कसरी बन्नसक्छ ग्रेटर लुम्बिनी ?
सम्पन्नता र शक्तिलाई मात्र शान्ति ठान्नेहरूको चिन्तनको उपज आज विश्वमा अशान्ति छ, सुख छैन । हत्या र हिंसा बढ्दो छ । आफूलाई उत्सर्ग गरेर पनि अरूलाई नोक्सान पुर्याउने आत्मघाती काम भइरहेका छन् ।
इराक, अफगानिस्तानलगायतका देशमा यस्ता घटना दैनिकजसो भइरहेका छन् । विश्वमा शान्ति कायम होस् भन्ने हाम्रो उद्देश्य हो । हिंसा र अशान्तिलाई शान्तिमा बदल्नु बौद्धदर्शनको उद्देश्य पनि हो । नैतिक चरित्र क्रमशः हराउँदै गएको यस अवस्थामा मानवमा सकारात्मक परिवर्तन आए उसको विचारमा पनि परिवर्तन ल्याउन सकिन्छ भन्ने भगवान् गौतमबुद्धको सन्देश चरितार्थ गर्न पनि बुद्धको जन्मथलो लुम्बिनीलाई विकाससँग जोडेर विश्व शान्तिको मुहान बनाउने हाम्रो एकमात्र अभियान हो ।
तर बुद्धको उपदेशविपरीत अन्याय र अत्याचारको मार्ग समातेका कारण हामी पनि लामो समयसम्म अशान्तिको अन्त्यहीन यात्रामा फस्यौँ, जसका कारण नेपालले ठूलो मूल्य चुकाउनुपर्यो । आजसम्मको राजनीतिक अस्थिरता त्यसैको परिणाम हो । अशान्ति र अस्थिरता हुँदाहुँदै पनि नेपाल शान्तिको देश भनेर अझै पनि संसारभर चिनाउने अवसर हामीसँग सुरक्षित छ, तर यसलाई कार्यरूपमा कसरी बदल्ने त ? यो अहिलेको गम्भीर प्रश्न हो, राजनीतिक नेतृत्व र सामाजिक अभियन्ताका लागि पनि ।
देशमा कायम हत्या, हिंसा, वैमनस्य, विवाद र प्रतिशोधको भावना दैनिकजसो बढ्दो छ । नैतिक मूल्य र मान्यता हराउँदै गएको छ । नैतिक शिक्षा अभावका कारण मूल्य, मान्यता ह्रासोन्मुख भएका छन् । सबै विषयलाई राजनीतिसँग जोडेर हेर्दा सबै क्षेत्र लथालिंग भएको छ । अब हामी यसभन्दा निकै माथि उठ्न सक्नुपर्छ ।
बुद्धको जन्मस्थलोलाई विश्व शान्तिको मुहान बनाउने लक्ष्यसहित जापानिज प्रोफेसर केन्जु टाँगेले बनाएको लुम्बिनी विकास गुरुयोजनाले अझै मूर्तरूप पाउन सकेको छैन । सन् १९९० मा सकिनुपर्ने उक्त योजना अझै अधुरो छ भनिरहनुपर्दा हामी लुम्बिनीवासीको मात्र होइन, नेपालकै लागि लज्जाको विषय बनेको छ ।
गुरुयोजनालाई मूर्तरूप दिन भन्दै तीनवटा बौद्ध सम्मेलन गरियो, तर सम्मेलन औपचारिकतामा मात्र सीमित भए । सरकारले बौद्धसम्मेलन आयोजना गरियो भन्नेबाहेक केही सकारात्मक सन्देश दिन सकेको छैन, संसारभरका बौद्ध धर्मावलम्बीको लागि । विश्व जनसंख्याको करिब एक तिहाइभन्दा बढी मानिस बुद्ध धर्म मान्नेहरू छन् । यसप्रति आकर्षित हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ, किनकि अरू धर्मप्रति विमति नराख्नु बुद्ध दर्शनको सम्मानित पक्ष भएका कारण ।
महत्त्वपूर्ण र ऐतिहासिक स्थल भएकाले बुद्ध धर्म र दर्शनमा आस्था राख्नेहरू मात्र होइन, विश्वकै शान्तिकामी जनताको आकर्षण हो लुम्बिनी । त्यसैले पनि कपिलवस्तुस्थित तिलौराकोटलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल बनाउन हामी तीतामीठा अनुभूति बिर्सेर राजनीतिक आग्रहपूर्वाग्रह नराखी अघि बढ्न जरुरी छ । विकासका नाममा लुम्बिनीलाई कसैको मागिखाने भाँडो बन्न नदिन पनि हामी त्यत्तिकै सजग हुनुपर्छ ।
यहुदी प्रत्येक वर्ष जेरुसेलम पुग्छन्, इस्लाम धर्मावलम्बी हज गर्न मक्कामदिना जान्छन्, बुद्ध जन्मिएको ऐतिहासिक थलो लुम्बिनीलाई पनि विश्वका बौद्ध धर्मावलम्बीको तीर्थस्थल बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गरी विश्वमा परिचित गराउनुपर्छ भनी नवलपरासीको रामग्राम स्तुप, बुद्धको मामली रहेको देवदह क्षेत्र र कपिलवस्तुलाई एकीकृत विकासमा लैजाने अभियान थालिएको हो ।
राजनीतिक अस्थिरताकै कारण त्यो अभियानले कहिल्यै मूर्तरूप पाउन सकेन । हाम्रो कमजोरी कहाँ छ, किन गुरुयोजना अघि बढ्न सकेन भनेर विगत हेर्ने हाम्रो परम्परा छैन । अति आत्मकेन्द्रित भई एक्लै हिँड्ने प्रचलनकै कारण हामी विकासमा सधैँ पछि परेका छौं । यो यथार्थ बुझ्ने कोसिस भइरहेको छैन । पछिल्लो सरकार पनि त्यसबाट अछुतो रहन सकेन ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन दुईदुई वर्षमा गर्ने भन्ने सरकारी लक्ष हो, तर त्यसअनुसार काम हुन सकेको छैन । परिस्थितिलाई दोष दिएर सम्मेलन पनि करकाप र बाध्यताले गर्नुपरे जस्तो आभास भइरहेको छ । पछिल्लो सम्मेलन पनि औपचारिकतामा मात्र सीमित भयो । सम्मेलन हल्का पाराले गरियो । सम्मेलनमा आमन्त्रित गरिएका पाहुनाहरू आएनन् । केवल नेपालमा बौद्ध सम्मेलन छ, आउनु होला भनेकै भरमा कोही पनि निम्तालु आउँदैनन् । कूटनीतिक मर्यादाको पालना गर्नुपर्छ ।
सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदैछन् भनेर प्रचार गरियो, तर संसारभर चिनिएको कुनै पनि व्यक्ति सम्मेलनमा आएन । त्यसले सम्मेलनको गरिमा कायम हुन सकेन । कूटनीतिक मर्यादालाई ख्याल गरेर सम्मेलनभन्दा करिब तीन महिनाअघि नै सम्बन्धित दूतावासमार्फत निमन्त्रणा गर्न सकेको भए छिमेकका सरकार प्रमुख र राष्ट्रप्रमुख आउने वातावरण बन्ने थियो ।
भरपर्दो कूटनीतिक आधारको अभावकै कारण कोही पनि आएनन् । भारतीय राजदूतको हैसियतमा रहेको पंक्तिकार स्वयं कपिलवस्तुको वासिन्दा थियो, तर उसलाई पनि सम्मेलनमा बोलाउन आवश्यक ठानिएन । राजनीतिक पृष्ठभूमिको भए पनि त्यस क्षेत्रको सामाजिक अभियन्ता भएकाले सम्मेलनमा आउन नपाउँदा दुःख लागेको छ । सम्मेलनमा अनावश्यक भीड जम्मा गर्न सकिन्छ, तर भीडले विश्व शान्तिको मुहान बनाउने अभियानमा बल पुग्दैन भन्ने सन्देश प्रवाह गर्न सकिएन । खालि औपचारिकता मात्र निर्वाह गरेर गरिएको सम्मेलनबाट उद्देश्य पूर्ति हुने छैन ।
पाँच हजार व्यक्ति अट्न सक्ने हल बनाइदिने उद्घोष भयो सम्मेलनमा प्रधानमन्त्रीबाट, तर त्यो व्यवहारमा लागू हुन सजिलो छैन । हिजो पनि अब लुम्बिनीको विकासका लागि खर्बौं ओइरिन्छ भनिएको थियो, तर खोइ त ? विश्व शान्तिको प्रमुख केन्द्र बनाउने सबै विगतका सरकारका वाचा मित्थ्या सावित भए । यो सबै राजनीतिको परिणाम हो । बुद्धको जन्मथलोलाई जोडेर विकास मोडेल बनाइयो, विकासमा सधैँ राजनीति भयो । दुःखका साथ भन्नुपर्छ– २०५१ को मध्यावधि निर्वाचनपछि लुम्बिनी क्षेत्र ओझेलमा पारियो ।
लुम्बिनी विकास गुरुयोजना कार्यान्वयनको जिम्मा लुम्बिनी विकास कोषको हो । तर कोषलाई सधैँ राजनीतिको अखडा बनाइयो । कोषको अध्यक्ष मन्त्री रहने प्रावधान भएपछि कोषले कहिल्यै गति लिन सकेन । उपाध्यक्षलाई शक्तिशाली बनाउने भनियो, तर व्यवहारमा लागू भएन । राजनीतिक प्रभावकै कारण लुम्बिनीको विकासका लागि छुट्ट्याइएको बजेट पनि खर्च हुन सकेन । अब बन्ने सरकारले कोषलाई विशुद्ध राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्छ ।
लुम्बिनी विकास गुरुयोजना कार्यान्वयनको जिम्मा लुम्बिनी विकास कोषको हो । तर कोषलाई सधैँ राजनीतिको अखडा बनाइयो । कोषको अध्यक्ष मन्त्री रहने प्रावधान भएपछि कोषले कहिल्यै गति लिन सकेन । उपाध्यक्षलाई शक्तिशाली बनाउने भनियो, तर व्यवहारमा लागू भएन ।
राजनीतिक प्रभावकै कारण लुम्बिनीको विकासका लागि छुट्ट्याइएको बजेट पनि खर्च हुन सकेन । अब बन्ने सरकारले कोषलाई विशुद्ध राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्छ । कोषको नेतृत्वमा राजनीतिक नभई समाजमा उल्लेख्य योगदान गरेको र गर्न सक्ने व्यक्तिलाई लैजानुपर्छ । दूरदर्शी सोच र दृष्टिकोण भएको व्यक्ति खोजेको छ कोषले । त्यसको लागि आवश्यक ऐनकानुन परिमार्जनसमेत गर्न जरुरी छ ।
लुम्बिनी विश्वकै बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर बन्ने संकेतपछि केही विकासविरोधी बुद्ध नेपालमै जन्मिएका हैनन् भन्ने अभियानमै लागे, तर हामी त्यसैको पछि दौडिएर हैन भन्दै हिँड्यौंँ । गौतम बुद्ध कपिलवस्तुको तिलौराकोटमा जन्मिएका हुन् भन्ने संसारलाई थाहा छ, त्यसबारेमा स्पष्टीकरण दिएर समय खेर फाल्नु हाम्रो लागि हास्यास्पद र लज्जास्पद छ ।
भएको कुराको पछि दौडिनुभन्दा त्यस क्षेत्रको विकासमा हातेमालो गरेर अघि बढ्न सके नेपालकै कल्याण हुनेछ ।
२०४६ को परिवर्तनपछि विकासमा सबैले हातेमालो गर्ने भनियो । प्रतिनिधिसभाबाट संकल्प प्रस्तावसमेत पारित भयो, तर आजसम्म पनि लुम्बिनी विकास गुरुयोजना अघि बढ्नै सकेको छैन । नयाँ सरकार बन्दै छ । नयाँ बन्ने सरकारले त्यो गुरुयोजना कार्यान्वयनको लागि व्यवस्थापिका–संसद्ले फेरि एकपटक संकल्प प्रस्ताव पारित गर्न जरुरी छ ।
ताकि तोकिएको समयमै परियोजना कार्यान्वयन होस् । त्यसो हुन सक्यो भने लुम्बिनीको मात्र होइन, देशकै विकासको ढोका खोल्नेछ । नेपालको पर्यटन विकासलाई नयाँ गति दिन पनि यो नमुना परियोजना सावित हुनेछ । लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर बनाउन इच्छुक जोसुकै अन्तर्राष्ट्रिय विज्ञलाई परियोजना कार्यान्वयनको जिम्मा दिन पछि हट्नु हुन्न ।
राष्ट्रिय गौरवको आयोजना मानिएको अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्दै छ, लुम्बिनीको भैरहवामा । विमानस्थल बनेपछि संसारकै आँखा मात्र पर्ने छैन, संसारकै उत्कृष्टमध्येको नयाँ गन्तव्य बन्न सक्छ । त्यसैले राजनीति आग्रह–पूर्वाग्रह आफ्नै ठाउँमा होलान्, तर बृहत्तर लुम्बिनी विकासको लागि हामी एकजुट हुनैपर्छ, जसले लुम्बिनीको मात्र होइन देशकै गौरव बढाओस् ।
विमानस्थल निर्माणले मात्र लुम्बिनीलाई संसारले चिन्ने होइन, यसका लागि आवश्यक भौतिक पूर्वाधारमा पनि ध्यान दिनुपर्छ । यससँग सम्बन्धित सबै मन्त्रालयबीच समन्वय आवश्यक छ । पर्यटन, नागरिक उड्यान, वातावरण, स्थानीय विकास मन्त्रालय र राष्ट्रपति चुरे संरक्षण आयोजनाले विमानस्थल निर्माणको लागि आआफ्नो ठाउँबाट भरपूर सहयोग गर्नुपर्छ ।
एकले अर्कालाई असहयोग गर्ने प्रचलनको विकासले हामी धेरै पछि परेका छौं, विकासको ढोका खोल्ने विमानस्थल निर्माणमा भने सबै पक्ष एकजुट हुनेमा पंक्तिकार विश्वस्त मात्र छैन, यसको लागि पूर्णरूपमा सघाउन तयार छ । तर कुनै बहानामा निर्माण प्रक्रिया रोक्ने काम भयो भने त्यसले संसारभर गलत सन्देश जानेछ भन्नेतर्फ हामी सजग हुनैपर्छ । विमानस्थल बनेपछि थाइल्यान्ड, म्यानमार, श्रीलंका र चीनबाट पनि चार्टर उडान गरेर पर्यटक सीधै लुम्बिनी आउनेछन्, जसका कारण हाम्रो पर्यटन प्रद्धर्धनमा ठूलो सघाउ पुग्नेछ । काठमाडौं विमानस्थलको चाप पनि यसले घटाउनेछ । त्यसैले पनि यसका लागि दूरदर्शी सोच आवश्यक छ ।
प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पाउने सबै सुविधा उपलब्ध गराउन पहल भइरहेको छ । यसको लागि आवश्यक पर्ने जग्गा थप गरेर सरकारले सकारात्मक काम गरेको छ । नजिकका र विकासमा द्रूतगतिले अघि बढेका ठूला अर्थतन्त्र भएका भारत र चीनका बीचमा हामी अवस्थित छौँ । दुवै देशका बौद्ध धर्मावलम्बीले यहाँको विकासमा हातेमालो गर्न चाहेका छन् । लुम्बिनीसम्म रेल पुर्याउने चिनियाँ योजना यसैको प्रारम्भिक संकेत हो ।
भारत पनि यसको लागि उत्सुक देखिन्छ । चिनियाँ रेल लुम्बिनीसम्म आउँदा भारतलाई पनि फाइदा पुग्नेछ । त्यसको लागि विमानस्थलभित्रै रेल तथा बस टर्मिनल आवश्यक छ । डिउटी फ्री सप, सुविधासम्पन्न शौचालयबारे पनि हामीले बेलैमा सचेतता अपनाउनुपर्छ । किनभने नेपाल आउने विदेशी पर्यटकले त्रिभुवन विमानस्थलमा आवश्यक र उपयुक्त सुविधा नभएको सुन्नुपर्दा राम्रो सन्देश गएको छैन । विषय सामान्यजस्तो लागे पनि त्यसकै कारण ठूलो कुरा गुमेको पत्तो नपाउँदा पनि हामीले दुःख पाइरहेका छौँ ।
फेरि पनि दोहोर्याउन चाहन्छु, लुम्बिनीलाई विश्वकै बौद्ध धर्मावलम्बीको तीर्थस्थल मात्र बनाउन सकियो भने यसले नेपाललाई समृद्ध मात्र बनाउने छैन, संसारकै पर्यटकको गन्तव्य बन्न सक्छ । त्यसैले बृहत्तर सोच राखेर शान्ति सहरको परिकल्पना साकार पार्न हामी सबै एकजुट होऔँ ।