राजा वीरेन्द्रको जग्गा भाडामा लगाइने
काठमाडौँः लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्वराजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ ।
ट्रष्ट स्थापनाको करिब नौ वर्षपछि सो कार्यालयले आफ्नो विनियमावली तयार गरी कार्यान्वयनमा ल्याएपछि सो कार्यका लागि मार्ग प्रशस्त भएको हो ।
विनियमावलीको अभावमा ट्रष्टलाई आफ्नो नाममा आएका पूर्व राजपरिवारका सम्पत्ति जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न सकिएको थिएन ।
ट्रष्टका सचिव भीम उपाध्यायका अनुसार स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेका करिब २५ हजार ६०० रोपनी जग्गा आफ्नो नाममा ल्याएको छ ।
यसैगरी ट्रष्टले विभिन्न स्थानमा रहेका सातवटा दरबारलाई सर्वसाधारण तथा पर्यटकलाई अवलोकन गर्न खुला गरेको छ ।
‘विनियमावली लागू भएपछि अव पूर्व राजपरिवारका ती जग्गा, जमिन तथा सम्पत्तिलाई भाडामा लगाई आयआर्जन गर्न ट्रष्टलाई मार्ग प्रशस्त भएको छ। जग्गा जमिन तथा सम्पत्तिलाई भाडामा लगाउन सुरु गर्छौँ,’ उनले भने ।
आय आर्जनबाट ट्रष्टले नेपाल ट्रष्ट कार्यक्रम अन्तर्गत शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य सञ्चालन गर्न कार्यविधि समेत तयार गरी लागू गरेको छ ।
सो कार्यविधिमा दुर्गम क्षेत्रमा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय सञ्चालन गर्न, छात्रवृत्तिको व्यवस्था गर्न, शिक्षण संस्थालाई अनुदान दिन सक्ने सचिव उपाध्यायले जानकारी दिए ।
पहिलो पटक स्वीट भवन बन्दै
नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुनालाई राख्न भवन (स्विट) निर्माण गर्ने प्रस्ताव अघि सारेको छ ।
आफ्ना नाममा आएका पूर्व राजपरिवारका जमिनमा नेपाली मौलिक कला र संस्कृतिअनुसार अत्याधुनिक सुविधा सम्पन्न २५ वटा भवन निर्माण गर्ने प्रस्ताव कार्यालयले सरकारसमक्ष राखेको छ ।
‘प्रस्ताव स्वीकृत भएपछि हामी भवन निर्माणको कार्य सुरुवात गछौँ,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा असार ३१ गते शुक्रबार बसेको नेपाल ट्रष्ट सञ्चालक समितिको ३९औँ बोर्ड बैठकमा ट्रष्टले यस्तो प्रस्ताव अघि सारेको हो । रासस