बाढीले तिनाउको पुल बगायो, झुम्सामा एकको मृत्यु
बुटवलः तिनाउ–दानव नदीको कटान तथा डुवान नियन्त्रणको लागि सरकारले तटबन्धमा ६ वर्षयता पचास करोड भन्दा बढी रुपैयाँ खर्च गरेपनि परिणाम भने बालुवामा पानी खन्याए सरह भएको छ ।
बुटवल उपमहानगरपालिका १३ बुद्धनगरमा २०६३ सालमा झण्डै डेढ करोड रुपैयाँ लगानीमा निर्मित झोलुङ्गे पुल मंगलबार बाढीले बगाएको छ । पुल र बस्ती संरक्षणका लागि बनाइएको तटबन्ध बगेपछि पुल बगेको हो । बस्ती उच्च जोखिममा छ ।
बिहान १० बजे नदीको तिव्र कटानका कारण पुलको पश्चिमतर्फको भाग अचानक नदीमा खसेको थियो । सुरक्षार्थ बसेका दुई प्रहरी सामान्य घाइते भएका छन् । पुलमा जोखिम बढेपछि प्रहरीले पुलमुनीका घरका वासिन्दालाई बाहिर निकालेको थियो ।
२०७१ सालमा पनि बाढीले यही ठाउँको तटवन्ध बगाएको थियो । बस्ती बगाउने डरले बुद्धनगरवासी त्रसित छन् । उक्त पुल बगेपछि बुटवल पश्चिमका १० भन्दा बढी गाविसको नगरसँगको सम्बन्ध असहज बनेको छ ।