सरकार गठनको तयारी, राष्ट्रपतिबाट आजै बाधा अड्काऊ फुकाउ
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाटले नयाँ सरकार गठनको बाटोलाई सहज तुल्याउन सोमबार नै बाधा अड्काऊ फुकाऊ आदेश जारी गर्ने संभावना छ ।
केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को आइतबार अपरान्ह बसेको बैठकले बाधा अड्काउन फुकाउने आदेश जारी गर्न सिफारिस गरेको थियो । नयाँ प्रधानमन्त्रीको निर्वाचन तथा सरकार गठनबारे संविधानको संक्रमणकालीन व्यवस्थामा केही उल्लेख नभएकोले यसबारेमा अन्योल नहोस् भनेर बाधा अड्काउन फुकाउन सिफारिस गरिएको प्रधानमन्त्री ओलीले बताएका थिए ।
बाधा अड्काउ फुकाउ आदेश जारी भएपछि सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुनेछ । संसद्को अर्को बैठक यही साउन ११ गते बिहान ११ बजे बोलाइएको छ।
नेपालको संविधानको धारा ३०५ अनुसार ‘यो संविधानबमोजिम सङ्घीय संसद्को निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्ने’ तथा त्यस्तो आदेश जारी भएपछि तत्काल बसेको व्यवस्थापिका–संसद् वा सङ्घीय संसद्समक्ष अनुमोदनका लागि पेस गर्नुपर्नेछ ।
नेपालको संविधानमा एकपटक सरकार गठन भइसकेपछि पुनः अर्को सरकार गठनसम्बन्धी व्यवस्था नभएकाले वर्तमान परिस्थितिलाई दृष्टिगत गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरिएको हो।
राष्ट्रपति प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट आइतबारदेखि नै लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरेकी छिन्। व्यवस्थापिका–संसद्को आइतबार बेलुकाको बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्योहोरा सुनाएकी थिइन्।