पहिरोले कपास उद्योग पुर्यो, एकको मृत्यु, आठ घाईते
कुश्माः पहिरोमा पुरिएर पर्वतको माझफाँट गाविस ३ स्थित पर्वत बेनीमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
पर्वतको मल्लाज जाने पदमार्गको प्रवेशद्धार नजिकै रहेको धौलागिरी कपास उद्योग माथिको भिरबाट पहिरो खस्दा उद्योगनै पुरीएर १२ वर्षिया अंकिता तामाङको ज्यान गएको हो । पहिरोले पुरीएर घाईते भएकी तामाङको उपचारका लागि पोखरा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
पहिरोमा परेर घाईते भएका ३२ वर्षिय सुवास थापा, १२ वर्षिया कृष्टि घले, वर्ष १६ की सुस्मिता तामाङ, ११ वर्षिया अजय तामाङ, ३२ वर्षिया फुलकुमारी तामाङ, २८ वर्षिया सविना घले, ३ वर्षिय बिजय घले र २० वर्षिय प्रेम तामाङको म्याग्दी जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए ।
मंगलबार राति १ बजेको समयमा पहिरो खस्दा उद्योगमा सुतीरहेका उनिहरुको भागाभाग भएको थियो । त्यहाँ रहेका चार जना भने सकुशल रहेका छन् । घाईतेको प्रहरीका साथै पर्वत बेनी र बेनीको कालीपुल क्षेत्रका बासिन्दाहरुले उद्धार गरेर अस्पतालमा पु¥याएका थिए ।
पहिरोले पुराना कपडालाई प्रयोग गरेर सिरक, डसना लगायत बनाउदै आएको उद्योगमा रहेका सबै औजार, उपकरण र कच्चा पदार्थ नष्ट भएको छ । करिब १५ लाख रुपैयाको क्षत्ती भएको प्रारम्भिक अनुमान छ । बेनीको कालीपुल हुदै मल्लाज जाने पदमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।