गण्डक बाँध फुट्ने खतरा
नवलपरासीः नवलपरासीको गण्डक बाँधमा पानीको बहाब बढेपछि फुट्ने खतरा बढेको छ ।
गण्डक बाँधमा मंगलबार ८.०६ मिटर पानी जम्मा भएको छ । उक्त बाधँमा ७.३ मिटर पानीको सतह पुगेपछि खतरा मानिन्छ । पानीले खतराको सूचक नाघिसकेपछि त्यसको दक्षिणी क्षेत्रमा रहेका बस्तीहरुलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासीले आग्रह गरेको छ ।
गण्डक बाँध फुट्ने खतरा बढेको भन्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सबै सुरक्षा अधिकारीहरुलाई त्यस क्षेत्रको सुरक्षा व्यवस्था मजबुद बनाउन निर्देशन दिएको बताएका छन् ।
गन्डक नदीको गहिराइ घटेका कारण पनि समस्या उत्पन्न भएको छ । पहाडमा झरेको चट्टान र ढुंगा बगेर आउँदा बाँध सतह पुरिएर बाँधको क्षमता घट्ने क्रममा छ । बाँधको क्षमता साढे ८ लाख क्यूसेक रहेपनि अहिले जीर्ण भएकाले साढे तीन लाखमै फुट्ने खतरा रहेको छ ।
मुस्ताङ्गको कालिगण्डकीदेखि विभिन्न खोला र नदीको जलाधार क्षेत्र रहेको गन्डक नदीमा यसबर्षको अविरल वर्षाले चाप बढाएको छ ।