अर्बभन्दा बढी कमाउने बैंकको संख्या २०

अर्बभन्दा बढी कमाउने बैंकको  संख्या २०

काठमाडौं: गत आर्थिक वर्षको नाफाका आधारमा अर्बपति क्बलमा यसपटक थप १० वटा बैंक थपिने भएका छन् । अहिलेसम्म तीनवटा वाणिज्य बैंक एनआईसी एसिया, सिटिजन्स र सानिमा बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् । ती तीनै बैंकको नाफा पहिलोपटक एक अर्ब रुपैयाँ नाघेको छ ।

वित्तीय विवरण प्रकाशित नगरे पनि बैंक अधिकारीसँग अनौपचारिक कुरा गर्दा यसपटक नेपाल बैंक, सनराइज, एनएमबी, सिद्धार्थ, प्राइम, नेपाल बंगलादेश, बैंक अफ काठमाडौं लुम्बिनी अर्बपति क्लबमा प्रवेश गर्ने भएका छन् । पहिलोपटक अर्ब नाफा कमाउन लागेका बैंकमा केहीको मर्जका कारण नाफा अर्ब कटेको छ भने केहीको अघिल्लो वर्षको उठ्न बाँकी पैसा उठेका कारण अर्ब पुगेको छ ।

अघिल्लो वर्ष अर्ब नाफा कमाउने बैंकमा सरकारी लगानीका राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंक थिए । यस्तै विदेशी लगानीका बैंकमा स्टान्डर्ड चार्टर्ड, एभरेस्ट, हिमालयन, एसबीआई र नबिल बैंकको नाफा पनि विगतका केही वर्षदेखि अर्बभन्दा बढी थियो । स्वदेशी लगानीका बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक तथा प्रभु बैंकको नाफा अर्बभन्दा बढी थियो ।

पहिलोपटक अर्बपति क्लबमा प्रवेश गर्न लागेको नेपाल बैंकको नाफा तीन अर्ब कट्ने देखिन्छ । कुनै समय वित्तीय अवस्था खराब भएर विश्व बैंकको सहयोगमा सुधार कार्यक्रम सञ्चालन गरिएको नेपाल बैंकले पुरानो कर्जा तथा विभिन्न नाममा भएको सम्पत्ति बिक्री गरेर यो नाफा कमाएको बैंकका अधिकारीले बताए ।

यस्तै तीन अर्ब नाफा कमाउने बैंकमा अर्को सरकारी कृषि विकास बैंक रहनेछ । नबिल र नेपाल इन्भेस्टमेन्टको नाफा तीन अर्बभन्दा केही कम हुनेछ । राष्ट्रिय वाणिज्य तथा एभरेस्ट बैंकको नाफा दुई अर्ब कट्नेछ ।

 

बैंक अधिकारीहरूका अनुसार सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमा एक अर्बभन्दा बढी नाफा गर्ने बैंकको संख्या यस वर्ष २० वटा पुग्नेछ । अर्ब नाफा नकटाउने बैंकमा न्यूनतम ३५ देखि ८० करोडसम्म नाफा गर्ने देखिएको छ ।

बैंकहरूको नाफाको स्थिति मूल्यांकन गर्ने हो भने गत आर्थिक वर्षमा भारतले लगाएको नाकाबन्दीको असर नपरेको देखिन्छ । नाकाबन्दीका कारण गत वर्ष आर्थिक वृद्धिदर ०.७७ प्रतिशत थियो ।

पहिलोपटक एक अर्ब नाफा कमाएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल ब्याजदर अन्तर (स्प्रेड) बढेका कारण नाफा बढाउन सहज भएको बताउँछन् । ‘राष्ट्रबैंकले तोकेको अनुपातमा ब्याजदर अन्तर रहे पनि अघिल्लो वर्ष ब्याजदर अन्तर घटेको छ', उनले भने । दाहालका अनुसार सानिमा बैंकको आर्थिक वर्ष २०७१/७२ मा स्प्रेडदर ३.९१ प्रतिशत थियो भने आर्थिक वर्ष २०७२/७३ मा त्यो बढेर ४.४ प्रतिशतमा छ । यस्तै वित्तीय विवरण प्रकाशित गरेको अर्को बैंक सिटिजन्स र एनआईसी एसियाको स्प्रेडदर अघिल्लो वर्षको तुलनामा घटेको छ ।

नाकाबन्दीका बेला पनि बैंकहरूको नाफाको वृद्धिलाई विश्लेषण गर्दा सञ्चालनमा रहने सबै बैंकको नाफा दुई वर्षपछि एक अर्ब सहज रूपमा कट्ने देखिन्छ । ‘नाकाबन्दी खुलेपछि कर्जाको मागमा धेरै वृद्धि भएको थियो', सानिमाका सीईओ दाहालले भने ।

पुस मसान्तसम्ममा बैंकहरूको कर्जा वृद्धिदर अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतमात्र बढेको थियो । नाकाबन्दी खुलेसँगै कर्जाको मागमा भएको वृद्धिका कारण आर्थिक वर्षको अन्त्यमा आउँदा बैंकहरूको कर्जाको वृद्धिदर १८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो तथ्यांक १७ प्रतिशत थियो ।

विकास बैंक र फाइनान्स कम्पनीको नाफामा पनि नाकाबन्दीको असर खासै नपर्ने देखिन्छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने तथ्यांक सार्वजनिक हुन थालेपछि यसको असर सेयर बजारमा पनि पर्न थालेको छ ।

राष्ट्रबैंकले २०७४ असार मसान्तभित्र वाणिज्य बैंकको आठ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकको साढे दुई अर्ब तथा फाइनान्स कम्पनीले ८० करोड चुक्ता पुँजी पुर्‌याउनुपर्ने नीति बनाएको छ । यसले गर्दा लगानीकर्तालाई बोनस र हकप्रद सेयर दिनुपर्ने भएका कारण लगानीकर्ताको आकर्षण बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.