थोत्रा डुंगामा जोखिमपूर्ण दैनिकी
सतबरिया (दाङ): वर्षासँगै उर्लिरहेको राप्ती नदीले आइतबार दिउँसो मानिस र केही खसीबाख्रा बोकेको एउटा काठको डुंगा बगायो । वर्षा भइरहेका बेला राजपुर गाविसको गंगदीबाट वारि रिहार आउन डुंगा चढेका पाँचजनामध्ये एकजना बेपत्ता भए, बाँकीलाई प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरे । बाढीले डुंगा बगाउँदा दाङ नारायणपुर गाविसका सोमवीर बोहरा बेपत्ता भएका हुन् । उनीसहित पाँचजना चढेको काठको पुरानो डुंगा पनि बगेर बेपत्ता भएको छ ।
राप्ती नदी पार गर्न स्थानीय बासिन्दाले चलाएको डुंगा बगाउँदा बर्सेनि धेरै मानिसको मृत्यु हुने गरेको छ भने कतिपय बेपत्ता हुने गरेका छन् । दाङको भालुवाङदेखि बाँकेसम्म राप्ती नदीमा स्थानीय बासिन्दाले नदी वारपार गर्न काठका डुंगा प्रयोग गर्छन् । यी काठका डुंगा (स्थानीय भाषामा पटेला भनिन्छ) पनि धेरैजसो पुराना छन् । एक छेउबाट डुंगा चालक पानी छेकिरहेका हुन्छन् भने अर्कोतिर सहयोगीले डुंगाको पिँधबाट भरिएको पानी फालिरहेका हुन्छन् ।
‘डुंगामा अन्दाजका भरमा सामान र मानिस हालिन्छन् । डुंगा पनि हराउँछन्, मान्छे पनि हराउँछन्, कति हुन्छन् कति यस्ता घटना त', राजपुर गंगदीका राजवीर चौधरी भन्छन्, ‘न मान्छे मरेको गन्ती हुन्छ । गाईगोरु, भैंसी, राँगा, बाख्रा त सधैं बगाइरहन्छ ।'
८३ किलोमिटरभन्दा बढी लामो नदी क्षेत्रमा सीमितमात्र झोलुंगे पुल छन् । बाँकी गाउँ जोड्ने घाटमा यस्तै डुंगा चल्छन् । बर्खामा मात्रै होइन, हिउँदमा समेत मानिस आवतजावत गर्न डुंगा प्रयोग गर्छन् । त्यसका लागि स्थानीय बासिन्दाले पालैपालो डुंगा चलाउँछन् । डुंगा चलाएर वारपार गराएबापत गाउँलेले पैसा तिर्नु पर्दैन । गाउँलेले डुंगा चलाउने परिवारलाई बर्सेनि बाली बुझाउँछन् । तर बाहिरबाट आएका मानिसले भने नदी पार गरेबापत पैसा तिर्नुपर्छ ।
‘हाम्रो गाउँबाट रिहार जान दुई घन्टा हिँडेपछि मात्रै झोलुंगे पुल आउँछ । हामी पुस्तौंदेखि यिनै डुंगाबाट आउनेजाने गर्छौं', सतबरिया रिहारका चुनाराम चौधरी भन्छन्, ‘खै पुल त कैले पो बन्ला र ? बर्खामा डर हुन्छ, अरू बेला नदी सानै हुन्छ ।' उनलाई बर्खायाममा खेती लगाउन नदीको पल्लो किनार जानुपर्छ । त्यसका लागि उनले खेत जोत्ने राँगा नदीमा छोडिदिन्छन् र आफू भने डुंगामा खेतीपातीका सामान लिएर साँझ–बिहान नदी वारपार गर्छन् ।
राप्ती नदीवारिका एउटा नगरपालिकासहित तीन गाविस र राप्तीपारिका ६ गाविसका बासिन्दालाई वारपार गर्न दाङदेखि बाँकेसम्म दुईवटामात्रै झोलुंगे पुल छन् । राजमार्गमा दुईवटा पक्की पुल छन् । बाँकी सबैजसो बस्तीका बासिन्दा काठको डुंगाबाट आवतजावत गर्दै आएका छन् ।