सयमा नौ पसलको मासु खानयोग्य

सयमा नौ पसलको मासु खानयोग्य

काठमाडौं: काठमाडौं उपत्यकाका एक सय दुईवटा मासुपसल अनुगमन गर्दा नौवटा पसलबाट बेचिने मासुमात्र खान योग्य रहेको फेला परेको छ । पशुपन्छी मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरका यी मासुपसलमा अनुगमन गरी गुणस्तर परीक्षण गरेको थियो ।

मन्त्रालयले विशेषज्ञ टोली खटाएर अनुगमन गर्दा यी मासुपसलबाट बेचिने कुखुरा, खसी, राँगा र बंगुरको मासु मानव स्वास्थ्यका लागि घातक भएको पत्ता लागेको हो । अनुगमनका क्रममा अत्याधुनिक भौतिक पूर्वाधार तथा साजसज्जासहित सञ्चालनमा रहेका मासुपसलबाट बेचिने मासु पनि गुणस्तरहीन फेला परेको थियो ।

अनुगमन टोलीले उपत्यकाका अधिकांश मासुपसलबाट बेचिने मासु ‘खान लायक नभएको' भन्दै मंगलबार पशुपन्छी राज्यमन्त्री नरदेवी पुनमगर र सचिव कृष्णचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार एक सय दुई पसलबाट बेचिने मासुको जीवाणुसम्बन्धी (माइक्रोबियल लोड) र एन्टिबायोटिक औषधिसम्बन्धी दुईखाले परीक्षण गरिएको थियो ।

एक सय दुई पसलमध्ये ६२ वटा पसलबाट बेचिने मासुमा कम परिमाणमा एन्टिबायोटिक औषधिको अवशेष भेटिएको प्रतिवेदनमा उल्लेख छ । बाँकी पसलबाट बेचिने मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक भेटिएको मन्त्रालयका सचिव पौडेलले बताए । ‘प्रतिवेदनले करिब १० प्रतिशत पसलको मासुमात्रै खान योग्य देखाएको छ । बाँकी ९० प्रतिशत पसलबाट उत्पादित मासु खान अयोग्य भेटियो', उनले भने, ‘खान अयोग्य भेटिएका मासुपसललाई चाँडै कारबाहीको दायरामा ल्याउँदैछौं ।'

वरिष्ठ पशु चिकित्सक डा. बोधनाथ अधिकारीका अनुसार मापदण्डअनुसार कम परिमाणमा जीवाणु भेटिएका आधारमा खानलायक मासु बेच्ने पसलमा बालाजुस्थित बालाजु मिट सप, ललितपुरको नखिपोटस्थित कामना मिट सप, सोही स्थानको आरके मिट सप र पुलचोकस्थित सोल्टी कोल्ड स्टोर छन् । यस्तै पुल्चोकस्थित पुल्चोक कोल्ड स्टोर र शिव मासु पसल, नक्खुस्थित भेराइटी मिट सप, सोही स्थानको एनके मिट सप र भक्तपुरको ख्वपः कोल्ड स्टोरबाट बेचिने मासु पनि खान योग्य भेटिएको छ ।

 

प्रतिग्राम मासुमा एक लाखभन्दा तलको संख्यामा जीवाणु भेटिए खान योग्य मानिएको छ । यसैगरी प्रतिग्राम मासुमा एक लाखभन्दा बढीको संख्यामा इकोला, साल्मोनेला, कम्पाइलोब्याक्टर, ब्रुसोलोसिसलगायतका जीवाणु भेटिए खान अयोग्य मानिएको छ । बढी संख्यामा भेटिने जीवाणुयुक्त मासु सेवन गर्दा झाडापखाला लाग्ने, पेट दुख्ने, क्षयरोग लाग्ने, कलेजो, मिर्गौला र टाउकोमा असर गर्ने, प्रजनन क्षमतामा असर पुर्‌याउनेलगायतका समस्या देखापर्छ ।

मन्त्रालयका अनुसार उच्च परिमाणमा एन्टिबायोटिक औषधिको अवशेष पाइएका पसलमा कलंकीस्थित एनएस मिट सप, पुल्चोकस्थित श्याम मिट सप, कलंकीस्थित सानुभाइ मिट सप, कुलेश्वरस्थित सुनैना मिट सप, बालाजुस्थित हाइभिजन मिट सप, कलंकीस्थित सलिना मिट सप र बालाजुस्थित श्याम मिट सप छन् । यस्ता मासु पसलबाट बेचिने मासुमा टेट्रासाइक्लिन, अमिनोग्लाइकोसाइड, माइक्रोलिड, सल्फा, पेनिसिलिनलगायतका औषधिको मात्रा मापदण्डभन्दा बढी फेला परेको छ । यी पसलका मासुमा प्रतिकिलोमा ६.४ मिलिग्रामसम्म टेट्रासाइक्लिन औषधिको मात्रा पाइएको छ । मापदण्डअनुसार ०.२५ मिलिग्राम मात्र हुनुपर्छ ।

एक सय दुईवटा मासु पसलमध्ये ५५ वटाले सरकारी मापदण्ड पूरा नगरेको, ३९ वटाले आंशिक रूपमा मापदण्ड पूरा गरेको र आठ पसलले मात्रै न्यूनतम सरकारी मापदण्ड पूरा गरेको फेला परेको थियो ।

राज्यमन्त्री पुनमगरले स्वच्छ मासुका लागि अब स्रोतकेन्द्रमै वैज्ञानिक अध्ययन गरी मापदण्डअनुसार फेला नपरे प्रभावकारी रूपमा कारबाही गरिने बताइन् । निजी क्षेत्रका मासु पसलका सञ्चालकले अटेरी गरेको बताउँदै उनले अटेरी गर्ने पसललाई पनि कानुनी दायरामा ल्याइने जानकारी दिइन् ।

मन्त्रालयका अनुसार काठमाडौंका बालाजु, गोंगबु, कालीमाटी, कुलेश्वर र कलंकीमा गरी ६३ वटा मासु पसलको अनुगमन गरिएको थियो । त्यस्तै भक्तपुरका कमलविनायक क र कमलविनायक ख गरी १७ वटा मासु पसलको अनुगमन गरिएको थियो । ललितपुरका नखिपोट, पुल्चोक, जाउलाखेल र नख्खुमा गरी २२ वटा मासु पसलको अनुगमन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.