सुवास नेम्वाङलाई ‘ग्याङको नेता’ भनेपछि संसदमा तनाव
काठमाडौँः व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथि छलफलमा केही बेर तनाव भएको छ ।
बाधा अड्काउ फुकाउ आदेशमाथिको छलफलमा बोल्ने क्रममा नेपाली कांंग्रेसका सुरेन्द्रप्रसाद चौधरीले अशिष्ट भाषा प्रयोग गरेपछि संसदमा तनाव भएको हो ।
सांसद चौधरीले एमालेका उपनेता सुवास नेम्वाङलाई ‘ग्याङको नेता’ भनी सम्बोधन गरेपछि एमालेका सांसदले उठेर नियमापत्ति गरेका थिए । चौधरीले बोले लगत्तै सभामुख ओनसरी घर्तीले उनको त्यस भनाइलाई अभिलेखबाट हटाउन निर्देशन दिएकी छन् ।
त्यसपछि, सभामुखसँग समय लिई एमालेका कृष्णभक्त पोखरेलले चौधरीले अमर्यादित भाषा प्रयोग गरेको भनी आलोचना गरे । त्यसपछि सभामुख घर्तीले सबै सदस्यलाई शिष्ट र मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिएकी छन् । रासस