भारत र चीनसँग सन्तुलित सम्बन्ध नराख्दा खतरा : देउवा
काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध नराख्दा राष्ट्रिय सुरक्षामा खतरा आउनेसक्ने बताएका छन् ।
अविश्वास प्रस्तावमाथिको छलफलमा बोल्दै भने, दुवै छिमेकीसँग हामीले राम्रो र सन्तुलित सम्बन्ध राख्नुपर्छ । हाम्रो परराष्ट्र नीतिको मर्म हो । यसो गर्न नसक्दा हामीलाई राम्रो हुँदैन । हाम्रो राष्ट्रिय सुरक्षाको एउटा बलियो आधार छिमेकीसँग सन्तुलित सम्बन्ध हो ।'
उनले छिमेकीका बारेमा शंका उपशंका गर्नु आवश्यक नरहेको बताए । उनले भने, हामी दुई ठूला छिमेकीको बीचमा छौं । उनीहरुका कारण हामी सुरक्षित छौं । हामीसँग ठूलो सेना भएर हामी सुरक्षित भएका होइनौं ।
देउवाले नयाँ प्रधानमन्त्री बनाउन बाधा अड्काऊ फुकाउको सिफारिसको आवश्यकतै नभएको बताए।उनले भने, ‘नयाँ प्रधानमन्त्री बनाउन बाधा अड्काऊ फुकाउको सिफारिस आवश्यक थिएन तर त्यो भइराखेको छ ।’
देउवाले प्रधानमन्त्री निर्वाचित गर्नुपर्छ भन्ने कुरा संविधानमा लेख्न नपर्ने समेत बताए । देउवाले भने, ‘संसदमा बहुमत प्राप्त भए प्रधानमन्त्री हुन्छ । बहुमत गुमाउने प्रधानमन्त्रीबाट हट्छ यो कुरा संविधानमा लेख्दै पर्दैन ।’
केपी शर्मा ओलीसँगको राजनीतिक यात्राका बारेमा समेत देउवााले सम्झना गरेका छन् । ‘केपी शर्मा ओलीले जेल बस्दाको पीडाको कुरा गरेर साध्य छैन्,’ देउवाले थपे, ‘उहाँसँगको लामो राजनीतिक यात्रामा म सँगै छु ।’