सकार चलाउन प्रचण्ड कस्तो योजना बनाउँदैछन् ?
काठमाडौं: प्रधानमन्त्रीका रूपमा प्रस्तावित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्दा अवलम्बन गर्नुपर्ने नीतिका बारेमा पार्टीभित्र र बाहिरका व्यक्तिसँग परामर्श थालेका छन् ।
सत्ता गठबन्धनको प्रमुख साझेदार कांग्रेससँग प्रधानमन्त्री र अर्थमन्त्रीसहित आठ मन्त्रालय लिने समझदारी बनाएका दाहालले विगतको समीक्षा गरी आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिका बारेमा परामर्श थालेका हुन् ।
‘अब सरकारमा जाँदा कस्तो नीति लिनुपर्छ, मलाई सल्लाह दिनुस्', दाहालले केन्द्रीय सचिवालयका नेतासँग बुधबारको बैठकमा भने । तर नेताहरूको सुझाव सुन्न नपाउँदै दाहाल अर्को बैठकमा जानुपर्ने हतारमा रहेका कारण बिहीबार बिहान बैठक बोलाइएको छ ।
संविधान कार्यान्वयनका लागि चैतसम्म स्थानीय निकायको निर्वाचन गराइसक्नुपर्ने, तराई मधेसका मुद्दा सम्बोधन गर्न संविधान संशोधन प्रक्रिया अगाडि बढाउनु पर्ने, संविधान संशोधनका लागि प्रतिपक्षमा बस्न लागेको एमालेलाई सहमतिमा ल्याउनुपर्ने, भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायका बीचमा सन्तुलित कूटनीति कायम राख्न सक्नुपर्ने, भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने, आफूभन्दा ठूलो दल कांग्रेससँगको समझदारीलाई बचाइराख्नुपर्ने, सशस्त्र द्वन्द्वकालीन मुद्दालाई किनारा लगाएर शान्तिप्रक्रियालाई पूर्णता दिनुपर्ने, योग्य र दक्षलाई मन्त्री बनाउन र राजनीतिक नियुक्तिमा पनि क्षमतावान्लाई प्राथमिकता दिन नेताहरूले सुझाव दिन थालेका छन् ।
दाहाल, नेताद्वय कृष्णबहादुर महरा र वर्षमान पुनसमक्ष राजनीतिक नियुक्तिका लागि सिफारिस लिएर जानेको ताँती लाग्न थालेको छ । आफ्नै पार्टीका नेताले आफू निकटका व्यक्तिलाई विभिन्न पदमा नियुक्तिका लागि सिफारिस गर्न थालेको एक नेताले बताए ।
स्रोतका अनुसार बुधबार प्रवक्ता पम्फा भुसालले नेता हितमान शाक्यका ससुरा लोकबहादुर थापालाई राजनीतिक नियुक्तिका लागि सिफारिस गरेकी थिइन् भने परराष्ट्र मामिला सल्लाहकारमा मलेसियाका लागि पूर्वराजदूत ऋषि अधिकारीको नाम दाहाल, महरा र पुनसमक्ष सिफारिस भएको स्रोतले बताएको छ ।
असक्षम र भ्रष्टलाई प्रधानमन्त्रीको वरिपरि नराख्न, विषयगत विशेषज्ञ, योग्य र क्षमतावान् व्यक्तिलाई राख्न नेताहरूले सुझाव दिन लागेका छन् । एक नेताका अनुसार अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो वरिपरि राखेका व्यक्तिका बारेमा अध्ययन गर्नुपर्छ ।
‘यसपटक अध्यक्षले राम्रो काम गरेर देखाउन नसक्दा, पुष्पकमल दाहालमात्रै डुब्ने होइन, समग्र माओवादी आन्दोलन डुब्छ । प्रधानमन्त्रीको वरिपरि रहने व्यक्ति जुनसुकै पार्टीका भए पनि हुन्छ तर व्यावसायिक क्षमता राख्ने हुनुपर्छ', ती नेताले भने, ‘संसार बुझेका अविवाहित युवालाई राख्दा राम्रो हुन्छ । उनीहरूमा पैसा कमाउने लोभ हुँदैन, क्यारियर बनाउन बढी मेहनत गर्छन् । अहिलेको दुनियाँ बुझेका युवालाई राखियो भने तिनले सही दिशानिर्देश गर्न सक्छन् ।'
दाहालको सचिवालय भने अहिले नै प्रधानमन्त्रीको सचिवालयजस्तो व्यवहार देखाउन थालेको अनुभव सोही पार्टीका नेताले गर्न थालेका छन् । ‘प्रधानमन्त्री बन्नु कहाँ छ कहाँ ? लाजिम्पाटका सहयोगी अहिले नै प्रधानमन्त्री सचिवालयका कर्मचारीको व्यवहार देखाउन थालिसकेका छन्', एक नेताले भने । नेताहरूले त्यस्तो अनुभव गरेका कारण केन्द्रीय सचिवालयको बैठक निवासको सट्टा केन्द्रीय कार्यालय पेरिसडाँडामा गर्न थालिएको छ ।
सचिवालयको बिहीबार बिहान बस्ने बैठक केन्द्रीय कार्यालयमा बोलाइएको छ । प्रवक्ता भुसालले बुधबारको बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामापछि विकसित राजनीतिक परिस्थितिको समीक्षा गरेको र अध्यक्ष दाहालको नेतृत्वमा बन्ने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन सम्बद्ध राजनीतिक दलसँग वार्ता गर्ने निर्णय गरिएको जानकारी दिइन् ।
अध्यक्ष दाहालसहित माओवादी केन्द्रका सांसदले बुधवार स्थानीय निकाय पुनर्संरचना आयोगका पदाधिकारीसँग छलफल गरेको थियो ।