घुम्तीपिच्छे फरक इन्द्रमाया

घुम्तीपिच्छे फरक इन्द्रमाया

बीपीलाई पढ्न थालेको उमेर सम्झना छैन । तर बीपीका सिर्जनाले तानिएकोचाहिँ म कलिलो उमेरदेखि नै हो । प्रारम्भमा ‘तीन घुम्ती' शीर्षकले नछोए नि पहिलोपटक पढेपछिको तरंगले भने धेरै दिनसम्म झंकृत बनाइरह्यो । त्यो झनझनाहटको पुनरावृत्ति आजसम्म प्रत्येक पठनमा मैले गरेकी छु ।

सानो आकारको यो लघुउपन्यासले मेरो अनुमानविपरीत मलाई प्रभावित पार्‌यो । सानो काँटको यो उपन्यास आफ्नो आकारभन्दा कैयौं गुना अग्लो भएर नेपाली उपन्यासको क्षेत्रमा स्थापित छ ।

‘तीन घुम्ती'ले चिनाएकी इन्द्रमायाका जीवनका घुम्तीहरू बडो उतारचढावपूर्ण लाग्छन् । काठमाडौंकी खानदानी नेवार कन्या तत्कालीन शासन व्यवस्थाविरुद्धमा लागेको पहाडिया ब्राह्मण युवकसँग परिवारको मञ्जुरीबिना नै विवाह गर्छे । २००७ सालको क्रान्तिको पृष्ठभूमिमा रहेको यसको कथानकले नायिका इन्द्रमायामा राजनीतिक चेत पनि भरिपूर्ण पारिदिएको छ ।

ऊ पति पीताम्बर र उसको मित्रमण्डलीमा निर्धक्क आफ्ना कुरा राख्छे । पीताम्बरप्रतिको उसको दैहिक र आत्मिक आकर्षण अचम्मको छ । शारीरिक सुखका लागि व्यग्र भइरहेकै अवस्थामा पीताम्बर समातिएपछि एक्लो र उदास बनेकी उसको जीवनमा रमेशको प्रवेश हुन्छ । उसको व्यवहारबाट एक हदसम्म प्रभावित ऊ रमेशको दैहिक सम्बन्धको आग्रहलाई अटेर गर्छे ।

एक दिन उसको यो हठको पनि अन्त्य हुन्छ । उसको जीवनको यो दोस्रो घुम्तीले उसलाई आमा बनाउँछ । रमेशको वीर्यलाई आफ्नो गर्भमा हुर्काउँदै ऊ पीताम्बरको प्रतीक्षामा बस्छे । अर्कैको बच्चाकी आमा बनेकी पत्नीलाई पीताम्बरको अहम्ले सजिलै स्वीकार्न नदिएपछि ऊ इन्द्रमायालाई आफूसँग बस्ने भए छोरी छोड्ने आदेश दिन्छ ।

अन्ततः छोरी च्यापेर पीताम्बरलाई छोड्ने निर्णय गरेसँगै नारीको सर्वाधिक महत्तम् स्वरूप मातृतत्त्वले इन्द्रमायालाई अग्ल्याएको छ । यी तीन घुम्तीहरूमा इन्द्रमायाले लिएका निर्णयमध्ये तेस्रो निर्णय सर्वाधिक महत्त्वको छ । प्रिया (पत्नी) त्वमाथि मातृत्वको विजयलाई देखाउने यो मोडमा ऊ कत्ति पनि विचलित नभई अगाडि बढेकी छे ।

छोरीको व्यवस्थापनको जिम्मेवारी उठाउन खोज्ने रमेश होस् या तिमीलाई हेर्छु भन्ने पीताम्बर दुवैको कुनै सहयोगबिना ऊ छोरी र आफ्नो व्यवस्थापन गर्न सक्षम भएको देखाएर उपन्यासकार कोइरालाले इन्द्रमायाको एक अलग व्यक्तित्वको निर्माण गरेको देखिन्छ । इन्द्रमायाजस्तो चरित्रको परिकल्पना गरेर लेखकले तत्कालीन समाजलाई मात्र नभएर आजको समयलाई पनि छक्क पारेको महसुस म गर्छु ।

कोइरालाको ‘तीन घुम्ती' पढ्दा मलाई इन्द्रमायाका सवाल–जवाफहरूले सदैव आकर्षित गर्छन् । ऊ कसैलाई मन पराइसकेपछि, माया गरिसकेपछि शरीरको पवित्रता भन्ने कुरा गौण हो भन्ने निष्कर्षमा पुगेकी छ । यही बोध भएपछि नै ऊ रमेशसँग सहबासका निमित्त तयार भएको देखिन्छे ।

मनभरि अरू कसैलाई राखेर पवित्रताको रटान गर्नु भनेको ढोंग हो ऊ यसरी बुझ्छे । तर, सहबासपछिका हरेक बिहान विषादको मसिनो रेखाजस्तो केही भने ऊ अनुभव गर्छे । यही विषादको निदानका निमित्त सायद ऊ बागमती स्नान गर्छे । पशुपतिको दर्शन गर्छे ।

गर्भवती भएपछि रमेशभन्दा बढी ऊ नै फेरिएकी छे । रमेशको आगमन पूर्णतः बन्द हुँदा पनि उसमा त्यसको कुनै परवाह छैन । पीताम्बरको घरमा रमेशको बच्चालाई गर्भमा हुर्काउँदै ऊ पीताम्बरकै प्रतीक्षामा बस्छे । कसैले केही भन्ला कि भन्ने चिन्ता त उसलाई पटक्कै छैन । लोग्ने आएपछि पनि ऊ निसंकोच प्रस्तुत भएकी छ ।

पीताम्बर उसलाई असत्ती भएको आरोप लगाउँछ । ‘असत्ती भए त म पो हुन्छु त, तिम्रो वास्ता त मेरो प्रेमसँग मात्र हुनुपर्ने होइन र पीताम्बर ? ' उसको यो प्रश्नले म लोभिन्छु र मेरो समयलाई हेर्छु कतिजना महिला होलान् कि यसरी आफ्नो लोग्नेसँग बोल्नसक्ने !! इन्द्रमायाको यही उत्तर मात्रैले पनि आजका धेरै घरहरूलाई टुक्रिनबाट बचाउने थियो ।

कोइरालाले अधिकांश कथा, तिनका सन्दर्भ, पात्रहरू आफ्नै वरिपरिबाट लिएका छन् । हुनसक्छ, यो उपन्यासमा पनि कुनै सत्यताको अंश होला ! कोइरालाको सुन्दरीजल जेल बसाइका क्रममा लेखनकर्म सुरु हुँदै जाँदाको प्रारम्भतिरै विसं २०१८/८/१० को दैनिकीमा एउटा कथा लेखनको चर्चा छ ।

साथै आफ्नी पत्नी सुशीलालाई आफूलाई गलत नबुझ्न कोइराला आग्रह पनि गर्छन् र भन्छन्, ‘यो कथाको रमेश भनेको मै हुँ ।' हो यहीँनेर म पनि रोकिन्छु जब कोइरालाका कथामा कुनै रमेश भेटिँदैन अनि केही छुटेझैं फेरि ‘तीन घुम्ती' पल्टाउँछु ।

इन्द्रमायालाई प्रेमसम्मुख मांसप्राचीर खडा नगर्न आग्रह गर्ने, हाउभाउ, कटाक्ष र व्यवहारले प्रेम देखाउने, म तिमीलाई बलात्कार गर्न सक्दिनँ इन्द्रा भन्ने र अन्ततः उसलाई राजी गराएर उसकै इच्छामा आफूहरूबीचका तमाम दूरीलाई मेट्नसक्ने कलावान् पुरुष जो विवाहित छ (यो कुरा इन्द्रमायाले पछि थाहा पाउँछे तर पनि कुनै गुनासो राख्दिनँ), जो राजनीति पनि गर्छ र प्रजातन्त्रको प्राप्तिपछि मन्त्री पनि हुन्छ– यो को हुन सक्ला ? म इन्द्रमायाको अस्तित्वप्रति सोचमग्न हुन्छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.