यसरी बाटियो विनीता बरालको 'जुइनो'

एक सुन्दर गाउँ । आँखाले नभ्याउने, टाढाटाढासम्म फैलिएका हिलाम्मे चारपाटे खेतहरू । खेतका छेउछेउमा परालको जुइनोले बाँधिएका धानका हरिया बीउहरू । चौबन्दी चोली र धोती लगाएर धान रोप्न रोपारहरू हाँस्दै आइसकेका छन् । रोपारहरूसँग जिस्किने लोभमा बाउसेहरू अघि नै आइसकेका छन् । रोपाइँको माहौल अति नै रमणीय छ ।
यत्तिकैमा रोपारहरूको बीचबाट निस्कन्छिन् एउटी सुन्दर युवती । उता बाउसेको भीडबाट लुसुक्क आइपुग्छन् एक युवक । दुवैको झ्वाट्ट आँखा जुध्छ । एकअर्कालाई हेराहेर गरिरहन्छन् । आफू कहाँ छु भन्ने नै बिर्सिन्छन् दुवैले, धेरै बेरसम्म । यताउता छरिएका बाउसे र रोपारहरू कानेखुसी गर्न थाल्छन् ।
केही मिनेटको हेराहेरपछि लजाउँछन् दुवै युवक र युवती । पहिला युवती मुसुक्क हाँस्छे । अनि त्यसपछि युवक । त्यसैबेला आकाश गर्जिन्छ । अनि, वातावरणलाई प्रेमिल बनाउँदै पानी दर्कन थाल्छ ।
बाउसेहरू असारे भाका हाल्न थाल्छन् । झमझम गर्दै परिरहेको पानीले गीतमा संगीत भर्छ । रोपारहरूले बाउसेको गीतको तालमा धान रोप्दै एकअर्कालाई हिलो छ्याप्दै गर्दा ती युवक र युवतीको मुटुको ढुकढुकी बढ्छ । ती बीच प्रेमको जुइनो बाटिन्छ ।
के यसरी नै सुरु हुन्छ तपाईंको उपन्यास 'जुइनो'मा प्रेम ?
केही दिनअघि एकजना पत्रकार मित्रले रोपाइँ र प्रेमको यति मिठो दृश्य आफ्नो मानसपटलमा सिर्जना गरी सोध्नुभयो । उहाँको कथाले म लोभिएँ । एक मन लाग्यो, ‘जुइनो' त्यसरी नै सुरु गरेको भए पनि हुने । फेरि, अर्को मनले भन्यो, मैले प्रेमकथा लेख्छु भनेर सुरु गरेको उपन्यास होइन ‘जुइनो' । ‘जुइनो' त मैले नेपालमा कृषिको सम्मान र प्रचार होस् भन्ने उद्देश्यले लेखको हुँ ।
खासमा, म कृषिसँग जोडिएका आफ्ना अनुभवहरू बाँड्नका लागि लेखेको हुँ । यसोगर्दा कामको खोजीमा बिदेसिने हजारौं युवाका लागि प्रेरणा बन्न सक्लान् भन्ने आशा छ मेरो ।
तर, फिल्म पृष्ठभूमिबाट आएर कृषि व्यवसायमा लागेकी हुनाले मलाई के लेख्ने, कसरी लेख्ने भन्ने दुविधा हुनु थियो । सानैदेखिको डायरी लेख्ने बानीले आफ्ना अनुभवलाई डायरीमा उतार्न भने त्यति गाह्रो भएन । लेख्दै जाँदा माटोसँग झन् गहिरो सम्बन्ध गाँसियो । बाँझो खेत देखेपछि ममा उत्पन्न हुने छटपटी र आफैंले छरेको बीउबाट उम्रिएका टुसा देखेर रोमाञ्चक बन्ने मेरो मन— सबैलाई समेट्ने कोसिस गर्दा लगभग एउटा किताब नै तैयार भयो ।
खुसी हँदै मेरा भाइ–बहिनीहरूलाई सुनाए । उनीहरूले अलिकति पनि चाख लिएर सुनेनन् । जबर्जस्ती सुनाउन खोज्दा हाँस्दै ‘कृषि डायरी कसले पढ्छ ? ' भन्दै उडाइदिए । मलाई एकपल त निराशा जाग्यो । तर हार मानिनँ आफ्ना अनुभवलाई अर्को स्वरूपमा ढाल्न सकिन्छ कि भनी सोच्न थालेँ ।
भाइबहिनीहरू प्रेमका कुरा गर्थे । प्रेमका कथा, उपन्यास पढ्थे । एकदिन मैले मन चोर्ने हिसाबले मेरो अति प्रिय भाइ दिक्पाललाई सोधेँ, ‘एउटा प्रेम कथा लेखेको छु । पढ्ने हो ? '
त्यो सुन्नेबित्तिकै उसको अनुहार धपक्क बल्यो । उसले एक सासमै भन्यो, ‘लेखिसक्नु भो ? खै, कहाँ छ ? '
उसको कपाल मायाले सुम्सुम्याउँदै सोचेँ, कृषि पृष्ठ्भूमि भएको प्रेमकथा लेख्छु ।
त्यति हुँदाहुँदा पनि प्रेमभन्दा कृषिलाई बढी स्थान दिने चाहना थियो मेरो । मलाई प्रेम गर्नेभन्दा पनि मेरो सपना बोकी मैले साहस गर्न नसकेको बाटोमा हिँड्ने पात्रहरूबारे लेख्न चाहन्थेँ म ।
लेखनको उमंगले उद्वेलित म किचनको डाइनिङ टेबलमा बसेर लेख्दा घन्टौं बितेको पत्तो हुँदैनथियो । १५ दिनमा हातैले सरसर्ती लेखेर एकसरो सक्काएँ । त्यसपछि रोमन युनिकोडको सहारा लिँदै त्यसलाई कम्प्युटरमा उतारेँ । त्यसो गर्न मलाई आठ महिना लाग्यो । पछि आफैंले पढ्दा चित्त बुझेन । पुनर्लेखन गरेँ । उपन्यास कस्तो भयो, आफैंले भेउ पाउन सकिनँ । कवि विप्लव ढकाल दाइलाई अनुरोध गरेँ, ‘मेरो उपन्यास पढेर कस्तो छ भनिदिनुस् त ।'
मलाई डर थियो, कतै उपन्यास लेख्ने मेरो सपना तुहाउनुपर्ने त होइन ?
तीन दिनपछि फोन गरे विप्लव दाइले भन्नुभयो, ‘विनीता तिम्रो उपन्यासमा प्राविधिक गडबडी छ । त्यो मिलाउनुपर्छ । तर, उपन्यास गर्भमै तुहाउने कुरा नगर ठूलो दुर्घटना हुन्छ ।'
विप्लव दाइको कुरा सुनेर ढुक्क भएँ । तर प्राविधिक गडबडी भन्या के हो त ? बुझिनँ । त्यसबारे बुझ्न पढिसकेका र पढ्न बाँकी किताबहरू पढेँ । पहिला आनन्दको लागि पढ्थेँ, अहिले ज्ञानका लागि निम्ति पढ्न थालेँ ।
केही पुस्तक पढिसकेपछि फेरि उपन्यासमा काम गर्न थालेँ । छटपटी झन् बढ्यो । म अर्कै भएँ । अनि एकोहोरो पनि । साथीहरू गनगन गर्न थाले, एकलकाटे भई यो भन्दै । हुन पनि त्यति बेला सबैसँग सम्पर्कविहीन भएको थिएँ म । कति पटक त एक्कासि काठमाडौंबाट गायब हुन्थेँ र सीधै उपन्यासको पृष्ठभूमि मदानपुर पुग्थेँ । पात्रहरू, मदानपुरको रहन सहन, गाउँ— सबैलाई मानसपटलमा कैद गरेर फर्कन्थेँ ।
पात्रहरू चिन्न थालेपछि मलाई नयाँ साथीहरू पाएझैं लाग्न थाल्यो । उपन्यासकी मूल पात्र ‘कथा' त मेरो अति नै मिल्ने साथी बनिन् । आखिर उसको र मेरो उद्देश्य एउटै जो छ ! तर ऊ मजस्तै छैनन् । मैले सोचेका, कल्पेका तर व्यवहारमा उतार्न नसकेका सारा सपना र रहरहरू बोकेर दृढ संकल्प बोकेर हिँडेकी छन् ती ।
उपन्यासमा आफ्नो लक्ष्यमा पुग्ने बाटो त ‘कथा' आफैंले खोजेकी हुन् । मैले त केवल उनको अगाडि आफ्नो सपना राखिदिएको मात्र थिएँ । उनको आत्मविश्वास देखेर मैले धेरै चोटि आफैंलाई प्रश्न सोध्थें । के साँच्चै त्यति साहस भएकी केटी हाम्रो समाजमा भेटिएला ?
साहसीमात्र कहाँ हो र, राम्री पनि उत्तिकै । गहँगोरो बाटुलो अनुहार । कतै कुनै दाग नभएकी । टिलिली चम्किने अनुहार । आँखाहरू पनि नशालु । उपन्यासको अर्को मूख्य पात्र अशोक पनि त लठ्ठै थियो पहिलो चोटी कथालाई भेट्दा । ऊ कत्तिबेर आफूभित्रै हराएको थियो, उसैलाई थाहा हुन्न ।
सधैं अनुहारभरि लटरम्मै दाह्री फलाएर हिँड्ने अशोक कथालाई देखेको दिनदेखि सफाचट भएर हिँड्न थालेको थियो । उसले त्यस्तो व्यवहार देखाउन थालेपछि मैले बुझेँ उसको जीवन फेरिँदै छ । अन्ततः ऊ कथाको प्रेमिल जुइनोमा बाँधियो । मैले चाहेको थिएँ, कथा र अशोकले कृषिका कुरा मात्र गरून् ।
प्रेरणा बनून् युवापुस्तालाई कृषि कर्मतिर आकर्षित गर्न । तर उनीहरूको प्रेमलाई मैले बेवास्ता गर्न सकिनँ । उनीहरूको प्रेमको मूल पहिलो पानामै फुटिसकेको रहेछ । त्यही मूलबाट निस्किएका प्रेमका कलकल भावनाहरू प्रत्येक पानामा मगमगाउन थाले । आखिर बाध्य भएँ कृषि र प्रेमलाई बाटेर प्रेमको ‘जुइनो' बनाउन ।
प्रतिक्रिया दिनुहोस !
