राजनीतिक परिस्थितिको सूक्ष्म अध्ययनः सेनापति
काठमाडौं: प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गम्भीर अर्थ लाग्ने अभिव्यक्ति दिएका छन् । उनले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई नेपाली सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा जुनसुकैखाले चुनौती सामना गर्न सेना तयारी अवस्थामा रहेको बताए ।
एक संस्थाले नेपाली सेनालाई गमला हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । उक्त अभिव्यक्ति दिनु एक दिनअघि आइतबार प्रधानसेनापतिले झन्डै एक घन्टा सेनाको परमाधिपति रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मुलुकको पछिल्लो राजनीति र सुरक्षा अवस्थाबारे गम्भीर छलफल गरेको स्रोतले बतायो ।
अहिलेको तरल राजनीतिक अवस्थामा संविधानविरोधी आन्तरिक र बाह्य शक्तिले मुलुकको सार्वभौमिकता, एकता र राष्ट्रिय सुरक्षामा औंला नठड्याऊन् भन्ने उद्देश्यले प्रधानसेनापतिको अभिव्यक्ति आएको सैनिक स्रोतले बतायो । सैनिक मुख्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा प्रधानसेनापति क्षेत्रीले मुलुकको विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई सूक्ष्म ढंगबाट नियालिरहेको र राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्ने बताएको उल्लेख छ ।
सैनिक प्रवक्ता ताराबहादुर कार्कीले मुलुकको विद्यमान राजनीतिक र राष्ट्रिय सुरक्षाप्रति प्रधानसेनापतिले चिन्ता व्यक्त गरेको बताए । प्रवक्ता कार्कीले अन्नपूर्णसँग भने, ‘प्रधानसेनापतिज्यूले संविधानअनुसार नेपाली सेनाको दायित्व र जिम्मेवारीको मात्र कुरा गर्नुभएको हो ।'
‘मुलुकको सार्वभौमिकता र सुरक्षा संवेदनशील अवस्थामा छ,' एक सैनिक अधिकारीले भने, ‘संविधानविरोधी आन्तरिक र बवाह्य दुवै पक्ष अवस्था बिथोल्न सक्रिय छन् । त्यसको सामना गर्न नेपाली सेना तयारी अवस्थामा छ ।' कृषिमा व्यवसायीकरणको जागरण अभियानमा कार्यरत अष्ट ‘ज' अभियान नामक संस्थाले सोमबार जंगीअड्डामा गमला हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाली सेनाका रथी र सैनिक अधिकृतहरूको उपस्थिति थियो ।
सोही कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए । उनले कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्नु सेनाको दायित्व रहेको पनि बताए । उनले नेपाली सेना नेपालको संविधानअनुरूप आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सधैं कटिबद्ध रहेको समेत बताए ।