पीडा भुलेर खेलमा फर्कंदै लियोनल मेसी
एजेन्सीः गत असार दोस्रो साता कोपा अमेरिका फुटबलको फाइनलमा आफ्नो टोली अर्जेन्टिना चिलीसँग पराजित भएपछि कप्तान लियोनल मेसी निकै निराश बनेका थिए ।
मेसी त्यो पराजयपछि यति दुःखी बने किी उनले चिलीसँग आफ्नो टोली टाइब्रेकरमा पराजित भएलगत्तै राष्ट्रियबाट सन्न्यास लिएको घोषणा गरे । पछिल्लो तीन वर्षमा अर्जेन्टिनालाई विश्वकपसहित तीन ठूला प्रतियोगिताको फाइनलमा पुर्याएर पनि उपाधि दिलाउन नसकेपछि मेसीले आफू र आफ्ना हजारौं समर्थकका लागि अप्रिय निर्णय लिएका थिए ।
त्यसपछिको झन्डै डेढ महिना फुटबलको कुनै पनि गतिविधिमा नदेखिएका मेसी त्यो पीडालाई भुलेर युरोपेली फुटबलको नयाँ सिजनका लागि मैदानमा फर्कने तयारीमा छन् । त्यसका लागि उनी अहिले आफ्नो क्लब बार्सिलोनासँगै लन्डनमा छन् । लन्डनमा मेसीको टोली बार्सिलोनाले शनिबार नयाँ सिजनको तयारीस्वरूप सेल्टिकसँग प्रतिस्पर्धा गर्दैछ । मेसी उक्त खेलमा बार्सिलोनाका लागि मुख्य भूमिकामा हुनेछन् ।
यसअघि अझै केही समय बिदामै बस्ने जनाइए पनि मेसीले बिदा छोट्याएर अप्रत्याशित रूपमा लन्डन जाने निर्णय सार्वजनिक गरेका हुन् । त्यसले मेसीका समर्थकमा समेत खुसीको सञ्चार गराएको छ ।
मेसी जर्ज पार्कमा लुइस स्वारेज, अर्डा टुरानसँगै बार्सिलोनाको अभ्यास खेलमा पनि सहभागी हुनेछन् । मेसी उपलब्ध भएपछि प्रशिक्षक लुइस एनरिक पनि उत्साही बनेका छन् । त्यसैले उनले आफ्नो २५ सदस्यीय टोलीमा मेसीलाई समावेश पनि गरिसकेका छन् ।
मेसीले नयाँ सिजनका लागि आफ्नो बिदा छोट्याएको यो लगातार दोस्रो वर्ष हो । गत वर्ष पनि उनी आफ्नो बिदा एक साता छोट्याएर टोलीको तयारीमा फर्किएका थिए ।
कोपा अमेरिकाको असफलता र राष्ट्रिय टोली त्यागेको घोषणा गरेका मेसीलाई त्यसलगत्तै स्पेनको एक अदालतले कर छलीको आरोपमा जेल सजाय र भारी जरिवाना पनि तोकेको थियो । सो निर्णयपछि अन्तर्राष्ट्रिय फुटबल वृत्तमा मेसीले स्पेन र बार्सिलोना छाड्नसक्ने अड्कलबाजीसमेत गरिएको थियो ।
यद्यपि मेसीले ती सम्भावनालाई समेत नकारिदिएका छन् । मेसीलाई स्पेनिस अदालतले २१ महिनाको जेलसजायसहित आर्थिक जरिवाना तोकेको हो ।
स्पेनको कानुनमा दुई वर्षभन्दा कम अवधिको जेलसजाय बाहिरै रहेर काट्न मिल्ने व्यवस्था भएकाले मेसीले फुटबल खेलेरै आफ्नो सजाय काट्नेछन् । सेल्टिकविरुद्धको खेलमा मेसीको उपलब्धताले बार्सिलोनालाई ठूलो राहत मिलेको छ ।
जेरार्ड पिके, आन्द्रेस इनिइस्टा, इभान राकिटीचलगायत टोलीका महत्वपुर्ण सदस्यहरू अझै बिदामै रहेका बेला प्रशिक्षक इनरिक एकेडेमीका युवा खेलाडीलाई लिएर लन्डन पुगेका छन् । मेसीको साथले युवा खेलाडीले भरिएको बार्सिलोनाले घरेलु टोली सेल्टिकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।