'ओलीले राजनेताको परिचय दिए'
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले राजीनामा दिएर राजनेताको परिचय दिएको टिप्पणी गरेका छन्।
संसद्मा राजीनामा घोषणा गरेरपछि ओलीसँग हात मिलाउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘ओलीजी तपार्इंले आज राजनेताको परिचय दिनुभयो । भविष्यमा पनि हामीबीच सहकार्य जारी रहनेछ ।' आम अनुमान र आशंकालाई गलत सावित गर्दै ओलीले अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै राजिनामा दिएका छन्।
ओलीले राजीनामा नदिने, अविश्वास प्रस्तावपछि ओलीले पद छोड्ने, नयाँ सरकार बनाउन अवरोध गर्ने र संसद् विघटन गर्नेजस्ता अनेक हल्ला र चर्चा बजारमा भएका थिए । तर ओलीले सहज रुपमा पद छोडेर राजनीतिक संस्कार र नैतिक साहस प्रदर्शन गरेका छन्।
राजीनामा घोषणा गरी बाहिरिएपछि संसद् भवन नयाँबानेश्वरस्थित प्रधानमन्त्रीको च्याम्बरमा पुगेका अध्यक्ष दाहालले ओलीसँग हात मिलाउँदै भने, ‘तपाईंले ठूलो राजनेताको परिचय दिनुभयो । धन्यवाद छ !'
ओलीले संसद्को रोस्टमबाट ओर्लंदै दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, विजयकुमार गच्छदार, आफ्ना पार्टीका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतसँग हास्यमुद्रामा हात मिलाएका थिए । मधेसी मोर्चाका नेता उपेन्द्र यादवसँग पनि भलाकुसारी गर्न प्रधानमन्त्री पछि परेनन् ।
राजीनामा दिनुअघि ओली नेतृत्वको मन्त्रिपरिषद्को अन्तिम बैठकले नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। ओलीले नयाँ प्रधानमन्त्रीको निर्वाचन र सरकार गठन सहज रुपमा होस् भनेर बाधा अड्काउ फुकाउने निर्णय गरेको बताए ।
ओलीले भने. 'अविश्वास प्रस्ताव पेस भएपछि आफूलाई पदमा टाँसिएर बस्ने मन पटक्कै थिएन तर सात दिन त संसद्को नियमावलीअनुसार मैले पनि कुर्नुपर्यो। सात दिन कुर्न साथीहरुलाई धेरै छटपटी र हुटहुटी भएछ क्यारे । ओलीले नछोड्ने भयो भनेर ठूलै रुवाबासी भयो । तर कानुनका छिद्र खोजेर वा पहिल्याएर पदमा टाँसिने रहर मलाई कहिल्यै भएन। '
उनले बजारमा आफ्नाबारेमा अनेक चर्चा भएको बताउँदै भने, 'जस्केलबाट हिड्ने, ढोका नभए झ्यालबाट हाम फाल्ने काम मबाट हुँदैन । आमनेसामने नै लडाइ गर्ने मान्छे हुँ म।'
संसद्मा ओलीको बोली
–सरकारको जय या पराजय ठूलो कुरा होइन ।
–संविधान र लोकतन्त्रले सफलता हासिल गर्नु महत्त्वपूर्ण विषय, मेरा लागि अविश्वासको प्रस्ताव सामान्य र स्वाभाविक विषय ।
–एउटा भनाइ छ ‘कपडा काट्नुभन्दा पहिले दस चोटि नाप, ता कि कैंची चलाइसकेपछि पछुतो नहोस् ।'
–२०५२ सालको यस्तै बर्खाको समयमा, मनमोहन अधिकारी नेतृत्वको सरकारलाई एउटा बजेटसम्म पेस गर्न नदिइकन अपदस्थ गर्ने राजनीतिक चक्रव्यूह दोहोरियो ।
–हामीले ९ बुँदे सहमतिका माध्यमबाट तत्कालिक समाधान त खोज्यौं, तर आज स्पष्ट हुँदैछ साथीहरूको मनसाय बेग्लै रहेछ । यता सियो उता तुरुक्क च्यातिने, उता तुन्यो यता तिरिक्क गर्नेबाट थोरै हैरान पनि भएको हुँ । एक माघले जाडो जाँदैन भन्ने उखान नै छ ।
–सरकार सञ्चालन गर्न गठित उच्चस्तरीय राजनीतिक समितिका संयोजक र सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने माननीयज्यू एउटै हो ?
– संसद् र संसदीय खेल पनि आफैं फोहोरी हुने होइन । संलग्न खेलाडीहरूले फोहोर गरेमा हुने हो ।
– कहिले वारि किनारा र कहिले पारि किनारा गरेर राजनीतिलाई दाउपेचको विषयमात्रै बनाउनेसँग मेरो विनम्र आग्रह छ, कृपया नजर एकातिर, निसाना अर्कैतिर जस्तो भूमिका नखेलौं ।
– मेरो प्रश्न छ, पूर्ववर्ती सरकारले प्रस्तुत गरेर अलपत्र छाडेको संविधान संशोधन प्रस्तावलाई सुधारसहित पारित गराउनु र आन्दोलनलाई साम्य पार्नु सरकारको असफलता हो ?
म प्रधानमन्त्री बन्नुअघि नेपाल–भारत सम्बन्ध इतिहासकै चिसो बिन्दुमा थियो ।
– नेपाललाई सधैंभर आ िश्रत राष्ट्रको हैसियतमा सीमित राखोस् भन्ने उहाँहरूको चाहना हो ?
– मित्रवत् व्यवहारले नै मित्रवत् सम्बन्धको आधारशिला निर्माण गर्न सक्छ भन्ने मेरो दृढ मान्यता छ ।
– देशहरू, भूगोल र जनसंख्याका आधारमा सानाठूला हुन सक्छन्, तर सार्वभौमसत्ता बराबर हुन्छ ।
– एकथरी बन्दुकद्वारा नै राज्यसत्ता कब्जा गर्छु भन्ने मान्यतामा हिँडिरहनुभएको थियो । अर्काथरी टाउकाको मूल्य तोक्दै बन्दुकबाटै ठेगान लगाउँछु भन्दै हिँड्नुभएको थियो । द्वन्द्वोत्तर समाजमा यस्तो हुने गर्छ, सपनाहरू मरेतुल्य हुन्छन् । यस्तो स्थितिलाई अन्त्य गर्ने बेला आएको छ । मेरो प्रश्न नै भयो, हेरौं न त दुईचार महिना, भाषणमात्र हुन्छ कि काम पनि गरिन्छ ?
– कहिले बाबु पालो, कहिले छोराको, कहिले सासूको त कहिले बुहारीको भनेजस्तै प्रधानमन्त्रीको कुर्सीमा टेडो आँखा लगाएर बसेका मित्रहरूले गर्ने प्रगति र अधोगतिको वासलात जनताले हेर्लान् नि !
–‘सेल्फ सेन्ट्रिक', ‘इगो सेन्ट्रिक' भएको आरोप लगाउनुभएमा म फेरि दोहर्याउन चाहन्छु, ममा त्यस्ता कुनै निजी आग्रह र पूर्वाग्रह छैन । सरकारमा जाने कारकेडमा साइरन बजाउँदै दौडनका लागि त हैन होला !
–मोर्चाका साथीहरू पर्टी या व्यक्तिविशेषलाई सत्तामा पुर्याउने भर्याङ र कसैलाई सत्तामा जानबाट रोक्ने ब्रेकरका रूपमा आन्दोलन शब्दको अवमूल्यन नगरौं । संसद्मा छलफल सुरु नहुँदै सत्तामा पुग्ने हुटहुटीले साथीहरूको आँखा कहाँ केन्द्रित छन् भन्ने स्पष्ट हुन्छ ।
– इतिहासको यस कालखण्डमा को कुन स्थानमा उभिनेछ जनताले हेक्का राख्ने नै छन् । आवधिक निर्वाचनको बेला जनताको इजलासमा यी सबै विषयको छिनोफानो गर्नेछ ।
—बेलाबेलामा जंगबहादुरको खाँचो भनेर बहस गरेको सुन्छु । म सबैलाई सचेत रहन आग्रह गर्दछु– मुलुकलाई त्यस दिशातिर धकेल्ने खेल नखेलियोस् । सत्यका पक्षमा उभिनेहरू दण्डित हुनुपर्ने, देशभक्तिको कुरा गर्नेहरूले सजाय भोग्नुपर्ने र अवसरवादको बिगबिगी हुने स्थिति पनि आउँछ मुलुकमा । राजनीतिक स्थायित्व, समृद्धि र राष्ट्रिय हितका निम्ति जसरी स्वस्फूर्त रूपमा चलायमान भएको छ, मुलुकको भविष्य त्यसैले सुरक्षित गर्छ भन्नेमा म विश्वस्त छु ।
– नयाँ प्रधानमन्त्री निर्वाचनका लागि मार्ग खुला गर्ने निर्णय गर्दै राष्ट्रपतिज्यूसमक्ष राजीनामा पेस गरिसकेको जानकारी गराउँछु ।