'न्यायाधीश हुँदा राजनीति बिर्सनेछु'

'न्यायाधीश हुँदा राजनीति बिर्सनेछु'

काठमाडौं: लामो अन्योल र विवादपछि सर्वोच्च अदालतमा सिफारिस गरिएका ११ जना न्यायाधीशको संसदीय सुनुवाइ सुरु भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिमा बुधबार सर्वोच्चमा प्रस्तावित न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ सकिएको छ । सुनुवाइ भएकामध्ये हरिकृष्ण कार्कीबाहेक अरू पुनरावेदन अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्चमा सिफारिस भएका हुन् ।

न्याय परिषद्ले गत वर्षको फागुन १८ मा पुनरावेदन अदालतबाट सात मुख्य न्यायाधीश र कानुन व्यवसायीबाट चारजना वरिष्ठ अधिवक्ताको नाम सुनुवाइका लागि सिफारिस गरेको थियो ।

सुनुवाइ समितिका अधिकांश सदस्यले न्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको राजनीतिक आस्था, संलग्नता र न्यायिक निष्ठाको विषयमा बढी प्रश्न उठाए । ‘राजनीतिक दलको प्रतिनिधिका रूपमा बारमा निर्वाचित हुनुभयो । सरकारको कानुनी सल्लाहकारमा राजनीतिक रंग देखिने गरी नियुक्त भएको व्यक्तिबाट राजनीतिक हस्तक्षेप हुन्न भनेर कसरी विश्वास गर्ने ? '

सुनुवाइ समितिका सदस्य बालकृष्ण खाणको प्रश्न थियो । खाणसँगै सदस्यहरू चीनकाजी श्रेष्ठ, प्रकाशशरण महत, गणेशमान गुरुङलगायतले पनि सोही प्रश्न दोहोर्‌याएका थिए ।

श्रेष्ठले मन्त्री र सभासद् हुनुपर्ने मान्छे न्यायाधीश बनेकोमा चित्त नबुझेको कुरा राखे । महतले सांसद हुनुपर्ने मान्छे न्यायाधीश बन्न थालेको भन्दै व्यंग्य पनि गरे ।

कार्कीलाई उनले सोधेका थिए, ‘संसद्ले बनाएको कानुन भएन, म सोसल इन्जिनियरिङ भएर आफ्नै किसिमले व्याख्या गर्छु भन्नुभयो भने त समस्या हुने भयो नि ? '

जबाफमा कार्कीले आफू न्यायाधीश रहँदा विगतका राजनीतिक आस्था र संलग्नतालाई बिर्सिएर पद अनुकूलको धर्म निर्वाह गर्ने बताउँदै न्यायको शुद्धीकरण र सुदृढीकरणमा अविचलित रहने दृढता जनाए ।

 

कार्कीले लिखित र मौखिक रूपमा झन्डै एक घन्टा बोलेका थिए । ‘मेरो भूमिकाको कुरा गर्दा विद्यार्थी हुँदा विद्यार्थी राजनीति गरें । व्यवसायमा आएपछि व्यावसायिक संगठन र धर्म निर्वाह गरें । त्योभन्दा पर गरेको छैन,' सुनुवाइमा कार्कीले भने, ‘जे जति सल्लाह दिएको छु, व्यावसायिक नै दिएको छु । जति पनि काम गरेको छु, व्यावसायिक नै गरेको छु । त्यसैसँग सम्बन्धित भएर व्यावसायिक हकहितका लागि गर्नुपर्ने भूमिका निर्वाह गरेको छु ।'

उनले अमेरिका, बेलायत र भारतको उदाहरण दिँदै राजनीतिक व्यक्ति पनि न्यायाधीश बनेको स्मरण गराए । त्यहाँ मन्त्री र सभासद्ले न्यायाधीश भएर मुलुकका लागि ‘ल्यान्ड मार्क' निर्णय गरेको भनाइ कार्कीको थियो । ‘मैले बारमा रहँदा पनि धर्म छाडेको छैन । महान्यायाधिवक्ता पदको जिम्मेवारीमा पनि कुनै धर्म छाडेको छैन । म दावाका साथ भन्न सक्छु, कसैले ममाथि प्रश्न उठाउने र औंला ठड्याउने अवस्था पनि छैन', उनले भने । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगबाट पीडितले न्याय नपाउने हुन् कि भन्ने एक प्रश्नको जबाफमा कार्कीले ‘मैले न्याय पाइन भन्ने अवस्था आउन दिनु हुँदैन । पीडितलाई न्याय दिलाउने गरी राजनीतिक रूपमा सहमति पनि हुनुपर्छ ।'

न्यायाधीशमा सिफारिस विश्वम्भर श्रेष्ठले पनि न्यायप्रतिको निष्ठामा विचलित नहुने अडान राखे । एक प्रश्नमा श्रेष्ठले संघीय प्रदेशमा सातवटा उच्च अदालतका साथमा न्यायमा पहुँच पुर्‌याउन हाल कायम १६ वटा पुनरावेदन अदालतअनुरूपको ‘सर्किट कोर्ट' का रूपमा राख्न उपयुक्त हुने सुझाव पनि दिए ।

उनले संक्रमणकालीन न्याय सम्बोधनका लागि चाँडो कानुन नबनाउँदा समस्या आउन सक्नेतर्फ ध्यानाकर्षण पनि गराए । न्यायाधीशमा प्रस्तावित खड्काले आफू महिला समावेशीका नाममा नभई प्रतिस्पर्धा गरेर आएको भन्दै न्यायप्रतिको निष्ठामा शंका नगर्न आग्रह गरिन् ।

समितिका कतिपय सदस्यले कतिपय मनोगत एवं असान्दर्भिक प्रश्नसमेत सोधेका थिए । बाँकी पाँचजनाको बिहीबार सुनुवाइ गरिनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.