ओलीको राजीनामा आउनुमा भारतको भूमिका
काठमाडौं : चिनियाँ कुटनीतिक मामिलाका एक विज्ञले नेपालमा ओली नेतृत्वको सरकार परिवर्तनमा भारतको भूमिका रहेको बताएका छन् ।
इन्स्टिच्युट फर साङ्घाई म्युनिसिपल सेन्टर फर इन्टरनेशनल स्टडिजका निर्देशक वाङ् देहुवाले भनेका ओलीको राजीनामा आउनुमा भारतको भूमिका रहेको उल्लेख गरेका हुन्। ‘प्रधानमन्त्री ओलीको राजीनामा आउनुका पछाडी भारतको हात देखिन्छ किनकी ओलीले मार्चमा सम्पन्न चीन भ्रमणमा चीनसँग महत्वपूर्ण सम्झौता गरेका थिए, उनले लेखका छन्।
यसैका कारण भारत ओलीसँग असन्तुष्ठ बनेको हुनुपर्छ’ चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा प्रकाशित आफ्नो लेखमा देहुवा भन्छन् । चीनको स्वशाषित क्षेत्र तिब्बतबाट नेपालतर्फ हुंदै आएको गैह्रकानुनी तिब्बतीहरुको प्रवेश तर्फ लक्ष्यि गर्दै उनले नेपाल स्थिर भएमात्र चीनको सीमा सुरक्षा चिन्ता हट्न सक्ने उनले लेखेका छन् ।
‘नेपाल र चीनबीचको सकारात्मक तथा सहकार्यत्मक संबन्ध भारतको समेत हितमा छ’ उनी थप्छन् । नेपाल र चीनबीच हस्ताक्षरित पारवहन सम्झौता नेपाल, चीन र भारतबीच मात्र नभएर आर्थिक विकासका लागि क्षेत्रीय रुपमा समेत महत्वपूर्ण रहेको उनको भनाई छ । ‘चीनले नेपालमा विस्तार गर्न लागेको रेलबाट भारत चाहीँ त्रसित देखिन्छ ।
नेपालका अधिकांश जनता चीनसँग मैत्रीपूर्ण, शान्तिपूर्ण संबन्ध राख्न चाहेकोमा आफू विश्वस्त रहेको उनी लेख्छन् । ‘चीनसँग भएका पारवहन लगायत सम्झौताहरु क्षेत्रीय समृद्दिका लागि कार्यान्वयन हुनेमा नेपालीहरु विश्वस्त देखिन्छन्’ लेखमा उनी भन्छन् । काठमाडौस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री ओलीको फागुनमा सम्पन्न चीन भ्रमणपछि नेपाल—चीनबीच संबन्ध ‘नयाँ युग’ मा प्रवेश गरेको केही अघि बताएका थिए ।
उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएका सम्झौताको कार्यान्वयनको बिषय नेपाल र चीनका राजनीतिक नेतृत्वको इच्छा शक्तिमा निर्भर रहने धारणा राखेका थिए । अब बन्ने नयाँ सरकारले चीन संगको संबन्धलाई ओली सरकारले झैँ प्राथमिकता नदिने हो कि भन्ने अड्कलबाजी भइरहेका बेला चीनका तर्फबाट भने आगामी दिनमा दुई देशीय सहकार्यमा कुनै बदवाल नआउने प्रतिक्रिया आएको हो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा हस्ताक्षरित पारवहन तथा यातायात सम्झौता लगायत ऐतिहासिक सहमतिको कार्यान्वयन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललको नेतृत्वमा बन्ने नयाँ सरकारले प्राथमिकता दिन्छ/दिंदैन भन्नेमा चिनियाँ चिन्ता देखिन्छ । भारतीय संचार माध्यमहरुले ओलीको बर्हिगमनसँगै नेपालमा चीनको प्रभाव कम हुने र नेपाल— भारत संबन्ध फर्किने दाबी गरिरहेका बेला चीनका तर्फबाट वक्तव्य आएको छ ।