पूर्वराजा विरुद्ध उजुरी !!
सुर्खेत: सशस्त्र द्वन्द्वका क्रममा सुर्खेतमा राज्य र विद्रोहीबाट पीडित भएकाहरूले न्याय पाउने अपेक्षासहित उजुरी दिएका छन् । स्थानीय शान्ति समितिको कार्यालयमा दर्ता भएका उजुरीहरू पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध छन् । यस्तै उच्च सरकारी कर्मचारी र दलका नेताहरूलाई पनि कारबाही गर्न माग गर्दै पीडितहरूले उजुरी दर्ता गराएका छन् ।
बेपत्ता छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगले पीडितहरूलाई उजुरी दिन आग्रह गरेका थिए । सोही आग्रह बमोजिम राज्य तथा तत्कालीन विद्रोही पक्षबाट पीडित भएकाहरूले स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी दिएका हुन् । माओवादी सशस्त्र द्वन्द्वका क्रममा आफूहरूका आफन्त बेपत्ता बनाइएको, हत्या गरिएको, कुटपिट गरेको, अपहरण गरेको र भौत्तिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै पीडितहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
सुर्खेतमा पूर्वराजा शाहदेखि पूर्वप्रधानमन्त्री देउवासम्मको नाममा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा उजुरी परेका हुन् । यस्तै यस क्षेत्रका द्वन्द्वपीडितहरूले २०५२ सालदेखि २०६३ सालसम्मका जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र दलका नेताविरुद्ध पनि आयोगमा उजुरी दिएको स्थानीय शान्ति समिति सुर्खेतले जनाएको छ ।
समितिका अनुसार पीडितहरूले सेनाका तत्कालीन पृतनापति, जमदार, गृहमन्त्री र माओवादीका नेताविरुद्ध पनि उजुरी परेका छन् । पीडितहरूले आफूहरू अन्यायमा परेको र दोषीलाई कडा कारबाहीको माग गरेका छन् । यस्तै एउटै व्यक्तिका विरुद्ध ४० वटाभन्दा बढी उजुरी परेका छन् । सेनाका तत्कालीन जमदार रामबहादुर महतविरुद्ध सुर्खेतमा ४० वटा उजुरी दर्ता भएका छन् ।
सुर्खेतमा स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी दिन पुगेका द्वन्द्वपीडित ।
यस्तै सुर्खेतका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण भूर्तेलविरुद्ध पनि एक दर्जनभन्दा बढी उजुरी दर्ता भएका छन् । जिल्लामा रहेका दलका नेताहरूविरुद्ध पनि पीडितहरूले उजुरी दिएका छन् । उजुरी दिए पनि कारबाही हुने र आफूहरूले न्याय पाउनेमा भने पीडितहरूले आशंका व्यक्त गरेका छन् । स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले सत्य निरूपण तथा मेलमिलाप आयोगतर्फ जिल्लामा एक हजार सात सय ७४ र बेपत्ता छानबिन आयोगतर्फ ८२ वटा उजुरी दर्ता भएको जानकारी दिए ।
उनका अनुसार सत्य निरूपणतर्फ सुर्खेतका एक हजार पाँच सय ६२ र अन्य जिल्लाका दुई सय ९३ वटा उजुरी दर्ता भएका छन् । कालीकोटका ९१, दैलेखका ६८, जाजरकोटका ४१, हुम्लाका २९ र जुम्लाका १७ वटा उजुरी पनि सुर्खेतमा रहेको स्थानीय शान्ति समितिको कार्यालयमा दर्ता भएका छन् । संयोजक थापाले भने, ‘जिल्लामा सबैभन्दा धेरै वीरेन्द्रनगरबाट एक सय ९१ वटा उजुरी परेका छन्, त्यसपछि सुभाघाट गंगामालाबाट एक सय २८ वटा उजुरी आएका छन् ।'
यस्तै जिल्लाको भेरीगंगा नगरपालिकाबाट एक सय १५ वटा उजुरी दर्ता भएको समितिले जनाएको छ । त्यसैगरी जिल्लाको राकमबाट ८६, बाबियाचौरबाट ६०, विद्यापुरबाट ५३, दशरथपुरबाट ४५ र अबलचिड गाविसबाट ४४ वटा उजुरी परेका छन् । समितिका अनुसार जिल्लाका सबै गाविसबाट उजुरीहरू आएका छन् । सुर्खेतमा तत्कालीन विद्रोही माओवादीविरुद्ध ५२ दशमलब ४७ र राज्यविरुद्ध ४४ दशमलब २६ प्रतिशत उजुरी दर्ता भएको संयोजक थापाले बताए ।