बन्दकर्ताले राजधानीमा दुईटा ट्याक्सी जलाए
काठमाडौंः नेपाल बन्द आह्वान गरेको विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले राजधानीमा दुईटा ट्याक्सीमा आगजनी गरेका छन् । बिहान ट्याक्सी मै सवार दुई जनाले गोंगबु चोक नजिकै ट्याक्सी रोकेर आगजनी गरेका छन् । आगजनीबाट बा १ ज २८६ नम्बरको ट्याक्सीमा आंशिक क्षति पुगेको डीएसपी सिद्धिविक्रम शाहले अन्नपूर्ण पोस्टलाई जानकारी दिए ।
त्यस्तै नयाँ बानेश्वरको मीन भवन नजिकै पनि ट्याक्सीमै सवार एक व्यक्तिले बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन् । आगजनीबाट ट्याक्सीको सीटमा क्षति पुगेको शाहले बताए ।
८३ बन्दकर्ता पक्राउ
यसैबीच राजधानीमा बन्दको आह्वान गर्दै हिँडेका ८३ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उच्च संख्यामा सडकमा उपस्थित सुरक्षाकर्मीले बन्दलाई निष्प्रवाही पार्ने प्रयास गरिरहेको डिएसपी शाहले बताए ।
चितवनमा ट्रकमा आगजनी
चितवनको रत्ननगरमा सोमबार बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ । बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ ।
चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार वीरगन्जबाट काठमाडौं औषधि लिएर जाँदै गरेको ना५ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो ।
आगजनी गर्ने समूहको पहिचान नभए पनि आज विप्लव नेतृत्वको माओवादीले बन्दको हल्ला फैलाएकाले उनीहरुले नै जलाएको अनुमान प्रहरीले गरेको छ ।
घटनाको अनुसन्धान भइरहेको र आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । समयमै प्रहरी पुगेकाले धेरै क्षति हुन पाएन ।
यसैबीच बन्दको हल्लासँगै चितवन प्रहरीले बिहानैदेखि स्कटिङमा यातायात सञ्चालन गरेको छ ।
चितवन आउने र चितवनबाट जाने सवारीलाई बिहानैदेखि स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए ।
उपत्यकाका ९० प्रतिशतभन्दा बढी पसल बिहानै खुलेको तथा सार्वजनिक सवारी तथा निजी सवारी पनि सञ्चालनमा रहेको उनले बताए । सार्वजनिक सवारीका लागि विशेष पहल गरी उच्च सुरक्षाका साथ सञ्चालन गरिरहेको शाहले बताए ।