डा. केसीको अनशन

डा. केसीको अनशन

डा. गोविन्द केसीले मुलुकमा र केही हदसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा पनि एउटा नाम बनाएका छन्, सम्मान हासिल गरेका छन्, शिक्षा र चिकित्सा क्षेत्रलाई भ्रष्टाचार र राजनीतिक हस्तक्षेप मुक्त राख्नुपर्ने अभियानलाई नेतृत्व गरेर । उनका आमरण अनशनहरूले सार्वजनिक जीवनमा केही भय र नैतिक मूल्य, मान्यता तथा औजारप्रति आम सचेतना पैदा गरेको छ ।

तर त्यससँगै ‘सत्याग्रह' या त्यससँग जोडिएको अनशनको अति प्रयोगले त्यसलाई प्रत्युत्पादक बनाउने र फरक कित्तामा रहेका या डा. केसीका मागप्रति उदासीन या तटस्थहरूप्रति घृणा तथा आक्रोशको वातावरण सिर्जना गर्ने परिस्थिति बन्ने खतरा पनि त्यत्तिकै बढाएको छ । कम से कम डा. केसीको आठौँ पटकको आमरण अनशनमा त्यस्ता लक्षण या संकेत देखा परे ।

‘सत्याग्रह' को आन्दोलनको नेतृत्वको ‘रेखदेख' या नियन्त्रण त्यस्ता गतिविधिहरू साक्षी रहेनन् भने सत्याग्रही स्वयंको नैतिक हैसियतमा ह्रास आउँछ । सम्भवतः भविष्यको लागि यो उचित पाठ हुनेछ, डा. केसी तथा उनीजस्ता सम्भावित सत्याग्रहीका लागि ।

 

जे होस्, डा. केसीको आठौँ आमरण अनशन एउटा सहमतिमा टुंगिएको छ, उनको जीवन बचेको छ । सरकारले उनका अधिकांश र आफ्ना अधिकार क्षेत्रभित्र रहेका माग स्विकारेको छ । सम्भवतः केसी स्वयंले पनि अन्त्यमा अख्तियार प्रमुखविरुद्ध मागेको महाभियोगलाई प्रतिष्ठाको विषय बनाएनन्, त्यो माग प्रत्यक्ष रूपमा उनका पहिलेको अभियानसँग जोड्नु उचित थिएन भन्ने बुझेरै होला ।

सत्याग्रहीले राष्ट्रहित र व्यापक सरोकारका सबै विषयलाई आफ्नो अभियानमा समेट्न सक्छ, तर त्यसको नियत र औचित्यबारे ऊ स्पष्ट हुनुपर्दछ । सत्याग्रही आफ्नो विवेक र मान्यताबाट हैन, अरू कसैको ‘हित' बाट निर्देशित छ भन्ने मान्यता बन्यो भने त्यसले सत्याग्रह र सत्याग्रहीलाई सबभन्दा बढी क्षति पुर्‌याउनेछ । केसीको आठौँ ‘आमरण अनशन' को समाप्ति र त्यसमा देखा परेको सहमतिबाट त्यो सम्भावित ‘क्षति' टरेको छ । तर विगतमा जस्तै सहमतिहरूले कागजका चाङ मात्र नबढाऊन्, त्यसको कार्यान्वयन इमानदार रूपमा होस् भनी सुनिश्चित गर्ने दायित्व हस्ताक्षरकर्ता पक्षहरूको हो ।

विवादमा रहेको मनमोहन चिकित्सा शास्त्र फाउन्डेसनले सरकारी अभिभावकत्व प्राप्त गर्ने देखिन्छ । त्यस्तै सहमतिअनुसार निजी मेडिकल कलेजहरूमा शुल्क संरचना व्यवस्थापन तथा पारदर्शिता, पोस्ट ग्र्याजुएसन तहमा छात्रवृत्तिको व्यवस्था (७५ प्रतिशतसम्म) र विद्यार्थी भर्नामा केन्द्रीय परीक्षा व्यवस्थाले स्तरीयता तथा पारदर्शिता सुनिश्चित गर्ने अपेक्षा गरिन्छ ।

तर भोलिका दिनमा चिकित्सा क्षेत्रमा निजी क्षेत्रको भूमिकाको सकारात्मक मूल्यांकनसँगै त्यसलाई व्यवस्थित गर्ने काममा पनि सम्बन्धित पक्षहरू जुट्न आवश्यक छ । तर आम निजी क्षेत्रलाई ‘खलनायक र ‘भ्रष्ट' को पगरी गुथाएर त्यो काम सहज हुँदैन । सत्याग्रही चरित्र विकाससँगै निजी क्षेत्रको व्यवस्थापन पनि समानान्तर रूपमा जान सक्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.