्रधानमन्त्री (२०१२ माघ–२०१४ असार) मा नियुक्त भएको तीन दिनमै प्रेस वक्तव्य दिएर उनले भारतसँग विशेष सम्बन्धको मान्यतालाई अस्वीकार गरिदिए (इन्डियन डिप्लोमेसी इन नेपाल, मुरलीधर धरमदाशनी, पृष्ठ ५३, एसडी मुनी, इन्डिया नेपाल चेन्जिङ रिलेसन पृ. ४४) । प्रम आचार्यको कार्यकालमा नेपाललाई स्वाधीन राष्ट्रको मूर्तरूप दिने गरी गृह, परराष्ट्र, आर्थिक, मौद्रिकजस्ता नीतिलाई संस्थागत रूप दिइएको थियो ।

त्यस परिवर्तनकारी नीतिले गर्दा भारतसँग नेपालको कथित विशेष सम्बन्ध कायम नरहेको सन्देश प्रसारित हुन पुग्यो । विप्र कोइरालाको प्रधानमन्त्रित्व काल (२०१६ जेठ–२०१७ पौष)मा नेपाल तथा चीनबीचको शान्ति तथा मैत्री सन्धि एवं सीमा सर्वेक्षणको सम्झौताजस्ता महत्त्वपूर्ण कार्यहरू भएका थिए । एक पूर्ण स्वाधीन राष्ट्रले गर्ने प्रकृतिका ती निर्णयहरू थिए ।

उनले तत्कालीन भारतीय प्रम जवाहरलाल नेहरूले नेपालसम्बन्धी एउटा वक्तव्य दिएको विषयमा आपत्ति जनाउँदै भनेका थिए, ‘नेपाल पूर्णतया सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश हो । यसले आफ्नो गृह र परराष्ट्र नीति आफ्नै विवेक र इच्छाअनुसार कुनै बाहिरी सत्तासँग परामर्श नगरी निर्णय गर्छ । भारतसँगको हाम्रो शान्ति तथा मैत्री सन्धिले यही कुरा जनाउँछ ।' (यदुनाथ खनाल: बीपी स्मृतिग्रन्थ, २०१४ पृष्ठ ३१) ।

यहाँ सम्झिनुपर्ने प्रसंग हो, नेपालले चीनसँग हतियार खरिद गर्दा २०४५/४६ सालमा १३ महिनासम्म भारतको नाकाबन्दी बेहोर्नु पर्‌यो र ३० वर्षको निर्दलीय पञ्चायत व्यवस्था नै समाप्त हुन पुगेको थियो । विप्र कोइरालाले आफ्नो प्रधानमन्त्रित्वकालमा नेपाल–भारत सम्बन्धको संवेदनशीलतालाई तत्कालीन परिस्थिति र अन्तर्राष्ट्रिय परिवेशअनुरूप नहेरेर हलुका रूपमा लिएको देखिन्छ ।

पाकिस्तानसँग दौत्य सम्बन्ध गाँस्नु र सोभियत संघलगायत पूर्वी विश्वका देशहरूबाट तिरस्कृत इजरायलसँग दौत्य सम्बन्ध कायम गरेर उसबाट आधुनिक हतियारसमेत खरिद गर्नु उनको परराष्ट्रनीतिको रोमान्सिकता थियो । यसरी हतियार खरिद प्रकरण र अरू कतिपय आन्तरिक कारणबाट राजा महेन्द्रले उनलाई प्रधानमन्त्रीको पदबाट सत्ताच्यूत त गर्दै प्रजातन्त्रमाथि नै प्रहार गर्ने आँटसमेत गर्न पुगे ।

 

विप्र भारत प्रवासमा रहँदा पार्टी अध्यक्ष्य सुवर्णशमशेरको मेलमिलापको वक्तव्यविपरीत व्यक्तिगत रूपबाट राजाको निर्दलीय व्यवस्थाका विरुद्ध सशस्त्र संघर्षको निर्णय लिन पुगेका थिए । उनले नेपालमा तानाशाही सत्ताको विरुद्धमा गान्धीको अहिंसात्मक आन्दोलन काम लाग्दैन भन्ने सिद्धान्त प्रस्तुत गरे । उनले अस्त्रशस्त्र र आर्थिक सहयोगका लागि भारत र पश्चिम युरोपका केही देशहरूसित अनुरोध पनि गरेका थिए ।

१०

विप्र सशस्त्र संघर्षको निर्णयमा पुग्नुका पछडि के कस्ता कारण थिए, कुन परिस्थितिले उनलाई त्यो निर्णयमा पुग्न सघायो भन्ने विषयमा खासै बहस भएको छैन । विप्र र उनका सहयात्रीहरू २०२५ सालमा सुवर्णको वक्तव्यबाट जेलमुक्त भएका थिए । त्यस वक्तव्यको ड्राफ्टमा दिल्लीको पनि संलग्नता थियो (आफ्नै कुरा, पृष्ठ ८२–८५, गिरिजाप्रसाद कोइरालाः आत्मवृत्तान्त, पृष्ठ ३११ ) । त्यतिखेर राजा महेन्द्र र दिल्ली दुवैजना विप्रलाई जेलमुक्त गर्न इच्छुक थिए । तर, प्रयोजन भने फरक फरक थियो । सुवर्णशमशेर भारतमा बसेर नेपालको राजनीतिमा दबाब दिनसक्ने क्षमता राख्तैनथे । तर, विप्रको राजनीतिक व्यक्तित्व उँचो थियो । दिल्लीको प्रयोजनका लागि उनी बढी उपयोगी हुन सक्थे ।

११

यसैबीच एउटा महत्त्वपूर्ण घटनाको प्रसंग आउँछ । नेपालको उत्तरी सिमानामा २००९ सालदेखि तैनाथ १७ वटा भारतीय सैनिक चेकपोस्टले नेपालीको स्वाभिमानलाई कुल्चिरहेको थियो । यस कुराले मित्रराष्ट्र चीनको सुरक्षा चिन्ता बढाएको थियो । थप के पनि कारण थियो भने नेपालको उत्तरी सीमानाका गोर्खाका, मुस्ताङ, डोल्पो, मुगु आदि संवेदनशील ठाउँमा खम्पा विद्रोहीहरूले क्याम्प खडा गरेर तिब्बतविरुद्ध आफ्ना अवाञ्छित गतिविधि बढाएका थिए ।

विद्रोही खम्पाहरूलाई अमेरिकीहरूले भारतीय सैनिक चेक पोस्टको सहयोगले हातहतियार उपलब्ध गराइरहेका थिए । राजा महेन्द्रले कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री नियुक्त गरेर उनीमार्फत भारतीय चेक पोस्ट हटाउन लगाए । नेपाल–भारत सम्बन्धको कूटनीतिक इतिहासमा २००७ सालपछि भारतलाई मन नपरेको त्यो सबैभन्दा ठूलो कदम नेपालले चालेको थियो । तत्कालीन भारतीय विदेशमन्त्रीले त त्यसको विरोधमा धम्कीको भाषासमेत बोलेर गएका थिए । २०२८ सालको भारतको आंशिक नाकाबन्दी र २०२९/३१ मा नेपाली कांगे्रसको सशस्त्र विद्रोह (जसलाई ओखलढुंगा काण्डको नामले जानिन्छ ), त्यस घटनासँग जोडेर हेर्नुपर्छ ।

१२

विप्रको आठ वर्षको भारत प्रवास त्यति फलदायी भएन । उनले भनेका थिए, ‘यहाँ हामी यौटा आशा लिएर आएका थियौं, त्यो आशा पूरा हुन सकेन' (राजनीतिक अभिलेख, पृष्ठ २२०) । विप्र कोइरालाको स्वदेश आगमन हठातमा भएको देखिए पनि यसका पछाडि राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण केलाउनुपर्ने हुन्छ । सन् १९७१ अगस्तमा भारत र सोभियत संघबीच भएको २० वर्षे ‘शान्ति तथा मैत्री सन्धि' दक्षिण एसियाका लागि मात्र नभई विश्व शक्ति सन्तुलनका हिसाबले पनि महत्त्वपूर्ण घटना थियो ।

बंगलादेश पाकिस्तानबाट अलग्गिनु र सिक्किमको भारतमा विलय त्यस सन्धिको तत्कालको परिणाम थियो । सन् १९७५ मा तत्कालीन भारतीय प्रम इन्दिरा गान्धीले लगाएको संकटकाल अर्को महत्त्वपूर्ण राजनीतिक घटना थियो । यता खम्पा विद्रोह पनि नेपालको त्वरित कारबाहीले कहिल्यै नउठ्ने गरी दबाइएको थियो । विप्र कोइराला भारतीय सत्ताले रुचाएको नेता थिएनन्, तर उसले विप्रलाई जहिल्यै प्रयोग गर्दै आएको थियो ।

उनले इन्दिरा गान्धीको संकटकाल र सिक्किमको भारतमा विलयीकरणपछि मात्र त्यो सत्य बुझ्न सकेका थिए । विप्रको पश्चिमी युरोपका देशहरू र अमेरिकासँग सम्बन्ध राम्रो थियो । भारत र सोभियत संघको मैत्री सन्धिले ती पश्चिमा देशहरूको सामरिक सन्तुलनलाई एसिया भूमिमा चुनौती दिइरहेको थियो । विप्र कोइरालाले स्वदेशमा आएर राजनीतिको विस्तार गर्दा नेपालमा पश्चिमी प्रभाव बढाउन आधार खडा हुन सक्थ्यो ।

त्यससँगै भारतको हैकम केही प्रभावहीन बनाउन वातावरण बन्ने थियो भन्ने विश्लेषण त्यस निर्णयको पृष्ठभूमि हुनसक्छ । उनी प्रस्ट रूपमा तत्कालीन सोभियत संघ र भारत सरकारका विरोधी बनेको २०३३ साल पुस १६ को अपिलमा पढ्न पाइन्छ ।

विप्र कोइराला र संघर्षको स्वरूप

१३

विप्र कोइरालाले २००५ सालमा हाम्रो लक्ष्य र हाम्रो साधन शीर्षकमा अलग–अलग दुइवटा लेख लेखेका थिए । त्यहाँ संवैधानिक राजतन्त्रमा जनराज्यको स्थापना गर्ने लक्ष्य अहिंसाको साधनबाट प्राप्त गर्ने भन्ने थियो । उनी भन्छन्, ‘अंग्रेजजस्तो शक्तिशाली साम्राज्यवादीविरुद्ध त अहिंसात्मक आन्दोलन सफलतापूर्वक चल्न सक्यो भने केवल मुट्ठीभरका शासक वर्गलाई हटाउनुपर्ने हामीलाई त्यो उपायले झन् छिटै सफलता दिन सक्छ... नेपाली रष्ट्रिय कांग्रेसले हिंसाद्वारा राज्य कब्जा गर्न सक्यो भने पनि... राणा परिवारका ठाउँमा यस्तै अर्को परिवार वा व्यक्ति समूहको निरंकुश शासन स्थापित हुनसक्छ ।'
सुवर्णशमशेरको नेपाल प्रजातान्त्रिक कांगे्रस भारतीय सत्ताको सल्लाहमा खोलिएको थियो । यो पार्टी खोल्नुको प्रयोजन नै विप्रको पार्टीसँग एकीकरण गरी सशस्त्र आन्दोलनद्वारा राणाको सत्तालाई समाप्त गर्ने भन्ने थियो । यसरी विप्र कोइराला सुवर्णमार्फत भारतबाट प्रयोग भएर सशस्त्र संघर्षलाई स्वीकार गर्न पुगेका थिए । २०१८/१९ साल र २०२९/३१ को सशस्त्र संघर्ष भारतको सहयोगबाट नै सम्भव हुन सक्थ्यो ।

१४

यहाँ हाम्रो ध्यान नगएको इतिहासको अर्को पाटो छ । त्यो के भने, ब्रिटिस शासनबाट मुक्त भएदेखि भारतले नेपाललाई दबाबमा राखेर आफ्नो स्वार्थ पूरा गर्न कूटनीतिक प्रयासका साथै, आर्थिक नाकाबन्दीको हदसम्म र सशस्त्र संघर्ष यी तीनै नीतिलाई अवस्थाअनुसार प्रयोग गरेको देखिन्छ । भारतले नेपालभित्र शान्तिपूर्ण संघर्षको बाटोलाई कहिल्यै ठाउँ दिएन । प्रजातन्त्रका लागि संघर्षको शान्तिपूर्ण बाटो धेरै लामो हुने भए पनि यस साधनले आमजनताको राजनीतिक चेतनालाई उकास्न सक्थ्यो, जुन भारतलाई मान्य थिएन ।

त्यसैले भारतको परोक्ष चाँजोपाँजोमा विप्रले अहिंसात्मक संघर्षको बाटो छोडेका थिए । २०२७ सालमा विप्रले आह्वान गरेको सशस्त्र संघर्ष–ओखलढुंगा काण्ड असफल भएपछि नै उनी मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । त्यसलगत्तै रामराजाप्रसाद सिंहले भारतमा आ श्रयस्थल बनाएर राजाविरुद्ध सशस्त्र विद्रोहको तयारी गरेका थिए । उनको लडाकु जत्थाले २०४२ सालमा कांगे्रसको नेतृत्वमा जारी सत्याग्रहलाई राजधानीको अति संवेदनशील ठाउँहरूमा बम विस्फोट गराएर बिथोल्न पुगेको थियो ।

२०४६ सालको परिवर्तनपछि बनेको नेपालको संविधान भारतको अनुकूल नभएको बुझिन्थ्यो, जसको अभिव्यक्ति माओवादीको आफ्नै देशका विरुद्धमा सशस्त्र युद्धलाई उसले गरेका सहयोगबाट बुझ्न सकिन्छ ।

१५

नेपाली कांग्रेसले गान्धीको अहिंसात्मक संघर्षमा आस्था राख्ने पार्टी भए पनि पटकपटक हिंसात्मक आन्दोलन गरेको थियो । बरु सशस्त्र संघर्षमा विश्वास राख्ने कम्युनिस्ट संगठनले अहिंसात्मक संघर्षलाई अनुसरण गरेको पाइन्छ । यहाँ कम्युनिस्टको नाममा झापामा २०२८÷२९ सालको व्यक्ति हत्याको कुरा पनि उठ्छ । झापाली समूहको त्यस कारबाहीलाई कम्युनिस्टको संघर्ष थियो भन्नु भन्दा पनि बंगालको नक्सलबाडी विद्रोहको प्रभावमा परेका किशोरहरूको क्रान्तिको रोमान्सिकता थियो भन्नुपर्छ । एमालेका आजका नेताहरू त्यतिखेर २०/२२ वर्ष उमेरका आलाकाँचा केटाहरू थिए ।

१६

२००७ सालको परिवर्तन धेरै हिसाबले युगान्तकारी प्रकृतिको थियो । तर, व्यवस्थापनको योजना नभएकाले देशले निश्चित राजनीतिक दिशा लिन सकेन । विप्र कोइरालाले एक ठाउँमा लेखेका छन्, ‘त्यस बखत नेपाली कांग्रेसको लक्ष्य राणाशाही प्रथाको अन्त्य गर्नुबाहेक अरू केही पनि थिएन... हामीलाई त्यसपछि कता जाने र देशमा कस्तो समाजको निर्माण गर्ने इत्यादि कुरातिर ध्यान दिने अवसर नै मिलेन' (राजनीतिक अभिलेख, पृष्ठ ३७) ।

१७

विप्र कोइरालाको राजनीति सजिलो थिएन, निकै जोखिमयुक्त थियो । उनका कतिपय विचारहरू समयको अन्तरमा परस्पर विरोधी पनि देखिएका छन् । राजनीतिक इतिहासका लेखक प्रा.डा. राजेश गौतम विप्रको नीतिमा अस्थिरता देख्छन् र थप्छन्, (बीपी) आफैंमा सुरुमा अस्थिरता थियो, राजनीतिक परिपक्वता आएको थिएन, तर अबचाहिँ छ' भन्ने उल्लेख गरेका छन् (हिमाल खबरपत्रिका ९–१५फागुन २०७२) ।

प्रा.डा. लोकराज बराल त विप्रको नीतिलाई दोहोरो चरित्रको भनेर ठोकुवा नै गर्छन् (कान्तिपुर, १८ वैशाख २०७३) । पंक्तिकारको विचारमा विप्रको राजनीतिक यात्रालाई एकमुष्ठमा भन्न सजिलो छैन । विभिन्न कोण र आयामबाट आलोचनात्मक अध्ययनको खाँचो छ ।

१८

विप्र कोइरालाको राजनीतिक सक्रियता ५० वर्षभन्दा बढी रहेको देखिन्छ । तर, नेपालको राजनीतिमा उनको योगदान ३६ वर्षसम्म रहेको थियो । त्यसमा पनि २००३ सालदेखि २०१७ सालसम्मको उनको राजनीतिक जीवन अत्यन्त सार्थक र ऊर्जावान् रहेको हामी पाउँछौं । उनको राजनीतिक दर्शनले तत्कालीन राजनीतिलाई मात्र नभई आजको समाजलाई पनि तरंगित गरिरहेकै छ । उनका दाजु मातृकाप्रसाद कोइराला, विप्रको ६८ वर्षको जीवनकालको भाग यसरी लगाउँछन्ः भारतमा प्रवासकाल ३७ वर्ष, बन्दी जीवन भारत र नेपालमा १५ वर्ष, प्रशासन दुई वर्ष तीन महिना रह्यो । भारत प्रवास र बन्दी जीवन गरी ५२ वर्ष हुन्छ । यसरी जनताको भागमा सोझो सम्पर्क १६ वर्षको मात्र पर्न जान्छ । (मातृकाबाबु ः चिन्तन र स्मृति, पृष्ठ–१०९, सन् २०१४) ।

अन्त्यमा, विप्र कोइरालाको राजनीतिक यात्राका घुम्तीहरू र उनले देखाएको राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायसहितको समृद्धि आज पनि मननीय र सान्दर्भिक छ । नेपाली समाजले उनलाई एक निष्ठावान् राजनीतिज्ञ, उच्चकोटिका साहित्यकार एवं प्रखर बौद्धिकका रूपमा चिरकालसम्म सम्झिराख्नेछ ।
...


बीपीको संक्षिप्त विवरण

जन्मः विसं १९७१ भारतमा
बुवाः कृष्णप्रसाद कोइराला
आमाः दिव्या कोइराला
राजनीतिक जीवनक्रमः
– विसं १९९४ मा भारतीय सोसलिस्ट कांग्रेसको सदस्य ।
– सन् १९४२ मा ‘भारत छोड' आन्दोलनमा सहभागी भई दुई वर्ष जेल ।
– सन् १९४४ मा जेलमुक्त भएपछि नेपाली राजनीतितर्फ केन्द्रित ।
– सन् १९४७ मा भारतको कोलकातामा नेपाली राष्ट्रिय कांग्रेसको गठन ।
– विसं २००६ चैतमा महावीर र सुवर्णशमशेरहरूको ‘नेपाल प्रजातान्त्रिक कांग्रेस' र बीपीको ‘नेपाली राष्ट्रिय कांग्रेस'को एकीकरण भई नेपाली कांग्रेस गठन ।
– विसं २००७ साल कात्तिक २६ गते कांग्रेसको नेतृत्वमा राणाशाहीविरुद्ध सशस्त्र आन्दोलन सुरु । दुई महिना नपुग्दै टुंगोमा पुग्न सफल ।
– २०१५ सालमा नेपालमा पहिलो आमचुनाव । नेपाली कांग्रेस दुई तिहाइ स्थान हासिल गर्न सफल । बीपी कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित सरकार ।
– विसं २०१७ साल पुस १ गते राजा महेन्द्रद्वारा सरकार अपदस्थ, संसद् विघटन, पञ्चायती व्यवस्था लागू । बीपी कोइराला र उनका सहयोगीहरू जेलमा ।
– विसं २०२५ मा सुवर्णशमशेरले निर्दलीय पञ्चायत संविधानलाई समर्थन गरी राजालाई सहयोग गर्ने बेहोराको वक्तव्य दिएपछि बीपीलगायत काँग्रेसका नेता र कार्यकर्ताहरू जेलमुक्त । नेपालमा अनुकूल वातावरण नपाएपछि भारत निर्वासित ।
– विसं २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिई बीपी नेपाल फिर्ता । विमानस्थलबाटै पक्राउ, जेल चलान ।
– विसं २०३६ सालमा जनमतसंग्रहमा बहुदल पक्ष झिनो मतले पराजित भएपछि राजसंस्थाको अपरिहार्यता र प्रजातन्त्रको मान्यतामा अडिग ।
– विसं २०३९ साउन ६ गते निधन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.