कांग्रेस र माओवादीको सहमति खारेज भए एमाले सरकारमा जान्छः भट्टराई
ताप्लेजुङः एमाले सचिव योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमति खारेज भए एमाले सरकारमा जानसक्ने बताएका छन् ।
भट्टराईले कांग्रेस र माओवादीको सहमतिलाई खारेज गरेर नयाँ सहमति भए एमालेसहितको सहमतीय सरकार निर्माण हुन सक्ने बताएका हुन् ।
प्रेस चौतारी ताप्लेजुङले बुधबार गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता भएको उल्लेख गरे ।
उनले एमाले नेतृत्वको सरकारले घोषणा गरेको तहगत निर्वाचन, बजेट कार्यान्वयनलगायत विषयमा सहमति भए सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिन सकिने समेत विचार व्यक्त गरेका छन् ।
एमाले सरकारमा रहँदा आफ्नो सार्वभौमसत्ता, स्वतन्त्रता र निर्णय लिन सक्ने क्षमतालाई गुमाउन नदिएको दाबी भट्टराईको छ ।
एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले सत्ता परिवर्तनको खेल सँगै अब फेरि मुलुकमा अन्तर्राष्ट्रिय चलखेल बढ्न सक्ने उल्लेख गरे।