ट्रम्पको विश्व दृष्टि र चीन
अमेरिका आफ्नो इतिहासमा सबैभन्दा त्रासद असुरक्षाको स्थिति बेहोरिरहेको छ । विश्व व्यवस्थाको नेतृत्व गरिरहेको अमेरिकाको असुरक्षाले विश्व व्यवस्थाको स्थिरतालाई संकटको स्थितिमा पुर्याइरहेकाले अमेरिकाको महानतालाई पुनस्र्थापना गर्न त्यसको बलमा स्थिर विश्व व्यवस्थाको निर्माणलाई आफ्नो उम्मेदवारीको लक्ष बताउँदै आएका डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपति पदको लागि रिपब्लिकन दलको मनोनयन प्राप्त गरे ।
एक वर्ष लामो कठिन र संघर्षपूर्ण मनोनयन अभियानका क्रममा ट्रम्पले उनको पार्टीभित्र र बाहिर जति दबाब, तनाव, विरोध, घृणा र अपमान बेहोरे, सम्भवतः अमेरिकाको इतिहासमा कुनै अन्य उम्मेदवारले बेहोरेनन् । सर्वोच्च अदालतका न्यायाधीश रुथ बादेर गिन्सबर्गदेखि सन् २०१२ को राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार मिट रोम्नी, रिपब्लिकन सिनेटर टेड क्रुजहरूद्वारा भएको उनको कटु आलोचना र विरोधले यसको झल्को दिन्छ ।
दुई कार्यकालको लागि निर्वाचित जर्ज डब्लू बुसले त आफू रिपब्लिकन दलको तर्फबाट निर्वाचित अन्तिम राष्ट्रपति हुन पुग्नेसम्म भन्न पुगे । आगामी नोभेम्बरसम्म यो विरोधको क्रम अझ तीखो र धारिलो हुने सम्भावना नकार्न सकिँदैन । मनोनयनको मितिसम्म आइपुग्दा पार्टीका प्रमुख नेताहरूको स्तरमा समेत यस्तो विरोधबीच सामान्यतया मनोनयन सम्भव हुँदैन, तर पार्टीभित्र र आम जनस्तरमा समेत ट्रम्पको पक्षमा अत्यन्त ठूलो र शक्तिशाली समर्थनको लहरले पार्टी संरचनाले उनको मनोनयन अस्वीकार गर्न सकेन ।
राष्ट्रपति पदको लागि रिपब्लिकन पार्टीको मनोनयन स्विकार्दै जुलाई २२ मा ओहायो राज्यको क्लिभल्यान्डमा सम्पन्न सो दलको अधिवेशनमा डोनाल्ड ट्रम्पले आफ्नो उम्मेदवारीको औचित्य प्रस्तुत गर्दै ‘उदार, सहृदयी तर कानुन र व्यवस्थासहितको अमेरिकाको' पक्षमा उभिएको बताए । ‘आफ्नै मुलुकभित्र आफ्ना प्रहरीहरूमाथि आक्रमण भइरहने, अमेरिकी सहरहरूमा आतंकवाद मौलाइरहने, अमेरिकी जीवन प्रणालीमाथि आक्रमण भइरहने अवस्थामा यस्तो खतरालाई गहिरोसँग आत्मसात नगर्ने र आफ्ना नागरिकहरूको जीवन रक्षाको प्रथम दायित्व बहन गर्न नसक्ने कसैलाई यो मुलुकको नेतृत्व गर्ने अधिकार छैन' भनेर पनि उनले सो अवसरमा दाबी गरे ।
राष्ट्रपति ओबामाको गृहराज्य सिकागोमा मात्रै यो वर्ष दुई हजार जनता आपराधिक हत्याको सिकार भए । गत वर्षको तुलनामा ड्युटीमा खटिएका प्रहरीहरूको हत्या हुने क्रममा यो वर्षको यति अवधिमा मात्रै ५० प्रतिशतले वृद्धि भएको छ भन्ने उनको टिप्पणी थियो ।
‘अमेरिकाले आफ्नो भूमिबाट निस्कासनको आदेश दिएका आपराधिक पृष्ठभूमिका एक लाख ८० हजार अवैध आप्रवासीहरू सडकमा खुलारूपमा अमेरिकी जनताको शान्ति र अमनमाथि खतरा बनेर घुमिरहेका छन् । यो वर्षको आधा अवधि नपुग्दै सीमा अतिक्रमण गरेर अमेरिका आउने अवैधानिक आप्रवासीहरूको संख्या गत वर्षको भन्दा बढी भइसकेको छ ।
अवैधरूपमा दसौँ हजारको संख्यामा आएका उनीहरूले खुलारूपमा बस्न पाएका कारण अमेरिकाका आफ्ना वैध नागरिकहरूको सुरक्षा, हित र कल्याणमाथि खर्च गरिनुपर्ने साधन र स्रोतमाथि ठूलो दबाब परिरहेको छ' ट्रम्पले भने ।
चीनलगायतका विदेशी भूमिमा स्थापित अमेरिकी उद्योग र प्रतिष्ठानहरूलाई अमेरिकामै फिर्ता ल्याएर मुलुकमा व्यापक रोजगार र आर्थिक गतिशीलता निर्माण गर्ने लक्ष बताइरहेका ट्रम्पले सो अवसरमा सन् २०१५ मा मात्रै अमेरिकाको व्यापार घाटा आठ सय अर्ब डलर रहेको बताए ।
राष्ट्रपति ओबामाको कार्यकालमा राष्ट्रिय ऋणमा दोब्बर वृद्धि भई त्यो १९ हजार अर्ब डलर पुगेको, अमेरिकाका आधारभूत संरचनाहरू तेस्रो विश्वका मुलुकहरूको जस्तै लथालिंग भएको र साढे चार करोड अमेरिकीहरू राहतको खाद्यवस्तुमा निर्भर रहेको पनि उनको भनाइ थियो । सँगै उनले राष्ट्रपति ओबामाको कार्यकालमा कसरी अफ्रिकी अमेरिकी परिवारमा गरिबी र बेरोजगार बढिरहेको छ भन्ने आँकडा प्रस्तुत गरेका थिए ।
ट्रम्पको विदेश नीतिका केही परिवर्तनकारी लक्ष
राजधानी वासिंटनस्थित एक होटेलमा आफ्नो परराष्ट्र नीतिसम्बन्धी प्रमुख नीतिगत भाषण गर्दै अप्रिल २७ मा डोनाल्ड ट्रम्पले ‘पहिला अमेरिका' आफ्नो प्रशासनको सबैभन्दा प्रमुख नीतिगत लक्ष हुने र यसको प्राप्तिको लागि विगतका आफ्ना गौरवपूर्ण ऐतिहासिक उपलब्धिहरूबाट सिक्दै र त्यसलाई पुँजीकृत गर्दै अगाडि बढ्ने संकल्प बताएका छन् ।
तर उनको भनाइ छ— ‘अमेरिका फस्र्ट' भन्ने नीति भनेको दोस्रो विश्वयुद्धअघिको जस्तो एकान्तवास होइन । यो कुनै विगतको कालखण्डको अनुशरण होइन, संसारमा भएभरका सबै कुराको ठेक्का लिनुभन्दा पहिला अमेरिकाको वर्तमान चुनौती र आवश्यकताको ध्यान राखिनुपर्छ ।
चीनजस्तो उत्साही, सक्षम, परिश्रमी, लक्षसमर्पित र विराट् सम्भावना राख्ने राष्ट्रको छिमेकी भइरहन, ऊसँग सहकार्य गरिरहन र परस्पर समृद्धिका अवसर साटासाट गरिरहन अमेरिकालगायत क्षेत्रका चीनका छिमेकी राष्ट्रहरूसमक्ष ठूलो कूटनीतिक र रणनीतिक कौशल र क्षमता प्रदर्शनको विकल्प छैन ।
‘असुरक्षित र अस्तव्यस्त अमेरिकाले स्थिर विश्व व्यवस्थाको नेतृत्व गर्न सक्दैन । बाराक ओबामाको राष्ट्रपतित्वअन्तर्गत हिलारी क्लिन्टनको विदेश नीतिको गलत प्राथमिकता र रणनीतिका कारण सन् २००९ ताका दुनियाँमा अस्तित्वमै नरहेको इस्लामिक राष्ट्र आज विश्वको सबैभन्दा ठूलो खतराको रूपमा आएको छ ।
लिबिया स्थिर थियो, इजिप्टमा शान्ति थियो, इराकमा हिंसा घट्दै गइरहेको थियो, तर आज इराक, सिरिया, लिबिया, इजिप्ट जताततै हिंसा, अराजकता र आतंकवाद छ । लिबियामा स्वयं अमेरिकी राजदूत र उनका कर्मचारीहरू निरीहरूपमा मृत्युवरण गर्न बाध्य भए, तर हामी विश्वको प्रहरी हुने रहर पालेर बसेका छौँ', ट्रम्पको भनाइ छ ।
मुलुकभित्र गरिबी र हिंसा तथा मुलुकबाहिर जताततै विनाश र आतंकको यो स्थितिविरुद्ध आफ्नो घर, सीमा र छिमेकको सुरक्षा तथा आतंकवादविरुद्धको सुरक्षालाई कानुन, व्यवस्था, आर्थिक वृद्धि, रोजगारका उन्नत अवसरहरू विकासद्वारा सुरक्षित अमेरिकासहितको सुरक्षित र स्थिर विश्वको लागि आफ्नो नेतृत्वको अपरिहार्यता प्रस्तुत गर्दै डोनाल्ड ट्रम्पले सो अधिवेशनमा दाबी गरे— म अमेरिकी जनताको आवाज हुँ र म यो सबै चुनौतीको सामना गर्दै अमेरिकाको महानता पुनस्र्थापना गर्ने महायात्राको नेतृत्व गर्न सर्वथा योग्य र सक्षम पात्र हुँ ।' आफ्ना नागरिकलाई अपराध, हिंसा, दण्डहीनता र आतंकवादबाट मुक्ति दिने, जात र रङका आधारमा भेदभाव हुन नदिने कुराको प्रत्याभूति गर्नु नै आफ्नो उम्मेदवारीको औचित्य रहेको पनि उनले बताए ।
आफ्नो प्रशासनअन्तर्गत अमेरिकी विदेश नीतिमा आमूल परिवर्तन हुने प्रस्ट गर्दै ट्रम्पले भनेका छन्– अमेरिकासँग अन्य मुलुकहरूलाई उपदेश दिने कुनै अधिकार छैन । त्यसमाथि आफ्नो घरभित्रको भद्रगोल ठीक नपारी अन्य मुलुकहरूको नीतिबारेमा बोल्न त नितान्त अनुचित हो भन्ने उनको भनाइ जुलाई २० मा न्युयोर्क टाइम्समा प्रकाशित छ । स्मरणीय छ, ट्रम्पले अमेरिका र युरोपीय राष्ट्रहरूको शक्ति, एकता र विश्वासको प्रतीकको रूपमा रहेको उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) लाई औचित्यहीन र असान्दर्भिक संगठन बताउँदै आएका छन् ।
नाटोको विधानअनुसार कुनै सदस्य राष्ट्रमाथि आक्रमण भएमा त्यस्तो आक्रमणकारी राष्ट्रविरुद्ध सबै राष्ट्रको सैनिक दायित्व निर्माण हुन्छ । सोही सन्दर्भमा इस्टोनिया, ल्यात्भिया र लिथुआनिया जस्ता पूर्व सोभियत संघको विघटनपछि जन्मिएका नाटो सदस्य राष्ट्रहरूमाथि रूसले आक्रमण गरेमा उनको नीति के हुनेछ भन्ने प्रश्नको उत्तरमा ट्रम्पले भने– त्यस्तो स्थितिमा ती मुलुकहरूको रक्षाको लागि अमेरिकी सेना पठाउनुभन्दा पहिले उनीहरूले नाटोमा गरेको योगदानको समीक्षा गरिने र उनीहरूले आफ्नो दायित्व निर्वाह गरेको अवस्थामा मात्रै अमेरिका उनीहरूको मद्दतको लागि जानेछ ।'
अमेरिकाका भूमण्डलीय लक्षहरूलाई उसको आर्थिक क्षमतासँग तालमेल मिलाइएन भने त्यो दिगो हुन सक्दैन । त्यसैले अमेरिकाले आफ्नो सुरक्षाको लागि आफ्नो सेनालाई आफ्नै भूभागमा तैनाथ गरिनु सबैभन्दा भरपर्दो र मितव्ययी रणनीति हो भन्ने उनको भनाइ छ । यसले मूलतः अमेरिकाको एसिया र युरोपमा तैनाथ अमेरिकी सैन्य अड्डाहरूको भविष्यबारे गम्भीर प्रश्न उठेको छ । अमेरिकाका आणविक हतियार पुराना भइसकेका र आवश्यक पर्दा तिनले काम गर्ने–नगर्नेमा समेत सुनिश्चित हुन नसकिने भएकाले त्यसको आधुनिकीकरण गर्नेसमेत उनले बताएका छन् ।
न्युयोर्क टाइम्सका पत्रकारहरूसँगको एउटा अन्तक्र्रियामा ट्रम्पले भनेका छन्– अमेरिका आफ्नो प्राथमिकता चयनमा प्रस्ट नभएकाले समस्यामा परेको छ । उनी भन्छन्– इस्लामिक स्टेटको खतरनाक चुनौतीसामु सिरियाली राष्ट्रपति बसर अल असद केही होइनन्, तर अमेरिका असदसँगको झमेलामा मुछिइरहेको छ ।
ट्रम्पको चीन नीति
ट्रम्पका अनुसार क्यानाडा र मेक्सिको पछि चीन अमेरिकाको तेस्रो ठूलो व्यापारिक साझेदार राष्ट्र हो । उनको भनाइ छ– अमेरिकाको चीनसँगको प्रतिस्पर्धा आर्थिक हो । लामो समयदेखि यो प्रतिस्पर्धामा अमेरिका निरन्तर पराजित भइरहेको छ र यो पराजयको पछाडि अमेरिकी प्रविधिको चोरी, मुद्रा अवमूल्यनलगायतका चीनद्वारा हुने अस्वस्थ व्यापारिक प्रतिस्पर्धा हो ।
डोनाल्ड ट्रम्पका एक सल्लाहकार पिटर नाभार्रोअनुसार चीनले विश्व व्यापार संगठनको सदस्यता प्राप्त गरेर दुई मुलुकबीचको व्यापारमा सहजीकरण भएपछि अमेरिकाका ७० हजार कारखानाहरू बन्द भए, अमेरिकीहरूको जीवनस्तरमा सुधार अवरुद्ध हुन पुग्यो, कुल गार्हस्थ उत्पादनको औसत दरमा ५० प्रतिशतले ह्रास आयो ।
दुई करोड अमेरिकीहरू उन्नत रोजगारको अवसरबाट वञ्चित भए । यो अवधिमा अमेरिकाको चीनसँगको ऋण बढेर दुई हजार अर्ब डलर पुगिसकेको छ ।
मूलतः निर्वाचन प्रयोजनकै लागि ट्रम्पद्वारा लिखित पुस्तक –क्रिपल्ड अमेरिका– हाउ टु मेक अमेरिका ग्रेट अगेन नामक पुस्तकमा ट्रम्पले नाभार्रोकै जस्तो कुरा उल्लेख गरेका छन् ।
डोनाल्ड ट्रम्प भन्छन्– फ्री ट्रेड फेयर ट्रेड हुन सकेन भने त्यो बेइमानीको घर बन्न पुग्छ । सस्ता र अवैध रूपमा मूल्य घटाइएका सामानहरूको बाढी अमेरिकाभित्र हुलिदिएर चीनले अमेरिकाविरुद्ध व्यापार युद्ध सञ्चालन गरिरहेको छ ।
चिनियाँ विदेश मन्त्रालयले ट्रम्पको आरोपप्रति असहमति त जनाएको छ । रोयटर्सका अनुसार सो सम्बन्धमा विदेश मन्त्रालयका प्रवक्ता लु काङले भनेका छन्– तपाईंहरू हाम्रामाझ हुनुहुन्छ र हामी तपाईंहरूमाझ छौँ । दुवै मुलुकबीच तनाव र विवाद छन्, तर साविकका संयन्त्रहरूमार्फत नै हामी यसलाई समाधान गर्न सक्छौँ ।
अत्यन्त बलियो नीतिगत आधारभूमि निर्माण नगरीकन चीन र अमेरिकाबीचको जस्तो विराट् र सघन व्यापारिक सम्बन्ध व्यवस्थापन गर्न सकिँदैन ।' प्रवक्ता लुको अत्यन्त शालीन कूटनीतिक भाषामा आएको प्रतिक्रियाको तुलनामा पिपुल्स डेली र ग्लोबल टाइम्स जस्ता समाचार पत्रहरू अलि कठोर छन् ।
यहाँ के विचारणीय छ भने राष्ट्रपति पदकी अर्की प्रत्याशी हिलारी क्लिन्टनको चीनसँगको मतभेद उनी विदेशमन्त्री हुँदैदेखि धेरै तीखो, प्रखर र सशक्त छ । क्लिन्टनको चीनसँगको विमतिको आधार आर्थिक मात्र नभएर बृहत् राजनीतिक र सामरिक विषय र क्षेत्रसँग सम्बन्धित छ, तर ट्रम्पको त्यस्तो विमति आर्थिक सवालमा मात्रै केन्द्रित छ । अन्य मुलुकको आन्तरिक मामिलाबारे बोल्ने अधिकार अमेरिकालाई नभएको भन्दै आएका ट्रम्प चीनको लागि हिलारीभन्दा राजनीतिक र रणनीतिक रूपमा बढी सहज र सहयोगी हुन सक्छन् ।
राष्ट्रपति पदमा विजय हासिल गर्न सफल भए भने ट्रम्पले बुझ्दै जानेछन्– आफ्नो मुलुकको महानता, सुरक्षा र समृद्धिप्रति उनको जस्तै प्रतिबद्धता चीनप्रति चिनियाँ राष्ट्रपति सी जिनपिङ र अन्य प्रमुख नेतृत्व पंक्तिका व्यक्तिहरू र उनीहरूका पूर्वाधकारीहरूमा रहेकै कारण चीन आजको हैसियतमा आइपुगेको हो । दक्षिणी चीन सागर र पूर्वी चीन सागरका विवादित क्षेत्रहरूसम्बन्धी सवाललाई आधार मानी आफूमाथि जताततैबाट रणनीतिक घेराबन्दी भएको अनुभव चीनले गर्ने अवस्था आयो र त्यसमाथि व्यापारिक युद्ध पनि थपियो भने चीनमा उठ्ने उग्र राष्ट्रवादको लहर थामिराख्न चिनियाँ नेतृत्वलाई पनि सम्भव छैन ।
स्वाभाविक रूपमा, आन्तरिक असन्तोष व्यवस्थापन गर्ने विभिन्न रणनीति, विधि र कार्यपद्धतिबारे चीन त्यति अभ्यस्त छैन । कुनै निर्णय प्रक्रियामा प्रवेश गर्न, निष्कर्षमा पुग्न र त्यसलाई कार्यान्वयनमा लैजान चिनियाँ राजनीतिक नेतृत्वसमक्ष उन्नत र समृद्ध प्रजातान्त्रिक मुलुकहरूमा जस्तो विभिन्न जटिल प्रक्रियाहरू पूरा गर्दै अनुमोदनका प्रक्रियाहरूमा प्रवेश गर्ने अभ्यास नभएकै देखिन्छ ।
त्यसैले आपसी विवादका विषयहरूमा अमेरिका र क्षेत्रका मुलुकहरूले चीनसँग खुला छलफल गरेर एउटा निष्कर्षमा पुग्न र आपसी छलफल र परामर्शका संयन्त्रहरूमा चीनलाई संलग्न गराइराख्न सकेनन् भने चिनियाँ राजनीतिक नेतृत्व, जनमुक्ति सेना र जनतामाझ उठ्न सक्ने उग्र राष्ट्रवादी धार थामिनसक्नु भएर उठ्ने सम्भावना नकार्न सकिँदैन । त्यो स्थिति चीन, अमेरिका र क्षेत्रका मुलुकहरू कसैको पनि हितमा हुने छैन ।
अमेरिका, जापान, दक्षिण कोरिया मात्रै होइन, सिंगापुरजस्तो नगर राष्ट्र पनि चीनको लागि आदर्श नमुना राष्ट्र रहेका हुन् । उनीहरू अझै चीनको लागि नमुना राष्ट्र बनिरहने सामथ्र्य राख्छन् । चीनजस्तो उत्साही, सक्षम, परि श्रमी, लक्षसमर्पित र विराट् सम्भावना राख्ने राष्ट्रको छिमेकी भइरहन, ऊसँग सहकार्य गरिरहन र परस्पर समृद्धिका अवसर साटासाट गरिरहन अमेरिकालगायत क्षेत्रका चीनका छिमेकी राष्ट्रहरूसमक्ष ठूलो कूटनीतिक र रणनीतिक कौशल र क्षमता प्रदर्शनको विकल्प छैन ।
तर यसको अर्थ संसारको सबैभन्दा पुरानो र समृद्ध सभ्यताको निरन्तरतालाई प्रतिनिधित्व गर्ने डेढ अर्ब जनसंख्याको मुलुकको सुख, शान्ति र स्वाभिमानसहितको समृद्धि सुनिश्चित गरिरहन चीनले कम कूटनीतिक र रणनीतिक कौशल र क्षमता प्रदर्शन गर्नुपर्छ भन्ने भने होइन ।
भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिजसँग आबद्ध छन् ।