उखाने ओलीको राजनेतामा रूपान्तरण !
स्तम्भ: मोही माग्ने ढुंग्रो लुकाउने !
पोहोर असोजको अन्तिम साता खड्गप्रसाद ओली संसद्बाट देशको प्रधानमन्त्री चुनिँदा ‘उखान–टुक्का भन्ने ओलीलाई पनि देशको प्रधानमन्त्री बनाए ! भनेर सांसदहरूको आलोचना र नयाँ प्रधानमन्त्रीको खिसीट्युरी गरिएको थियो, तर उनीहरूले नै गएको आइतबार (साउन ९ गते) तिनै उखान–टुक्के ओलीले संसद्मा प्रधानमन्त्रीको रूपमा अन्तिम सम्बोधन गरिरहँदा भने, राजनेता खड्गप्रसाद ओलीले प्रधानमन्त्री पदबाट बिदा लिए !
पाठकहरूलाई दोहोर्याइरहन पर्दैन, नौ महिनाअघि ओली प्रधानमन्त्री बन्दा देशको अवस्था संवेदनशील र जटिल थियो । संविधानसभाले भर्खरै संविधान जारी गरेको थियो । मधेसी दलहरूले संविधान जलाउँदै देश टुक्र्याउने धम्की दिइरहेका थिए । संविधान बनाउने दलमा मनमुटाव बढेको थियो । छिमेकी भारतले त्यही मौका र संविधान बनाएको निहुँमा नेपालमाथि नाकाबन्दी लगाएर घुँडा टेकाउन खोजेको थियो । देशको अवस्था कति तनावपूर्ण बनिरहेको थियो भने खाद्यान्न, औषधिलगायत पेट्रोलियम पदार्थ र खाना बनाउने ग्याँसको देशव्यापी हाहाकार सुरु भइसकेको थियो । जताततै अन्योल र आतंक व्याप्त थियो ।
प्रधानमन्त्री ओलीले आँटका साथ देशको नेतृत्व लिए । देश र जनताको स्वाभिमान उच्च बनाउँदै नेपालीहरूको स्वाभिमान ठाडो पार्न एकपछि अर्को कदम चाले । भारतलाई नाकाबन्दी फिर्ता लिन बाध्य मात्र बनाएनन्, हिमालको पर्खालले छेकेको छिमेकी चीनलाई पारवहन सन्धि गर्न सहमत तुल्याउँदै नेपाललाई प्रशान्त महासागरसम्मको निकास खोल्न र चिनियाँ रेल्वेसँग नेपालको काठमाडौँ–पोखरा हुँदै लुम्बिनीसम्म जोड्न राजी बनाए ।
नेपाल पूर्व, पश्चिम र दक्षिण तीनैतिर भारतले घेरिए पनि सबैतिरका नाका खोल्न एकातिर भारतलाई दबाब दिइरहे भने अर्कोतिर चीनलाई नेपालको उत्तरतिरबाट नाका खोल्ने दूरगामी योजनामा राजी पार्दै अत्यावश्यक सामान मगाएर तत्कालको राष्ट्रिय गर्जो टारे ।
त्यसबाहेक राष्ट्रिय स्वाभिमान जगाउने विद्युत्देखि फास्ट ट्र्याक, जलविद्युत् योजना र पेट्रोल तथा खनिज उत्खनन, राष्ट्रिय उद्योगहरू स्थापनाका नयाँ योजनाहरू ल्याएर भारतीय नाकाबन्दी र मधेसी दलहरूको जबर्जस्तीसामु मुर्छित झैँ भएका नेपालीलाई जगाए ।
भारत भ्रमण गर भनेर बोलाउने उदाउँदो भारतका प्रधानमन्त्री मोदीको साम, दान, दण्ड, भेद नीतिसँग कत्ति पनि विचलित नबनी पहिला नाकाबन्दी खुला गर अनि मात्र तिम्रो देश आउँछु भनेर नाकाबन्दी खोल्न लगाए । भारतलाई उसको गलत नीति बदल्न दबाब दिँदै रहे । ओलीले प्रधानमन्त्रीत्वको पहिलो दिनदेखि नै पूरै देश र जनतालाई आफ्नो नेतृत्वमा परिचालन गरेर आफूलाई आधुनिक नेपालको राजनेता सावित गरे ।
नेपालको इतिहासमा जेजति प्रधानमन्त्री बने, ओली मात्र त्यस्ता लोकप्रिय प्रधानमन्त्री सावित भए, जो प्रधानमन्त्री बनेपछि दिनप्रतिदिन जनताबीच लोकप्रिय बन्दै गए र प्रधानमन्त्रीबाट राजीनामा दिएको दिन विरोधीहरूलाई पनि आफ्नो तारिफ गर्न बाध्य पारिदिए । ओली संसद्बाट राजीनामा दिएर बहिर्गमन भइरहेको बेला उनका प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर र एमाओवादीका प्रचण्डले उठेर ताली मात्र बजाएनन्, असल राजनेताको रूपमा ओलीले आफूलाई प्रस्तुत गरेको प्रतिक्रिया पनि दिए, जबकि ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य बनाउने उनीहरू नै थिए !
भारतीय राष्ट्रिय सञ्चारमाध्यमले ओलीको बहिर्गमनलाई नेपाली राजनीतिमा भारतको पुनरागमन भन्ने शीर्षक नै बनाए । ओलीसँग कति आत्तिएको र चिढिएको रहेछ भारत ? भारतका चर्चित रणनीतिक विश्लेषकले त कतिसम्म लेखे भने, श्रीलंकामा तामिल समस्या अन्त्य गर्ने राष्ट्रपति महेन्द्र राजपाक्षेलाई झैँ नेपालमा भारतले भनेको नमान्ने ओलीलाई तह लगाइछोड्यो ।
भारतीय आरोपमा ओलीको अपराध थियो, संविधानसभाबाट संविधान पारित गराउन नेतृत्वदायी भूमिका खेलेको, चीनसँग पारवहन सम्झौता गरेर नेपालमाथि भारतको एकछत्र राज समाप्त पारेको, भारतले बोकिरहेको मधेसी आन्दोलनलाई तुहाइदिएको आदि–आदि । यस्तो ढिठ ओलीलाई नेपालको प्रधानमन्त्री पदबाट हटाउन सकेको ‘खेल सफल पारेको खुसीयालीमै हुनुपर्छ, भारतीयहरूले दीपावली र भोजभतेर नै गरेको । तर ओलीले संसद्मै बहुचर्चित ‘बन्चरो र बिँड’ को कथा सुनाएर भारतीय तिकडममा मतियार नेपालीहरूको शिर निहुराउन बाँकी राखेनन् ।
खासमा ओली के हुन् ?
ओली हेर्दा समान्य लाग्ने खिरिला र तिखो आवाज भएका व्यक्ति हुन् । सामान्य देखिए पनि यिनी असामान्य मानिस रहेछन् भन्ने उनको नौमहिने शासनले प्रमाणित गरेको छ । ओलीको छोटो शासनकालको दूरगामी रूपमा कति धेरै महत्त्व छ, अहिल्यै भन्नु हतार गरेको ठहरिन सक्छ । तर नेपाल र नेपाली जनताको लागि उनको यो प्रधानमन्त्रित्व काल जुगजुगसम्म स्मरणीय रहनेछ ।
यिनले नै तीनतिरबाट गरिएको भारतीय नाकाबन्दीबाट थुनिएर निस्सासिएको नेपाललाई उत्तरतिरबाट निकास खोलेर सहज पारे । एक कूटनीतिज्ञको विश्लेषणमा, ओलीले भारतीय शासकको विस्तारवादी सोचसँग त्वम् शरणम् गर्न इन्कार मात्र गरेनन्, नेपाली स्वाभिमानलाई उच्च पनि राखिरहे र ठूला शक्तिशाली छिमेकीसँग कसरी अक्किल र कूटनीतिक चाल चलेर जोगिनुपर्छ भन्ने उदाहरण बने ।
ओलीले यसबीच के गरे, त्यो नेपालीले भनिरहनुभन्दा भारतीय सञ्चारमाध्यम खास गरेर पत्रपत्रिकामा आएका समाचार, लेख र विचारलाई पुस्तकाकार रूप दिएर प्रकाशित गर्ने हो भने भारतीय रणनीति र ट्याक्टिसलाई छर्लंगसँग बुझ्न मात्र होइन, नेपालका पानीआन्द्रे, लोभी र अक्षम ‘नेताहरू' को बर्को पनि उघ्रिनेछ ।
राजनेताको राज
ओलीले प्रधानमन्त्रीबाट जाँदाजाँदै धेरै मूल्य र मान्यतालाई नेपालीका मनमा स्थापित गरेका छन् । राजनीतिलाई फोहोरी, धोखाघडी, छलकपट भन्ने बुद्धिजीवीलाई उनले टूस सावित गरिदिए । राजनीति यस्तो हुनै नसक्ने विचार प्रकट गर्दै उनले भने, राजनीति गर्ने हाम्रा पात्रहरू खराब हुन्, राजनीति होइन ।
अर्का प्राध्यापकका अनुसार ओलीलाई के ज्ञान छ भने राजनीति फोहोरी खेल होइन । यो त समाज, राष्ट्र सञ्चालन गर्ने दर्शन, आदर्श, सिद्धान्त, विधि, मूल्य, मान्यता, आचरणबाट सञ्चालित पद्धति हो र यसले सिंगो समाज, राष्ट्र र सभ्यताको नेतृत्व गर्दै दिशानिर्देश गर्छ ।
ओलीको ‘स्टेट्सम्यानसिप यसैबाट सावित भएको थियो, तर एमाले पार्टी जसका तीन जना नेता (माधव, झलनाथ र ओली) प्रधानमन्त्री भइसकेका छन् । मरेका मनमोहन अधिकारीको के कुरा गर्नु ? उपप्रधानमन्त्री भइसकेका र प्रधानमन्त्रीकै साझेदार र हिस्सेदार हुन खोज्ने वामदेव गौतम पनि छन् । तर ओलीले बाहेक कसैले राजनेताको खडेरी पूर्ति गर्न सकेन ।
आफ्नै पार्टीको अध्यक्ष ‘सिटिङ प्राइममिनिस्टर छ, उसलाई प्रवद्र्धन गर्नुपर्नेमा दुई पूर्व प्रधानमन्त्रीको उल्टो गतिविधिले उनीहरूको ‘त्वम् शरणम् खुलेआम देखियो । तर पनि ओलीको राजनेताको छवि छोपिन सकेन । ओली यस्तो राजनेताको रूपमा देखिए, जो परिवार र भ्रष्टाचारमा लिप्त भएन । ओलीका युवराज र युवराज्ञी नभएकाले पनि यी जोगिएका हुन सक्छन् ।
अन्तर्राष्ट्रिय सम्बन्धमा ओली डक्ट्रिन ठूला छिमेकीका बीचमा रहेका साना देशहरूले कसरी आफ्नो स्वतन्त्रता, स्वाभिमान जोगाउँदै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने कडीको रूपमा स्थापित हुन सक्छ ।
अर्को यिनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीसँग शुभकार्यमा मात्र झल्याकझुलुक देखिइन् तर राजकीय सत्तामा कहीँ देखिइनन् । उनको शालीनताले पूर्वीय मान्यताहरूमा सतित्व, समर्पण र सहअस्तित्वको योगदानले नै पतिलाई अजम्बरी बनाए झैँ ओलीलाई राजनेता बन्न योगदान दिइरह्यो ।
आखिर दुवै मिर्गौला काम नगर्ने भएर फेरिएका र कुनै पनि बेला इहलीला सकिएर प्राणपखेरु जानसक्ने ओलीलाई चानचुने स्याहार-सुसार गरेर राजनेतामा स्थापित गरेकी होइनन् होला । अरू प्रधानमन्त्री पत्नीका फर्याकफुरुक, जर्याकजुरुक, उत्ताउलो र दम्भी रबैया नदेखिएको होइन । शाक्यले राजनेताकी पत्नी कस्ती हुनुपर्छ, बुद्धधर्ममा झैँ शालीन रूप देखाएर सावित गरिन् ।
राजनेता बन्ने ओलीका अरू आधार भनेका उनको आफ्नै त्याग, सपना र त्यसबाट खारिएर बनेको व्यक्तित्वलाई मान्न सकिन्छ । आफ्नो हैसियत नबिर्सने नीतिकथाको पात्रले झैँ ओलीले सधैँ त्यही सोच्ने र बोल्ने गरिरहे । सामान्य परिवारबाट आएको र सत्ताको मातमा आफ्नो हैसियत नबिर्सेकाले नै सधैँ जनतालाई बलियो बनाउन लागिरहे । ओलीले प्रधानमन्त्री रहँदा सावित गरेर देखाए, यिनी भ्रष्टाचारी, बिचौलिया, माफियासँग मिसिएनन् न त प्रभावमै परे ।
प्रधानमन्त्री बन्नुअघि गृह, परराष्ट्रमन्त्री भइसकेकाले देशी र विदेशी दुवैको नाडी छामेको नेता भएकाले पनि उनी अलमलिनु परेन । नेपालको भूराजनीति र अवस्थितिको निकास यिनलाई थाहा थियो । ओलीमा देश र जनताको लागि केही गरेर देखाउने अवसरको खोजी थियो । त्यसैले प्रधानमन्त्री बन्नेबित्तिकै अप्ठेरोमा पनि अलमलिएनन्, सकारात्मक सोच र व्यवहारले नै सफलतालाई आत्मसात गर्न सके ।
उनी जन्मिएदेखि नेपालको थङ्थिलो र सधैँ बिहारी शैलीले गिजोलिएको नेपाली राष्ट्रियतामा केही गर्छु भन्ने सपना बोकेकाले पनि छोटो समयमा समेत ठोस काम गरेर देखाउन सकेका हुन् । ओली नेपाली मिडियामा आएका सकारात्मक र नकारात्मक कुरालाई तत्काल सम्बोधन गरिहाल्थे भन्दा धेरैलाई आश्चर्य लाग्ला, तर उनी हरेक दिन प्रकाशित अखबार आफैँ पढ्थे र भन्थे– मिडिया मेरा अघोषित सल्लाहकार हुन् ।
ओलीमा विषयलाई सूक्ष्म व्याख्या गर्न सक्ने जुन क्षमता थियो, त्यो भनेको इसुलाई हृदयंगम गरी अभिव्यक्ति दिने उनको मौलिक उखान टुक्केशैली नै हो, जो सधैँ चोटिलो र हृदयस्पर्शी हुन्थ्यो । ‘आहार, निद्रा, भय, मैथुनमै अल्मलिनेहरू ओलीका विरोधी हुन् वा प्रतिस्पर्धी, विदेशी हुन् वा छिमेकी, सल्लाहकार हुन् वा स्वकीय सचिवालयमा उनैले जागिर खुवाएका, ती जनले पत्तो नपाउँदै ओलीले आफ्नो काम फत्ते गरे र विनाटेन्सन प्रधानमन्त्रीको पद हाँसीहाँसी छोडेर हिँडेपछि मात्र विपक्षी, प्रतिपक्षी, साझेदार र उनकै पार्टीका कमरेडले भेउ पाए, ए यिनी त राजनेता पो रहेछन् !
ओलीका कमजोरी
भगवान् त कमजोरीविनाका हुँदैनन् भने ओलीका कमजोर पक्ष थिएनन् भन्नु बेबकुफ सावित हुनु हो, ती प्राध्यापकले भने, ओलीका कमजोर पक्ष पनि कम छैनन् । उनले आफ्नो सहयोगी, शुभचिन्तकको घेरा बढाउन सकेनन् । आलोचकसँग हेलमेल बढाउन सकेको भए अझ काबिल ठहरिन्थे । उनले आफ्नो टुकडीलाई पीए÷सल्लाहकारमा जागिर त दिए, तर तिनलाई कामको लागि जिम्मेवार बनाउन सकेनन् ।
समाजमा रहेका सिर्जनशील र काविल व्यक्ति, थिंकट्यांकहरूलाई संवाद गर्दै कनेक्सन कायम गर्न र तान्न सकेनन् । एमालेकै नयाँ पुस्ताका विष्णु रिमालबाहेक रवीन्द्र अधिकारी, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, उदयराज पाण्डे, गोकर्ण विष्ट, विन्दा पाण्डे, रामकुमारी झाँक्री, राजेन्द्र राई, पशुपति चौलागाई, राजेन्द्र लोहनी, गोरख बोगटी, राजेन्द्रसिंह रावल, तुलबहादुर गुरुङ, टंक कार्की, जमिन्द्रमान घले, राजेन्द्र चौधरी, उर्वादत्त पन्त, केशव पाण्डे, अरुण नेपाल, ठाकुर गैरे, लालबाबु यादवजस्ता भविष्यवान् युवालाई अगाडि ल्याएर काम दिएको देखिएन ।
पार्टीका पूर्वप्रधानमन्त्री, मन्त्री भएकाहरूलाई इंगेज गर्ने काम दिन सकेनन् । यसले गर्दा माधव नेपाल, झलनाथ, वामदेवहरू काम नपाउँदा ओलीको कद जति खस्कन्छ, एमालेको दसौँ महाधिवेशनमा मेरो पोजिसन उति बलियो हुन्छ भन्ने रोगका सिकार बने । भूकम्पले ध्वस्त चौध जिल्लामा सिईओ राखेर राजनीतिक नेतृत्वलाई परिचालन गर्न सकेनन् । सत्ता साझेदारमा माओवादीलाई त बनाए, तर प्रचण्डको महत्त्वाकांक्षालाई बुझ्न नसक्दा त्यो नै भष्मासुरलाई दिएको वरदानजस्तो भयो ।
नौमहिने टेलर
ओलीले तीनघन्टे सिनेमामा जस्तै आफ्नो नौमहिने शासनको टेलर देखाइदिए तर सिनेमा सकिन त बाँकी नै छ । प्रतिपक्षी नेताको रूपमा ओलीले युवा पुस्तालाई अगाडि लगाएर एमालेलाई सशक्त बनाउन सके भने स्वतन्त्र, सार्वभौम, अखण्ड र स्वाभिमानी नेपालको शिर कहिल्यै निहुरिनुपर्ने छैन ।
ओलीको परराष्ट्र नीतिलाई ‘ओली डक्ट्रिन भन्दै पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेका सल्लाहकार अश्विन पुडासैनीले भने- ओलीको कूटनीतिलाई महेन्द्रपथ, दक्षिणपन्थी अन्धराष्ट्रवाद भनेर जुन टिप्पणी गरिएको छ, त्यो बिल्कुलै सत्य होइन ।
ओलीले राष्ट्रवाद र नागरिक भूमण्डलीकरणको अभ्यास गर्दागर्दै आफ्नो आत्मस्वाभिमान, सार्वभौमिकता, राष्ट्र र जनताको हितप्रति छिमेक र मित्रराष्ट्रसँगको सम्बन्ध र कूटनीतिक आधारशिलाको खाका दिएका मात्र हुन् । यो नै नेपाली कूटनीतिक इतिहासको कोसेढुंगा हो । यसले अबको पुस्ताले गर्ने कूटनीति क्लासिकल, ब्युरोक्रेटिक र आडम्बरी नभईकन डाइनामिक हुने दिशानिर्देश गरेको छ ।
उनले ओली डक्ट्रिनको व्याख्या गर्ने आवश्यकता औँल्याउँदै भने, ओलीले न चाइना कार्ड प्रयोग गरेका हुन् न त भारतविरोधी रोष नै । उनले यसमार्फत नेपाल र नेपालीको हित रक्षा, संवद्र्धन र प्रवद्र्धन गर्ने दृष्टिकोण दिएका हुन् । यो न भारत न चीनसँगको पौँठाजोरी हो । यो त दुई छिमेकीसँगको ‘विनविन’ को सिद्धान्त हो । त्यसैले यो विश्वमा भइरहेको ध्रुवीकरण र कूटनीतिक आयामको खोजी र प्रयोग गर्नेहरूका लागि नयाँ औजार हो ।
अन्तर्राष्ट्रिय सम्बन्धमा ओली डक्ट्रिन ठूला छिमेकीका बीचमा रहेका साना देशहरूले कसरी आफ्नो स्वतन्त्रता, स्वाभिमान जोगाउँदै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने कडीको रूपमा स्थापित हुन सक्छ ।
अबको कर्म
ओली देशको दोस्रो ठूलो पार्टी एमालेका निर्वाचित अध्यक्ष पनि हुन् । प्रधानमन्त्रीबाट राजीनामा दिए पनि उनले राजनेताको रूपमा संविधान कार्यान्वयन र प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ । आउँदो चुनावलाई लक्ष गरेर ओलीले प्रतिपक्षी दलको नेताको रूपमा राजनेताको ऊर्जा खर्च गर्नुपर्छ किनभने लोकतन्त्रमा प्रतिपक्ष नै हो, जसले सरकारलाई विचलित हुनबाट रोक्न सक्छ ।
राजनीतिशास्त्रका प्राध्यापकहरूको एक जमघटमा ओलीले प्रतिपक्षी नेताको रूपमा गर्न सक्ने दस बुँदा निस्किए-
-ओलीले प्रधानमन्त्रीको रूपमा राजनेताको जुन भूमिका देखाए, त्यसलाई कायम राख्न सर्वत्र स्टेट्सम्यानसिप अवधारणा प्रवद्र्धन गर्नुपर्छ ।
-सत्तालिप्साबाट मुक्त भई प्रतिपक्षको रियल भूमिकाको नेतृत्व अब ओलीले सावित गरेर देखाउनुपर्छ ।
-एमाले सुदृढीकरण अभियान सुरु गर्दै अध्यक्ष ओलीले एमालेका नेता कार्यकर्तालाई वैचारिक सांगठनिक रूपमा दीक्षित गर्दै लैजानुपर्छ ।
-नेपालका पार्टीहरूमा रहेको गुट, उपगुट, सहगुट र झुन्ड संस्कृतिको अन्त्य गर्दै पार्टीका जिम्मेवार नेताहरू माधव नेपाल, झलनाथ, वामदेवहरूलाई इंगेज गर्ने कार्यक्रम तय गर्नुपर्र्छ ।
-ओलीले संसद्मा प्रस्तुत गरेको बजेट कार्यक्रम कार्यान्वयनको लागि नयाँ सरकारसँग पहलकदमी गर्नुपर्छ । प्रतिपक्षमा बसेर मात्र ती कार्यान्वयन गराउन सकिन्छ र जनताबीच पुगिन्छ पनि ।
-नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता, सामाजिक, भाषिक, साँस्कृतिक, भौगोलिक एकताको राष्ट्रिय जागरण सुरु गर्नुपर्छ ।
-एमालेका युवा नेतृत्वलाई राजनीतिक, साँस्कृतिक, समृद्ध नेपाल बनाउने र विकास कार्यहरूमा प्रशिक्षित गर्दै उत्तराधिकारीको रूपमा अघि बढाउँदै नेतृत्वमा पुर्र्याउनुपर्छ ।
-स्थानीय, प्रादेशीय र संसदीय निर्वाचनको मिति तोक्न सरकारमाथि दबाब सिर्जना गर्दै समयसीमाभित्र निर्वाचन निम्ति कार्यकर्ता परिचालन गर्नुपर्छ ।
-नेपालको विदेश नीति सम्बन्धमा ओली डक्ट्रिन के हो ? त्यसको व्याख्या, अभिलेखीकरण, विवेचना र अभिमुखीकरण गर्नुपर्छ ।
-विभिन्न क्षेत्रमा रहेका विशेषज्ञता हासिल गरेका ‘थिंकट्यांक विशेषज्ञ समूहसँग नियमित सम्पर्क, संवाद र छलफल गर्दै समृद्ध नेपाल बनाउने अभियानमा अधिकाधिक व्यक्तिहरूलाई सहभागी गराउने कार्यक्रम तयार गरी अघि बढ्न सक्नुपर्छ ।