कम्युनिस्टहरूको मक्कामदिना

कम्युनिस्टहरूको मक्कामदिना

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको उनान्चालीसौँ स्मृति दिवस (साउन ७) लाई नेपालका कम्युनिस्टहरूले कसरी मनाए र पुष्पलाललाई कुन अर्थमा सम्झिए भन्ने विषय त्यति महत्त्वको हुन छोडेको छ हिजोआज । यद्यपि चम्पादेवीमा पुष्पलाल स्मृति प्रतिष्ठान बनाइएको र उनको प्रतिमा उभ्याइएको छ, जुन आजका हामी कम्युनिस्टहरूका लागि लाज ढाक्ने माध्यम बनेको छ ।

समस्या वा संकुचन, पुष्पलालको नाममा बनेको प्रतिष्ठानसमेत अमूक पार्टीको निजीजस्तो वा अरू कम्युनिस्ट समूहले पुष्पलाललाई मतलबै नगरेजस्तो । पुष्पलालका प्राप्त विचार र सिर्जना पढ्दा एउटा कुरा ठोकेर भन्न सकिन्छ कि नेपालमा आजसम्म पुष्पलालजत्तिको दूरदृष्टि भएको क्रान्तिकारी र इमानदार कम्युनिस्ट नेता जन्मिन सकेकै छैन । यसकारण नेपालका कम्युनिस्ट भन्न रुचाउने सबै घटकहरूले पुष्पलाललाई साझा नेता मान्ने हिम्मत गर्नैपर्छ । यस अर्थमा उनीप्रति विशेष सम्मान !

पुष्पलाल स्मृति दिवस सम्झेर रामेछाप– ४, भँगेरीतिर हुँइकिरहेको छ मन । खासमा समयले भन्दा पनि सन्दर्भले खुब तानेको छ भँगेरीले । उत्सुकता, उमंगता र उद्देलनले मनलाई धक्का हानिरहेका छन् र लाभा झैँ भएको छ मन । दुई लाल, गंगालाल र पुष्पलाल सहोदर दाजुभाइ । नेपाली राजनीतिक आकाशका चम्किला नक्षेत्र । दाजु गंगालाल नेपाली विद्यार्थी आन्दोलनका प्रथम सहिद । भाइ पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव ।

कस्तो बेजोडको गौरवपूर्ण संयोग ! यिनै लाल दाजुभाइले पहिलोपटक पाइला टेकेको धर्ती भँगेरी आजका कम्युनिस्टहरूले टेक्नु र महत्त्वबोधले दीक्षित हुनु सामान्य गौरवको विषय होइन । त्यसैले भन्न मन लाग्छ, ‘कम्युनिस्टहरूको मक्कामदिना' भँगेरी । अथवा ‘लन्डनको हाइगेट' (माक्र्सको समाधि) जस्तै राजनीतिक पर्यटकीय केन्द्र भँगेरी । तर नेपालका दर्जनभन्दा बढी कम्युनिस्ट घटक र तिनका हामी नेता–कार्यकर्तामध्ये अधिकांशलाई भँगेरीबारे न थाहा छ न चासो नै ।

गंगालाल र पुष्पलाल जन्मेका घरधनी ध्रुव श्रेष्ठ उत्सुक छन् । पुराना राजनीतिकर्मी कृष्णराम श्रेष्ठका धेरै गुनासा र थोरै योजना छन् । उनले पंक्तिकारसँगको भेटमा गम्भीर र मर्मस्पर्शी विषय यसरी राखे, ‘पीएलले स्थापना गरेको पार्टीबाट छ÷छ (मनमोहन, प्रचण्ड, माधव, झलनाथ, बाबुराम र केपी) जना यो मुलुकका प्रधानमन्त्री भइसके तर एकजनाले पनि यो ठाउँ टेक्न आवश्यक ठानेनन् । पुष्पलालप्रति अपार श्रद्धा छ, तर श्रद्धास्वरूप फूल चढाउने ठाउँसमेत छैन ।

एकचोटि सहाना र सिद्धिलालले ऊ त्यो अमिलाको बोटमा फूल चढाएर गए, त्यसपछि फर्केनन् । पुष्पलालका सन्तान हौँ र उनीप्रति सम्मान जाहेर गर्ने नै हो भने निर्माणको लागि निजी स्वामित्वको जमिन दिन हामी तयार छौँ । कम्तीमा प्रतिमा त राखौँ दुई लालको । तपाईंहरू के भन्नुहुन्छ ? ' व्यंग्य गर्दै उनले थपे, ‘तपाईंहरू पनि भोलि ठूलै ठाउँमा पुग्ने व्यक्तिहरू हुनुहुन्छ ।' साँच्चै नामोनिशान केही भेटिँदैन भँगँरीमा दुईलालबारे, हामी कम्युनिस्टहरूका लागि लाजको विषय ।

 

पश्चिमा पुँजीवादीहरूले यस्तै कैयन् ठाँउको प्रचार गरेर व्यापार गरेका छन् र करोडौँ कमाएका छन्, तर हामी कम्युनिस्ट खोइ ? फूलसम्म चढाएर सम्मान गर्ने ठाउँ बनाउन चाहँदैनौँ र सक्दैनौँ । हो, बेइमान नभई भन्दा उपभोक्तावादको सिकार बनेका आजका कम्युनिस्ट पार्टीहरू, हामी नेता र कार्यकर्ताहरू निरन्तर क्रान्तिको दर्शन फिका देख्दै छौँ । त्यसैले त आज दुई भाइ लालले बसालेको जगमा निजत्व खोज्छौँ र भव्य महल ठड्याउँछौँ । योभन्दा अर्को विकृति र विघटनको पराकाष्ठा के हुन सक्छ ?

पुष्पलाल—भक्तलालको छोरा, गंगालालका भाइ र सहानाको जीवन साथी । १९९७ सालताका प्रजातन्त्र संघको सदस्य, त्यसपछि कम्युनिस्ट हुँदै पार्टीका संस्थागत महासचिव । कांग्रेसका नेता सुवर्ण शमशेरले निरंकुशतासमक्ष आत्मसमर्पण गरेर लम्पसार गरेपछि विद्रोह गर्दै बर्मा पुगेर फौजी तालिम लिने गुरिल्ला । २०१७ सालताका कम्युनिस्ट पार्टी विसर्जनको सँघारमा पुग्दा तेस्रो महाधिवेशनमार्फत उपचार खोज्ने अभियन्ता ।

यसले पनि बाटो नसमातेपछि तेस्रो सम्मेलन (२०२५) मार्फत पार्टी पुनर्गठन गरेर क्रान्ति अघि बढाउने अगुवा । कहिले काठमाडौँ र वीरगन्जको मोर्चा सम्हाल्ने कमान्डर त कहिले वनारसतिर माक्र्सवादी साहित्य प्रचार गर्ने प्रचारक भने कहिले कलकत्तामा कम्युनिस्ट पार्टी स्थापनाको फलामे चिउरा चपाउने संस्थापक । विडम्बना ! सधैँ आफ्नो विचारअनुकूल नीति बनाउने र पास गराउने तर कहिल्यै नेतृत्व लिन नसक्ने वा लिन नपाउने असफल पात्र ।

हो, बेइमान नभई भन्दा उपभोक्तावादको सिकार बनेका आजका कम्युनिस्ट पार्टीहरू, हामी नेता र कार्यकर्ताहरू निरन्तर क्रान्तिको दर्शन फिका देख्दै छौँ । त्यसैले त आज दुई भाइ लालले बसालेको जगमा निजत्व खोज्छौँ र भव्य महल ठड्याउँछौं । योभन्दा अर्को विकृति र विघटनको परकाष्ठा के हुन सक्छ ?

यही अन्तरविरोधी चक्रमा पुष्पलालको सम्पूर्ण जीवन बित्यो । पार्टी स्थापना भएको एकाध वर्ष (विसं २००९) मै संस्थागत महासचिवबाट पुष्पलाललाई जब बलात् हटाइयो त्यहीबाट नेपाली कम्युनिस्ट आन्दोलनमा राजा परस्त रुझान र संशोधनवादी दृष्टिकोण प्रवेश गर्‌यो, जसले आजसम्म नेपाली कम्युनिस्ट आन्दोलनलाई बद्नाम गराइरहेको छ । आफ्नो स्वार्थ पूरा हुँदा नेतालाई देउता मान्ने र पूजा गर्ने अनि स्वार्थमा धक्का लाग्दा सुराकी र गद्दार भनेर खुइल्याउने गलत संस्कारको सिकार पुष्पलाल पनि बने र उनलाई गद्दार भन्नेहरू आज पनि कम्युनिस्ट (? ) बनेर हिँडिरहेका छन् ।

पुष्पलालले पार्टी स्थापना गर्नुअघि नै कम्युनिस्ट घोषणापत्र नेपालीमा रूपान्तर गरेर हामीबीच ल्याएका थिए । यत्तिमै उनले चित्त बुझाएनन् । उनले ‘सोभियत रूसमा व्यक्ति र समाज', ‘माक्र्सवाद के हो ? ', ‘चिनी क्रान्ति र कम्युनिस्ट पार्टी', ‘गाउँका गरिबहरूलाई अपिल' जस्ता पुस्तक नेपाली भाषामा उल्था गरेर लगाउनुसम्मको गुन लगाए नेपाली भाषिक कम्युनिस्टलाई ।

पार्टी स्थापनाअघि उनले अनुमति, स्वीकृति र वैधानिकताका लागि संसारभरका कम्युनिस्ट पार्टीहरूसँग सम्पर्क राखेर अन्तर्राष्ट्रिय जातिको परिचय मात्र स्थापित गरेनन्, बरु सामूहिक निर्णय र विधिमा चल्ने संस्कृति पनि बसाले । उनले राहुल सांकृत्यायन र लंकाका कम्युनिस्ट नेताहरूसँग पत्राचार गरेँ भने भारतीय कम्युनिस्ट नेता नृपेन्द्र चक्रवर्तीसँग प्रत्यक्ष भेट गरे ।

पहिलो माक्र्सवादी साहित्य ‘कम्युनिस्ट घोषणापत्र' जुन नेपालीमा उल्था गरेर छापिएको थियोलाई प्रहरीले प्रेसबाटै उठाइदिएपछि फेरि छाप्नको निम्ति पुष्पलालसँग पैसा नहुनुको पीडा खपेर पनि किञ्चित हरेस खाएनन् । समस्या फुकाउने मेसोमा भारतीय मित्र नृपेन्द्रसँग आग्रह गर्दा उनले पाएको जवाफ यस्तो थियो, ‘हेर पुष्प ! केही हजारको प्रश्न हाम्रो निम्ति केही ठूलो कुरा होइन । हामीले दियौँ भने फिर्ता लिँदैनौँ तर एउटा कुरा याद गर, नेपाली जनता तिम्रो पार्टी हुर्काउन र बढाउन सक्दैनन् भने कम्युनिस्ट पार्टीको गठन नै निरर्थक छ ।' विदेशी मित्रको जवाफबाट शिक्षा लिएर विदेशीसँग पैसा नमाग्ने अठोटमा पुगे पुष्पलाल । तर आज हामी नेताहरू विदेशीसँग आफ्नै हातमा डलर थापेर आफ्नै कोटको गोजीमा उसैले देख्ने गरी हाल्छौँ र नेतादेखि खजान्चीसम्म आफैँ बन्छौँ । त्यसैले हामीमाथि आर्थिक अपारदर्शिताको आरोप लागेको छ ।

‘हे युवाहरू हो, स्वतन्त्रताको लागि प्रशस्त रगतको भेटी चढाएका छौँ । युवक गंगालालको अमर सहिद प्राप्तिले तिमीलाई नयाँ संघर्षमा बलिदानका निम्ति उत्साहित तुल्याएको छ । १९३० का एक वीर युवक खड्गमान अझै नेल, हत्कडी र गलफन्दीसहित जेलमै छन् ।' हामी यसकारण उनलाई युवाहरूका प्रेरक अगुवा थिए भन्छौँ । कमरेड पीएललाई सम्मानले सम्झँदै उनले घोषणा गरेको ‘पीडित नेपाली सर्वहारा सुकुम्बासीहरूको भावना अभिव्यक्त गर्ने साहित्य' परेड गीत एकै साथ गाऔँ...

पहाड पर्वत, खोला नाला, जग्गा जमिन सबको
मालिक हामी दास बनौँ किन ? हिस्सा सबमा सबको
नाश गरौँ यो राणाशाही, ध्वस्त गरौँ यो तानाशाही
जाऔँ क्रान्ति गरौँ, अब क्रान्ति गरौँ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.