निःशुल्क शिक्षा र किशोरी

निःशुल्क शिक्षा र किशोरी

विहारका १५ लाख बालबालिकालाई उछिनेर प्रथम श्रेणीमा प्रथम भएकामध्ये केही विद्यार्थी पुनः परीक्षा दिन नै आएनन् । राजनीतिक विज्ञान भनेको के हो ? भनेर एक टीभीमा सोधिएको प्रश्नको उत्तरमा प्रथम भएकी एक युवतीले राजनीतिक विज्ञान भनेको खाना पकाउने विज्ञान हो भनेर जवाफ दिएपछि हलचल मचिएको विहारमा लहरो तान्दा पहरो गए झैँ भयो ।

विहारको सरकारी स्कुलको पढाइ र त्योसँग गाँसिएका अनियमितताले विहारी शिक्षाको अनुहार देखायो । अहिले नेपालमा पनि सरकारी स्कुलमा जाँदा अध्यापकको स्तर, पढाउने तरिका र विद्यार्थीहरूको अज्ञानता हेर्दा हामी पनि विहारभन्दा कम छैनौँ जस्तो महसुस हुन्छ ।

तराईमा एक सरकारी स्कुलमा आठ कक्षामा एक शिक्षकले पढाउँदै थिए । हामी पछिल्लो कुर्सीमा गएर बस्यौँ । झन्डै सयजना विद्यार्थी भएको कक्षामा कोही झगडा गरिरहेका, थिए, कोही सुतिरहेका थिए, शिक्षक विज्ञान पढाउँदै थिए । उत्तरी दिशा र दक्षिणी दिशामा चुम्बन हुन्छ, उसले भन्दा म छक्क परेँ । उनी विज्ञानका शिक्षक चुम्बक र चुम्बनमा उनको लागि केही फरक थिएन । छात्रछात्रालाई पनि के सिकिरहेको हुँ, थाहा भएन । उनीहरूलाई सरले के पढाइरहनुभएको थियो वास्ता पनि थिएन ।

यस्ता पढाइका नमुना हामीसँग थुप्रै छन् । विशेषगरी दलित, मुसहर, चमार, पासवानका बालिका र किशोरी पढाउनको लागि सरकारले गरेका केही व्यवस्था गाउँ पुगेपछि हराउँछन् ।

उदाहरणको लागि एक वर्षमा दलित छात्र वा छात्रालाई चार सय रुपैयाँको हिसाबले दिइने आर्थिक सहयोगको लोभले केही मातापिताले स्कुलमा छोराछोरी पठाउँछन् । तर जब पैसा पाउँछन् स्कुल आउन बन्द हुन्छ । आमाबाबुले छोरी पढाइको लागि किताब, कापी, लुगा, किन्नमा त्यो चार सय रुपैयाँ किन खर्च गर्दैनन् ? उनीहरू कि त रक्सी खान कि त घर खर्चमा त्यो रकम प्रयोग गर्छन् ।

सिराहामै स्कुलमा शिक्षकले भनेको पनि सुनियो । अनि उनीहरू स्कुल नआएपछि जाँचमा कोही पनि आउँदैन तर सरकारी नियमअनुसार केही पनि विद्यार्थी फेल हुँदैन भनेर समुदायले बुझेको छ । त्यहीअनुसार हाम्रा छोरीलाई फेल गराउन पाउँदैनौ भनेर हुल बाँधेर समुदाय आएपछि शिक्षकहरूको केही लाग्दैन, पास गराइदिन्छन् ।

फलस्वरूप १० कक्षा पढ्ने विद्यार्थीलाई नेपाली र अंगे्रजीमा एक लाइन लेख्न गाह्रो हुन्छ । यसरी पास गराएका विद्यार्थीहरूको हविगत के हुन्छ भन्ने त उनीहरूलाई केही लेख्न र पढ्न दिएपछि थाहा हुन्छ । १० कक्षाको विद्यार्थीलाई आफ्नो बारेमा आधा पेज लेख्न नआएको घटना धेरै छन् ।

सिराहाको एक स्कुलमा ९ र १० का १४० जना विद्यार्थीको जाँच लिएकामध्ये जम्मा १५ जनाले मात्र नेपाली र अंग्रेजीमा आफ्नो कक्षाको पाठ लेख्न सके । अन्य विद्यार्थीहरूले त लेख्न सकेनन् । यस्तो पढाइ हुने स्कुलबाट विद्यार्थी कसरी पास हुन्छन् त भनेर छलफल गर्दा अरूले जाँच दिने, शिक्षकले लेखाइदिने आदि उत्तर आयो ।

निम्न माध्यमिक विद्यालयमा पहिलेको तुलनामा छात्राहरूको संख्या बढ्यो भनेर खुसी नै हुन्छौँ, तर हामीले किन सानो कक्षामा छात्राको भर्ना बढ्ने र ठूलो कक्षामा गएपछि संख्या कम हुँदै जाने विषयमा छलफल गर्न सरकारी निकायका मानिस त्यति मन पराउँदैनन् ।

 

विद्यार्थीहरू सबभन्दा बढी असफल हुने हिसाब, अंग्रेजी र विज्ञान विषय हुन् । किनभने यस्ता विषयलाई जीवनसँग जोडिएर हेरिएकै छैन । कुनै पनि शिक्षकले विद्यार्थीलाई कक्षा बाहिर लगेर जीवनसँग जोडिने गरी शिक्षा दिने जमर्को गरेको छैन । यसले गर्दा पढाइ अति नै बोझ बन्न जान्छ र विद्यार्थीलाई कहिले कक्षाबाट भागूँ जस्तै लाग्छ ।

कन्चनपुरमा पूर्व कमलरीहरूलाई राखिएको एक छात्रावास जाँदा त्यहीको नजिकै सरकारी स्कुलमा कमलहरी पढ्ने प्रबन्ध गरिएको रहेछ । १६ वर्षीया एक कमलरी सात कक्षामा एकैचोटि ल्याएर भर्ना गरिदिएको रहेछ । ‘नियमअनुसार उनलाई सानो कक्षामा राख्न मिल्दैन अनि एकैचोटि सात कक्षामा भर्ना गरिदिएका हौँ ।' शिक्षकले भनेका थिए, ‘तर उनको पढाइ अलि कमजोर छ ।

‘पढाइ कमजोर भएर त के भयो र उनलाई प्रेरणा दिएपछि त पढ्न मेहनत गर्ने नै छन् ।' मैले भनें र उनलाई पाँच कक्षाको नेपाली किताब पढ्न लगाएँ । उनी घोसे मुन्टो लगाएर बसिरहिन् । लामो समयसम्म नपढेर उनका आँखाबाट आँसु चुहिएको देखेर मैले ‘के भयो, कसैले गाली गर्‌यो' भनेर सोधेको त उनले त केही भनिनन्, तर नजिकै बसेका उनका साथीहरूले भने, ‘उनलाई त क, ख पनि आउँदैन ।

म स्तब्ध भएँ । सात कक्षामा १६ वर्ष पुगेकी किशोरीलाई क, ख नै नआउने उनको जस्तो उमेरको आधारमा मात्र भर्ना गर्नु उनलाई कति गाह्रो हुँदो हो । बिहानदेखि बेलुकासम्म केही पनि नबुझेर कक्षामा बसिरहनु त शारीरिक र मानसिक यातना नै दिनु हो । मैले शिक्षकलाई भने, हामीलाई चाइनिज भाषा कक्षामा लगेर बिहानदेखि बेलुकासम्म पढाएर केही दिन राखे भने हामी के हुन्छौँ होला ?

शिक्षकहरूले परिस्थितिको मूल्यांकन गर्न नसक्दा र नियमको परिधिभित्र मात्र बाधिँदा कतिजना किशोरीहरू स्कुल आउनै नचाहने वा विवाह नै गरेर जाने घटना धेरै छन् ।

यी किशोरी त चार महिना भइसक्यो सात कक्षामा बसेर कति यातना भोगिरहेकी छन् । ‘हो तर के गर्नु ? नियमअनुसार उनलाई स्कुलमा राख्नैपर्‌यो । एक कक्षामा राख्न मिलेन । यही राखिदियौं ।' शिक्षकले आफू तथा कतिपय सरकारी नियमले नदिएको कुरा सुनाए ।

एक वर्षपछि त्यही छात्रावासमा जाँदा ती किशोरी पढ्न नचाहेर विवाह गरेर गइन् रे भन्ने सुनियो । शिक्षकहरूले यसरी परिस्थितिको मूल्यांकन गर्न नसक्दा र नियमको परिधिभित्र मात्र बाधिँदा कतिजना किशोरीहरू स्कुल आउनै नचाहने वा विवाह नै गरेर जाने घटना पनि कति छन् ।
एक स्कुलमा १० कक्षाका छात्राहरूलाई केही नेपाली शब्द दिएर वाक्यमा प्रयोग गर्न भनेर अति सजिलो शब्दहरू दिइयो ।

श्रीगणेश गर्नु अर्थात् सुरु गर्नु भन्ने वाक्य बनाउन दिँदा त्यसको वास्तविक अर्थ नबुझेर छात्राहरूले म श्री गणेशको पूजा गर्छु भनेर लेखेको पाइयो ।

त्यसैगरी अंग्रेजीमा सय शब्दमा १० कक्षा पास गरेपछि के पढ्ने भनेर लेख भनेकोमा दुई लाइनभन्दा बढी उनीहरूले लेख्न सकेनन् ।
तर यसमा मलाई केही अचम्म लागेन किनभने सरकारी नियमअनुसार कोही पनि फेल नगराउने भनेर भनिएको छ । यस्तो निःशुल्क शिक्षाले किशोरीले कसरी जीवन चलाउने होला ?




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.