राप्ती नदीमा अलपत्र परेका दुई यस बढीको उद्धार
बाँकेः राप्ती नदीले चारैतिरबाट घेराउ गरेर अल्पत्रमा परेका दुई सय जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
राप्ती नदीको बिचमा फसेका होलिया गाविस– २ चौफेरीका २ सय बढी जनाको नेपाली सेनाले हेलिकप्टर मार्फत् उद्धार गरेको हो ।
नेपाली सेनाको एमआई सेभेटिन हेलिक्टरले रबर बोट लिएर उद्धारका लागि चौफेरी पुगेको सशस्त्र प्रहरीको टोलीसँग आउन नमानेपछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी दिए ।
उनले अहिले पनि उद्धार कार्य जारी रहेको बताए । कुसुमस्थित राप्ती नदीमा पानीको सतह बढ्ने क्रम जारी छ ।
राप्ती नदीमा आएको बाढीले होलिया गाविस ७, चौफेरी, सिम्रहाना र टेपरी गाउँलाई बीचमा पारेको छ । नदीको बिचमा परेका सिम्रहानाका ८० जनालाई नेपाल प्रहरीले बिहान नै उद्धार गरेको छ ।
चौफेरीका दुई सय जनाको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
कचनापुर गाविस–९, राजपुर गाउँ पुरै डुवानमा परेको छ । ८ वटा घर राप्तीले बगाएर लगेको स्थानीय इन्द्र बहादुर केसीले जानकारी दिए । गाउँमा नदी पस्न थालेपछि सशस्त्र प्रहरीको सहयोगमा स्थानीयबासी सुरक्षित स्थानमा सरेका छन् ।